टिकट बेचिएको आरोप लगाउने कांग्रेस नेतालाई नुवाकोट कांग्रेसले सोध्यो स्पष्टीकरण
नुवाकोट । फेसबुकमा पार्टी नेताहरुविरुद्ध लेखेको भन्दै नेपाली कांग्रेस नुवाकोटले बेलकोटगढी नगर कार्यसमितिका सभापतिलाई स्पष्टीकरण सोधेको छ ।
नुवाकोट कांग्रेसको जिल्ला अनुशासन समितिका संयोजक श्रीराम श्रेष्ठले बेलकोटगढी नगर समितिका सभापति लेखनाथ मुडभरीलाई लिखित स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण सोधिएको पत्रमा ‘फेसबुक स्टाटसमा पार्टीका जिल्लादेखि केन्द्रसम्मका नेताहरूले स्थानीय निर्वाचनमा करोडौँ रकम लिई टिकट वितरण गरेको भनी आरोप लगाई चरित्र हत्या गरेको’ आरोप लगाइएको छ ।
मुडभरीको फेसबुक स्टाटसको स्क्रिन सटसमेत संलग्न गरी सोधिएको स्पष्टीकरणमा ४ दिनभित्र आरोपबारे सप्रमाण खण्डन गरी अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।
मुडभरीले फेसबुकमा समसामयिक विषयमा असन्तुष्टि र व्यंग्य गर्दै स्थानीय निर्वाचनमा टिकट बिक्री वितरण गरिएको, नागरिकता विधेयकमा छल गरिएको र पार्टीभित्र संस्थागत भ्रष्टाचार मौलाएको लगायतका टिप्पणी गरेका थिए ।