कल सेन्टरका संचालकविरुद्ध ठगी मुद्दा, २१३ कर्मचारी निगरानीमा
रुपन्देही । दुई दिनअघि पक्राउ परेको रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तलाई प्रहरीले ठगी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
तीन वटा तल्ला भाडामा लिएर विभिन्न सामाजिक संजाल र एप्सहरुमार्फत विभिन्न व्यक्तिहरुलाई म्यासेज गरी बैंक लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की, हैरानी दिने र अश्लिल सामग्रीहरु समेत पठाई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले त्यहाँ काम गर्ने ११५ जना पुरुष र ९८ जना महिला कर्मचारीसमेत २१३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको बताए ।
कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ का ४० वर्षीय हिमाल बाठामगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार)लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उनले बताए । साथै कम्प्युटर लगायत अन्य उपकरणहरु बरामद गरी थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।
बरामद भएका उपकरणका बारेमा यथेष्ट जानाकारी लिन नसकेपछि प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोली बुटवल मगाएको छ । बरामद गरिएका कम्प्युटर र मोबाइलहरू खोलेर विस्तृत अनुसन्धान गर्न सीआईबीको टोलीलाई बुटवल बोलाइएको उपरीक्षक केसीले बताए ।