नागरिकता विधेयक राष्ट्रघाती : जनमोर्चा अध्यक्ष केसी
रुपन्देही । सत्ता गठबन्धन ५ दलीय मोर्चामा रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको आरोप लगाएका छन् ।
विदेशीलाई नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनको तर्क छ ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा सुरु भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने र गैरनेपालीलाई नागरिकता दिनै नहुने बताए ।
अहिले नागरिकता विधेयकका कारण भविष्यमा हामी नेपाली अल्पमतमा पर्ने सम्भावना रहेको बताउँदै यसको असर केही समयपछि देखिने केसीले बताए ।
संसदबाट नागरिकता विदेश पास भएपछि नेपालको अस्तित्वमाथि प्रश्नचिन्ह खडा भएको बताउँदै सत्तामा बसेर हालीमुहाली गरेर पुस्तौ पुस्तालाई सम्पति आर्जन गर्न विदेशीको इशारामा नागरिकता विधेयक सदनबाट पास भएको केसीको दाबी छ ।
संघीयता, नागरिकता विद्येयक, एमसीसी, महंगी, भ्रष्टाचार, विभिन्न प्रकारका हिंसा र अपराधविरुद्व राष्ट्रिय जनमोर्चाले निरन्तर संघर्ष गर्दै आएको र सम्झौताहीन संघर्ष गर्र्दै जाने अध्यक्ष केसीको भनाइ छ । संघीयताका कारण मुलुक टाट पल्टिएको अवस्थामा एमसीसी, राष्ट्रघाती नागरिकता विधेयकले देश झनै संकटमा परेको उनले बताए ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्तामा रहेका आफूलाई ठूला भन्ने दलका नेताहरुले राजनीतिलाई व्यवसाय बनाएर देशलाई कंगाल बनाएको आरोप लगाए ।
पार्टीको अनुशासनमा रहेर जनताको हितमा जनपक्षीय काम गरेर व्यवहारमा देखाउन जनप्रतिनिधिहरुलाई उनको निर्देशन थियो । स्थानीय तहहरुलाई भ्रष्टाचारमुक्त स्थानीय तह बनाउनका लागि निष्ठापूर्वक काम गर्न अध्यक्ष केसीले आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । प्रदेश सांसद तारा जीसीले पार्टीको अनुशासन, नीति, सिद्वान्तलाई पूर्ण पालना गरेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिइन् ।
बाग्लुङ जिल्ला समन्वय समितिका संयोजक अमर थापाले राष्ट्रिय जनमोर्चाको वैचारिक पक्ष सुन्दरता भएकाले पार्टीको छविलाई कायम राखेर जनताको पक्षमा काम गरेमात्र असल जनप्रतिनिधि बन्न सकिने बताए । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले क्रान्तिकारी रुपान्त्रणका लागि जनताको पक्षमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा अर्घाखांची भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, प्यूठान मल्लरानी गाउंपालिकाका अध्यक्ष कृष्ण खड्का, महिला जनप्रतिनिधि सीता आचार्यलगायतले बोल्दै स्थानीय तहहरुलाई जनमैत्री बनाउनुपर्ने बताएका थिए ।