तथ्यांकमा १६५ क्षेत्रको मत विश्लेषण- एक्लाएक्लै लड्दा कसको कति सीट ?
काठमाडौं । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई लिएर दलहरुले र विश्लेषकहरुले आआफ्नै ढंगले ब्याख्या विश्लेषण गरिरहेका छन् । निर्वाचन आयोगले गत मंगलबार वडा सदस्यदेखि पालिका प्रमुखसम्मका उम्मेदवारले पाएको मतका आधारमा कुन दलले कुन पदमा कति मत पाए भन्ने आधिकारिक तथ्याङ्क पनि सार्वजनिक गरिसकेको छ ।
विशेषगरी प्रमुख दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले लोकप्रिय मतमा आआफ्नो दाबी प्रस्तुत गरेका छन् । यो दाबीमा दुवैको दम पनि छ । किनकि निर्वाचन आयोगले नै प्रमुख र उपप्रमुख पदमा दलहरुले प्राप्त गरेको मतका आधारमा सबैभन्दा बढी नेकपा एमालेले ३८ लाख र दोस्रोमा नेपाली कांग्रेसले ३७ लाख हाराहारी मत ल्याएको सार्वजनिक गरेको छ ।
अर्कोतर्फ वडाध्यक्षमा प्राप्त मतका आधारमा कांग्रेस करीब ३९ लाख र एमाले करीब ३८ लाख मतमा छन् । पालिका प्रमुखका आधारमा एमालेले सबैभन्दा बढी मत पाएको छ भने वडाध्यक्षका आधारमा कांग्रेसले ।
निर्वाचन आयोगको आधिकारिक परिणामका आधारमा गरिने मत विश्लेषण र हालै कांग्रेस केन्द्रीय कार्य समितिमा गृहमन्त्री बालकृष्ण खाणले गरेको विश्लेषण अनि कांग्रेस नेता मीनेन्द्र रिजालले तथ्याङ्कशास्त्रीय विश्लेषण यसबीचमा आइसकेका छन् ।
यहाँ भने विभिन्न दलको निर्वाचन चिन्हमा प्राप्त मतलाई जस्ताको त्यस्तै प्रस्तुत गरेर १६५ संघीय निर्वाचन क्षेत्रको वस्तुगत अवस्था चित्रण गर्ने कोसिस गरिएको छ ।
स्थानीय तह निर्वाचनमा दलहरुको चिन्हका आधारमा प्राप्त मतको विश्लेषण गर्दा उनीहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्दा प्रतिनिधिसभाका १६५ सीटमा कुन चिन्हले कति सीट जित्ला ? प्रदेशगत आधारमा विश्लेषण गरिएको छ ।
कुनै पार्टी एकल चुनावमा गएको वा गठबन्धन भएर गएको भए पनि चुनाव चिन्हमा प्राप्त सदर मतलाई आधार बनाएर यहाँ कसले कति सीट ल्याउन सक्छन् भन्ने तथ्याङ्कशास्त्रीय विश्लेषण गरिएको हो ।
स्थानीय तहको निर्वाचनपछि दुई तरिकाबाट मतको विश्लेषण भइरहेको पाइन्छ । एउटा भनेको वडाध्यक्षको मतलाई आधार मानेर, अर्को पालिका प्रमुखको मतलाई आधार मानेर । यस आलेखमा भने राजपत्रमा प्रकाशित संघीय निर्वाचन क्षेत्रको पालिका प्रमुख र पालिका विभाजन भएको क्षेत्रमा वडाध्यक्षको मतलाई आधार मानेर तथ्याङ्क निकालिएको छ ।
स्थानीय तह निर्वाचन २०७९ को मत परिणामको आधारमा १६५ संघीय निर्वाचन क्षेत्रको परिदृश्य यो चार्टमा हेर्न सक्नुहुन्छ ।
१६५ संघीय निर्वाचन क्षेत्रको पहिलो हुने मतभार हेर्दा ९ वटा दलको चिन्हको अस्तित्वसहित र एउटा स्थानमा स्वतन्त्रको मत अगाडि रहेको छ । सूर्य चिन्हको अधिक ७२ सीट, रुखको दोस्रो ६८ सीट र तेस्रोमा छाता चिन्हको १२ सीट आउने यो तथ्यांकले देखाउँछ । त्यस्तै गोलाकारभित्रको हसियाँ हथौडाले ९ सीट जित्ने यो तथ्यांकले देखाउँछ भने मादल, कलम र ढकीले एक-एक स्थान जित्ने देखाउँछ ।
यो तथ्यांक भनेको स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रभित्र पर्ने पालिका प्रमुख र पालिका विभाजित भएको ठाउँमा वडाध्यक्षले पाएको मतका आधारमा सम्बन्धित दलको चुनाव चिन्हले पाउने सीटको विश्लेषण हो ।
तर, दलहरु गठबन्धन गर्दा यो सीट तलमाथि हुने निश्चित छ भने उम्मेदवार कस्तो हुन्छ वा कति दलबीच गठबन्धन हुन्छ भन्ने कुराले पनि परिणामलाई फरक पार्नसक्छ । यो कुनै चुनावी विश्लेषणभन्दा पनि जनताले स्थानीय तह निर्वाचनमा दिएको मतका आधारमा गरिएको तथ्यांकशास्त्रीय आँकलनमात्र हो ।
अब १६५ संघीय निर्वाचन क्षेत्रमध्ये कुन प्रदेशमा कुन दलले कति सीट जित्न सक्छन् भन्ने चर्चा गरौं ।
प्रदेश १
प्रदेश नम्बर १ मा २८ वटा संघीय निर्वाचन क्षेत्र छन् । स्थानीय तह निर्वाचनमा सम्बन्धित निर्वाचन क्षेत्रभित्रको पालिका प्रमुख र पालिका विभाजित भएको ठाउँमा वडाध्यक्षले पाएको दलगत मतको आधारमा यदि दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गरेको अवस्थामा एमाले र कांग्रेसले मात्र प्रत्यक्ष सीट जित्ने हिसाब निकाल्न सकिन्छ ।
प्रदेश १ मा प्राप्त स्थानीय तहको मतका आधारमा नेकपा एमालेको सूर्य चिन्हले १७ र नेपाली कांग्रेसको रुख चिन्हले ११ सीट जित्ने तथ्यांक देखिन्छ ।
मधेस प्रदेश
३२ वटा संघीय निर्वाचन क्षेत्र रहेको मधेस प्रदेशमा ५ वटा दलको अस्तित्व प्रत्यक्षतर्फ कायम हुने देखिन्छ । स्थानीय तहको मत विश्लेषण गर्दा मधेस प्रदेशमा कांग्रेसले १३, जसपाको छाता चिन्हले ११, नेकपा एमालेको सूर्य चिन्हले ५, नेकपा माओवादी केन्द्रको हसियाँ हथौडाले २ र नेकपा एकीकृत समाजवादीको कलम चिन्हले १ सीट जित्ने देखिन्छ ।
बागमती प्रदेश
३३ वटा संघीय निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा स्थानीय तहको निर्वाचनको मत विश्लेषण गर्दा चारवटा चिन्हको मात्र अस्तित्व रहने देखिन्छ ।
जसमा नेकपा एमालेको सूर्य चिन्हले १८, नेपाली कांगे्रेसको रुख चिन्हले १३, माओवादी केन्द्रको हसियाँ हथौडाले १ र नेपाल मजदुर किसान पार्टीको मादल चिन्हले १ सीट जित्ने देखिन्छ ।
गण्डकी प्रदेश
१८ वटा संघीय निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेशमा प्रमुख तीन दलले मात्र प्रत्यक्ष चुनाव जित्ने स्थानीय चुनावको मतले देखाउँछ । जसमा नेकपा एमालेले ९, नेपाली कांग्रेसले ८ र माअोवादी केन्द्रले १ सीट जित्ने देखिन्छ ।
लुम्बिनी प्रदेश
२६ वटा संघीय निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशमा स्थानीय तह चुनावको आधारमा नेकपा एमालेले १३, नेपाली कांग्रेसले ११ र माओवादी केन्द्रले २ सीट जित्ने देखाउँछ ।
कर्णाली प्रदेश
१२ वटा संघीय निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशमा स्थानीय तह निर्वाचनको मतका आधारमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले ४ र माओवादी केन्द्रले ३ सीट जित्ने हिसाब निक्लिन्छ । यो पनि दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्दाको अवस्थाको परिणाम हो ।
सुदूरपश्चिम प्रदेश
१६ वटा संघीय निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा स्थानीय तहको मत विश्लेषण गर्दा कांग्रेसले ७, एमालेले ६, जसपाले १, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको ढकी चुनाव चिन्हले १ र स्वतन्त्रले १ सीट जित्ने देखाउँछ ।
माथि उल्लेखित मत विश्लेषण राजनीतिक आग्रह वा धरातलको आधारमा भन्दा पनि स्थानीय तहमा सम्बन्धित संघीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पालिका र पालिका सिंगै नभएको ठाउँमा वडाहरुमा सम्बन्धित दलको चुनाव चिन्हमा खसेको मतका आधारमा गरिएको हो ।
तर, चुनावका वेला यी दलहरु कतिपय एक्लै लड्नेछन् भने कतिपयको गठबन्धन र तालमेल हुने अवस्थामा नतिजा तलमाथि पर्नसक्छ ।
उम्मेदवारप्रतिका आकर्षण, वितृष्ण, नयाँ मतदाताको मनोविज्ञानसमेतलाई मध्यनजर राख्ने हो भने सदर मतको १० देखि २० प्रतिशत मत अनिश्चित र निर्णायक हुने गर्दछ ।
कतिपय निर्वाचनमा त मौन अवधिमै जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था सिर्जना हुने गर्छ । अधिकतम २० प्रतिशत सदर मतलाई स्वीङ मत मान्ने हो भने १६५ मध्ये ९५ क्षेत्रमा कसले जित्छ भन्न सकिन्न ।
यो हिसाबले दलहरु करीब ४२ प्रतिशत निर्वाचन क्षेत्रमा सुरक्षित भएको देखिन्छ भने ५८ प्रतिशत क्षेत्रमा दलहरुको उम्मेदवार छनोटले जीत वा हार तय गर्नेछ ।
१० देखि २० प्रतिशत निर्णायक मत राख्दा ९५ सीट जसले पनि जित्न सक्छन् । प्रत्येक निर्वाचन क्षेत्रमा २० प्रतिशत स्वीङ राख्दा ९५ सीट स्वीङ हुनेछ । तीबाहेक निश्चित जित्ने सीटमा एमालेको २९, कांग्रेसको २६, जसपाको ८, माओवादीको ४, नेमकिपाको १, नागरिक उन्मुक्ति पार्टीको १ र स्वतन्त्र १ सीट हुनेछन् ।
(लेखक थपलिया नेपाल बुद्धिजीवी परिषद्का महासचिव हुन् ।)
आफुलाई वुद्धिजिवि थान्ने विश्लेषक कर्तालाई यति सम्म गिर्नका लागी लेख्न र बोल्न पछि नपर्ने ? यस्तो किसिमको विज्ञता र विश्लेषणले विज्ञाता वा बौद्धकता होइन, एमाले पार्टीको ….. हो भनेर प्रमाणित हुन्छ । यस्तै तरिकाको विश्लेषणले वलीबा, सुर्य थापालाई त सहयोग पुग्छ, तर एमाले युवा कार्यकर्ताहरु १५ बर्ष पछि पार्ने । ओरालो लाग्ने हौसला मिल्छ ।
तपाईंको मत सर्वेक्षण त्यति उपयुुक्त होइन किन कि लोसपा प्रति अन्याय भयो ।
बुध्दीजिवीको बिश्लेषण हावै रहेछ । स्थानिय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादीले पाएको मत र जितेका पद संख्या कता हराए ? SEE को परिक्षा दिन जानोस ।
लगभग मिल्छ ।