तिलोत्तमाको कल सेन्टरबाट अवैध कारोबार गर्ने २५८ जना पक्राउ
रुपन्देही । रुपन्देहीको तिलोत्तमामा आइतबार कल सेन्टरका नाममा भएको अवैध कारोबारको जालो खोज्न नेपाल प्रहरीले विशेष अनुसन्धान गर्ने भएको छ ।
ब्लु स्काई विजेनश सोलुसन प्रा.लि (कल सेन्टर) नामक यो संस्थाबाट २ सय ५८ जना कर्मचारीले दैनिक करोडौँको कारोबार गरेको भेटिए पनि उनीहरूलाई दिने सेवा सुविधा कसरी दिइएको थियो भन्ने खुलेको छैन ।
भारतीय र चिनियाँ नागरिकको लगानीमा सञ्चालित रहेको यो कार्यालयबाट दैनिक सयौँ सर्वसाधारणलाई एप्लिकेसनको प्रयोग गरी गैरकानूनी कारोबार, ठगी तथा ब्ल्याक मेलिङ्ग हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
त्यहाँ काम गर्ने २ सय ५८ युवायुवती नियन्त्रणमा लिएसँगै दैनिक करोडभन्दा बढी ट्रान्जेक्सन हुने गरेको खुले पनि यसको जालो पत्ता लगाउन प्रहरीले चासो दिएको हो ।
आइतबार पक्राउ परेकामध्ये मुख्य नाइके भारतीय नागरिक निरञ्जन कुमार हुन् । उनीसहित पक्राउ परेका अन्य ८ जना नेपालीलाई पनि जिल्ला अदालत रुपन्देहीमा पेस गरेर अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया सुरु गरिएको उनले बताए ।
निरञ्जन कुमारले मुख्य कार्यालय चीनमा रहेको बताएकाले पनि प्रहरीले यसको जालो खोज्न सुरु गरेको हो ।
रुपन्देहीमा खोलिएको उक्त कल सेन्टरबाट भारतीय नागरिकलाई ठगी गरेको पाइए पनि त्यस्तो ठगीबाट कति रकम संकलन भयो र रकम कसले लिएको छ भन्ने पत्ता लगाउन कठिन छ ।
धेरै कर्मचारी रहे पनि उनीहरूको तलब बापतको रकमबाहेक अन्य कति रकम दैनिक उठ्यो भन्नेसमेत पत्ता लाग्न सकेको छैन । पक्राउ परेकाहरूले प्रहरीलाई चिनियाँको लगानीमा आफूहरूले काम गरेको बताए पनि उक्त कल सेन्टरको मुखिया को हो भन्ने पत्ता लाग्न सकेको छैन ।
प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछका क्रममा रुपन्देहीमा सहायक कार्यालय मात्रै भएको तथ्य भेटिएकाले यसको मुख्य कार्यालय खोजीका लागि सो कार्यालयबाट नियन्त्रणका लिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्नका लागि सीआईबीको टोलीले थप अनुसन्धान गर्ने भएको हो ।
अहिले पक्राउ परेकाहरूले मौखिक जवाफ दिएकाले उनीहरूले भनेका कुराको प्रमाण पुष्टि गर्न कम्प्युटर र मोबाइलमा भएका तथ्य सही छन् कि गलत भन्ने बुझ्न केन्द्रीय अनुसन्धान टोली बुटवलमा बोलाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठग बहादुर केसीले बताए ।