हिरासतबाटै भागे बलात्कारआरोपी, प्रहरी मिलेमतोको आशंका – Nepal Press

हिरासतबाटै भागे बलात्कारआरोपी, प्रहरी मिलेमतोको आशंका

रुपन्देही । बर्दियाको थुनुवा इलाका प्रहरीका कार्यालयमा बलात्कारको अभियोगमा हिरासतमा रहेका एक व्यक्ति रहस्यमय तरिकाले फरार भएका छन् ।

बाँकेको खजुरा गाउँपालिका घर भएका अब्दुल खाँ बाँसगढीस्थित थुनुवा इलाका प्रहरी कार्यालयबाट सोमबार दिउँसो फरार भएपछि स्थानीयले प्रहरी चौकीमा रहेका प्रहरीको मिलेमतोमा भगाइएको आशंका व्यक्त गरेका छन् ।

प्रहरीले उनी फरार भएको जानकारी मंगलबार मात्र दिएकाले प्रहरीको मिलेमतोको आशंका बढेको स्थानीयले आरोप लगाएका हुन् ।

गत असार २३ गते पक्राउ परेका बाँके खजुरा गाउँपालिका घर भएका अब्दुल खाँ सोमबार दिउँसो खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले नेपाल प्रेसलाई बताए ।

बलात्कारका अभियोगीलाई बाँकेबाट पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा कारबाही चलाइएको थियो । जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्न ल्याउने समयमा प्रहरीलाई झुक्याएर फरार भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

‘खाना खाएर आराम गर्न गएपछि सोमबार ११ बजेपछि फरार भएको सूचना आएको छ, हामीले आन्तरिक अनुसन्धान थालेका छौं, के कसरी भागेको हो हामीले प्रतिवेदन सार्वजनिक गर्छौँ, भाग्नेको पनि खोजबिन भइरहेको छ’, सुवेदीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *