प्राध्यापक नियुक्ति बिथोल्न त्रिवि सेवा आयोगमा तालाबन्दी – Nepal Press

प्राध्यापक नियुक्ति बिथोल्न त्रिवि सेवा आयोगमा तालाबन्दी

चलाउनेमाथि आक्रमण गर्ने गुट संलग्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरको त्रिवि सेवा आयोगमा नेपाल विद्यार्थी संघको एउटा घटकले तालाबन्दी गरेको छ । सेवा आयोगबाट हुने प्राध्यापक/उपप्राध्यापकको नियुक्ति प्रक्रियामा भाँजो हाल्ने उद्देश्यले शुक्रवारबाट तालाबन्दी गरिएको हो ।

नेविसंघको विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले हिजो संगठनको लेटर हेडमै विज्ञप्ति निकालेर सेवा आयोगलाई एमालेको भर्तिकेन्द्र बनाउन लागिएकाले तालाबन्दी गर्नुपरेको दाबी गरेका छन् । उनले सेवा आयोगका अध्यक्ष प्रा. डा. लालुप्रसाद पौडेललाई विश्वविद्यालय परिसरभित्र प्रवेश निषेध गरिएको समेत बताएका छन् ।

‘हाम्रो मागलाई बेवास्ता गरी त्रिवि सेवा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेल सेवा आयोगलाई एमालेको भर्ती केन्द्र बनाउन उद्धत रहेको निष्कर्षका साथ पूर्वनिर्धारित परीक्षाहरू स्थगित नगरुन्जेलसम्मका लागि पौडेललाई विश्वविद्यालय परिसरभित्र प्रवेश निषेध गर्नुका साथै त्रिवि सेवा आयोगको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।’

स्रोतका अनुसार रावलले सिनियरलाई पन्छाएर आफूनिकट जुनियर व्यक्तिलाई प्राध्यापक नियुक्तिका लागि दबाब दिँदै आएका छन् । रावल यसअघि त्रिविका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमणमा संलग्न रहेका व्यक्ति हुन् । उनलाई ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनले धरौटीमा छोडेको थियो । अहिले चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौं र सर्वोच्च अदालतमा विचाराधीन छ । त्रिविमा नेविसंघका गुटै गुट छन् । एउटा गुटको नेतृत्व रावलले गर्छन् ।

सेवा आयोगले व्यवस्थापन, समाजशास्त्र, इतिहास, मैथिलीका विषयका प्राध्यापक र सहप्राध्यापकको १५, १६ र १७ गते अन्तरवार्ता गर्दै छ । त्यसलाई प्रभावित गर्ने गरी रावल समूहले तालाबन्दी गरेको हो । सेवा आयोगका अध्यक्ष पौडेलको पदावधि बुधवार सकिँदै छ । कार्यकालको अन्त्यमा उनलाई असफल पार्न नियुक्ति प्रक्रियामा व्यवधान खडा गरिएको स्रोतले बतायो ।

यसैबीच अनेरास्ववियूको त्रिवि इकाईले केही संगठनको नाममा विश्वविद्यालयमा हुने अविच्छिन्न तालाबन्दीप्रति ध्यानाकर्षण भएको जनाएको छ । संगठनका अध्यक्ष शम्भुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा प्राध्यापक र सहप्राध्यापक पदको अन्तरवार्ता प्रभावित गर्ने उद्देश्यले तालाबन्दी गरिएको उल्लेख छ ।

‘प्रतिस्पर्धाबाट प्राध्यापक सहप्राध्यापक छनोट हुने प्रक्रियालाई बन्द गराएर ठेकेदारी प्रथाले जिम्मेवारी लिने उद्देश्यले लगाएको ताला वार्ता र संवादको माध्यमबाट तत्काल खोल्न अनेरास्ववियु आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

ताला नखुलेको खण्डमा सशक्त आन्दोलनमा जाने भट्टले चेतावनी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर