एक वर्षमा देशभर ६७९२ जनाले गरे आत्महत्या, २३८० बलात्कारका घटना
काठमाडौं । पछिल्लो एक वर्षमा देशभर ६ हजार ७९२ जनाले आमहत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा बढी प्रदेश १ र लुम्बिनीमा आत्महत्याका घटना भएको पाइएको छ ।
तथ्यांकअनुसार प्रदेश १ मा एक हजार ४८७ र लुम्बिनीमा एक हजार २९७ जनाले आत्महत्या गरेका छन् ।
काठमाडौं उपत्यकामा ५२६, मधेसमा एक हजार १५, बागमतीमा ९०१, गण्डकीमा ६९७, कर्णालीमा २९० र सुदूरपश्चिममा ५७९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी यो अवधिमा १८४ वटा मुद्दा आत्महत्या दुरुत्साहन गर्न नहुनेमा दर्ता भएको छ । काठमाडौं उपत्यकमा २२, प्रदेश १ मा २५, मधेसमा १७, बागमतीमा १८, गण्डकीमा १९, लुम्बिनीमा ४०, कर्णालीमा १४ र सुदूरपश्चिममा २९ वटा मुद्दा आत्महत्या दुरुत्साहनसम्बन्धी दर्ता भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला १२ महिनामा देशभर ५९० जनाको हत्या भएको छ । सबैभन्दा बढी प्रदेश १ मा १२२ जना र मधेसमा ११० जनाको हत्या भएको छ ।
काठमाडौं उपत्यकामा ५०, बागमतीमा ६३, गण्डकीमा ४४, लुम्बिनीमा १०८, कर्णाली प्रदेशमा ३९ र सुदूर पश्चिममा ५४ जनाको हत्या भएको छ । प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीका आधारमा यो तथ्यांक तयार भएको हो ।
यस्तै पछिल्लो आर्थिक वर्षमा देशभर २ हजार ३८० वटा जबरजस्ती करणीका घटना भएका छन् । यो तथ्यांक पनि प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीका आधारमा हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो १२ महिनामा काठमाडौं उपत्यकामा ३२३, प्रदेश १ मा ५१२, मधेसमा २८९, बागमतीमा २६५, गण्डकीमा २११, लुम्बिनीमा ३८९, कर्णालीमा १५७ र सुदूरपश्चिम प्रदेशमा २३४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएका छन् ।
यसैगरी जबरजस्ती करणी प्रयाससम्बन्धी ६५५ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा देशभर ७ हजार ११७ वटा घटना आत्महत्यासम्बन्धी दर्ता भएका थिए । आत्महत्या दुरुत्साहनसम्बन्धी दर्ता भएका मुद्धाको संख्या १६४ थियो। त्यस वर्ष ६९७ जनाको हत्या भएको थियो । २ हजार ५३२ वटा घटना जबरजस्ती करणीसँग सम्बन्धित थिए ।