लिथियम उत्खननसम्बन्धी प्रतिबन्ध हटाउँदै भारत, चीनमाथिको निर्भरता कम गर्ने कदम
काठमाडौं । भारतले इलेक्ट्रिक भेहिकल (ईभी) को ब्याट्रीको लागि अत्यावश्यक मानिने खनिज लिथियमको उत्खननसम्बन्धी प्रतिबन्धलाई हटाउने तयारी गरेको छ । भारतले लिथियमसँगै बेरेलियम जिन्क्रोनियमलगायतका अन्य आठ खनिजको उत्खननसम्बन्धी नियम पनि परिवर्तन गर्ने तयारी गरेको अलजजिराले जनाएको छ ।
अलजजिराका अनुसार निजी क्षेत्रले समेत उत्खनन गर्न पाउने गरी नियममा परिवर्तन गर्न लागिएको हो । खनिजका लागि अन्य देशहरुमाथिको परनिर्भरता तोड्न र ईभीको प्रवर्द्धन गर्न भारतको यो कदम प्रभावकारी हुने जनाइएको छ ।
हाल भारतको कर्नाटकमा लिथियमको खानी रहेको र अन्य क्षेत्रमा पनि यस किसिमका खानीहरुको खोजी भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । हाल विश्वमै अस्ट्रेलिया र चिलीले सबैभन्दा बढी खनिज उत्पादन गर्दै आएका छन् । चीन विश्वमै सबैभन्दा बढी खनिज प्रशोधन गर्ने राष्ट्र हो ।
भारतमा केही वर्षयता ईभीको आकर्षण बढ्दै गएको छ । भारतको व्यापार मन्त्रालयको तथ्याकंअनुसार गत आर्थिक वर्षमा मात्र भारतले १.२३ बिलियन डलर बराबरको लिथियम ब्याट्री आयात गरेको छ । जसमध्ये ८७ प्रतिशत आयात चीन र हङकङबाट भएको छ ।
विगतमा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको भारतले चीनसँगको परनिर्भरता कम गर्ने नीति अपनाउँदै आएको कारण पनि यो कदम चालेको हुनसक्ने जानकारहरुले बताएका छन् ।