‘आफैंप्रति खेद लाग्छ, त्यस्ता स्तरहीन लेखकहरूमाथि किन कलम चलाएँ ?’
‘मैले पत्रकारिताबाट करिब करिब सन्यास लिइसकेँ !’ साढे दुई दशकज्यादा न्युजरुमको किबोर्ड ठटाएका पत्रकार, समीक्षक राजकुमार बानियाँ टाँठिलो पारामा प्वाक्क बोलिपठाउँछन् । न्युजरुममा किबोर्ड थिचिँदा निस्कने ‘ट्वाक् ट्वाक्’ आवाज बानियाँको कानमा नठोक्किएको निकै भइसक्यो । कोरोनाकालमा बानियाँको गर्जो टारिरहेको ‘नेपाल म्यागजिन’ नामक खबरपत्र छापिन छाडेपछि न्युजरुमको साढे दुई दशक लामो दैनिकीमा विराम लाग्यो । उनले खबरकारिताबाट हात धोए ।
अहिले फुर्सदिला बानियाँले नेपालका मूलधारका भनिएका दर्जनज्यादा दैनिक/साप्ताहिक पत्रिकाको स्वाद/बेस्वाद चाखे । कतिपय ठाउँमा एक वर्षसम्मको तलब मालिकलाई नै ‘गरिखानू’ भनेर मुफ्तमा सुम्पिए । कतिपय ठाउँमा नौ–नौ महिनासम्म मालिकको दुःख र अप्ठ्यारोलाई बुझिदिए, ‘तलब दिइहाल्नू, अप्ठ्यारो पर्यो’ भनेर करकर पनि गरेनन् ।
बानियाँलाई थाहा थियो, अन्य कुनै पेशामा ‘नालायक’ बनिसकेपछि पत्रकारितामा ‘लायक’ बन्न आइपुगेको कुनै अमूक दुःखी आत्मा थिएनन् उनी । न कुनै व्यापारी, सम्पादक वा प्रकाशकको सिफरिसमा न्युजरुम छिर्ने अनुमति लिएर आएका चंखे खबरपालक नै थिए । लेखक हुने अदृश्य रहरको फेरो समातेर शब्दसित खेल्न पत्रकारितामा आइपुगेका थिए ।
प्रिय पाठक ! पंक्तिकारद्धारा लिखित माथिका लेखोटहरु थोरै काल्पनिक, मनमौजी लाग्न सक्छन् । जे मन लाग्यो, त्यही लेखेका कपोकल्पित आराधना लाग्न सक्छन् । आउनुहोस्, बानियाँसितै वार्ता गरौं :–
तपाईंले संन्यास नै लिनुभएको हो पत्रकारिताबाट ?
यो करोडको प्रश्न मजस्तो कमिला कदको मानिसलाई भन्दा पनि तनहुँमा फार्म चलाएर बसेका कान्तिपुरका पूर्व प्रधानसम्पादक नारायण वाग्लेलाई सुहाउँथ्यो होला । उनले आफैं अनलाइन खोलेर साहु सम्पादक बन्न छाडेर किन खेती किसानी गरिरहेका छन् ? मलाई पनि जान्न मन थियो । जहाँसम्म मेरो कुरा छ, म शब्दप्रति असीम अनुराग भएकाले पत्रकारितामा आएको हुँ । कुनै पेशा नभएर, काम नपाएर आएको होइन । कुनै नेता, ठेकेदार, व्यापारी, कर्मचारी, भ्रष्टाचारीको सिफारिसमा आएको पनि होइन । पत्रकारिता नै गर्छु, यसबाहेक मेरो अरु केही उद्देश्य छैन भनेर आएको हो ।
म कुनै राजनीतिक दलको भरिया भइनँ । कुनै नेताको भजन गाइनँ । कुनै वाद वा विचार नै महान् हो भनेर पनि लेखिनँ । कोरोनाकाल अघिसम्म यत्रो वर्ष काम गरेको मेरो अनुभव काम लाग्ला भन्ने भ्रम थियो । त्यो पनि होइन रहेछ । एक ठाउँमा छाडेपछि अर्को ठाउँमा पक्कै टिक्छु भन्ने थियो । त्यो पनि होइन रहेछ । म कपी–डेस्कमै कुहिएँ । ’थ्यांकलेस जब’ गरेँ । रातबिरातको कामले फुर्सद पाइएन । सामाजिक हिसाबले सम्बन्धविच्छेद नै भयो । मानिसहरू सोच्थे, ’यो मानिसले व्यापक पैसा कमाएको छ ।’ यत्रो वर्ष काम गर्दा त केही पाइन्न भने अब खबरकारिता गरेर के पाइन्छ ? भ्रामक आकांक्षा लिएर कति बस्नु ?
यतिका वर्ष पत्रकारिता गरेको ‘एक्जिट प्वाइन्ट’ चाहिँ ’फ्रस्टेसन’ हो ?
मेरो अनुभवलाई तपाईं त्यसरी पनि विश्लेषण गर्न सक्नुहुन्छ । मसँग ‘फ्रस्टेसन’ मात्र होइन, पत्रकारिताको सुखद अनुभव पनि होला । उपलब्धि होला, सफलता होला । तर मैले स्वीकार गर्नुपर्छ भने जागिरमा कुनै जाँगर छैन । किनभने मैले पेशागत प्रशिक्षण, तालिम वा पुनर्ताजगीको अवसर पाइनँ । मसँग जति ज्ञान थियो, त्यो पनि घट्दै गयो । यसलाई ‘फ्रस्टेसन’ भन्दा पनि आत्मविश्वासको कमी भन्न सकिएला ।
पत्रकारितामा ऊर्जासहित लागिरहेका नयाँ पुस्तालाई ‘दुःखबाट मुक्ति चाहन्छौ भने पत्रकारिता छाड’ भन्न खोज्नुभएको हो ?
सुखसागरमा डुबुल्की लगाउन पाउँछु भनेर पत्रकारितामा लागेको मान्छे होइन म । अब रहर पुग्यो । दालभात खानकै लागि त अरू काम छैनन् र ! लेखन–पठनका प्रशस्तै काम छन् । अर्को कुरा सधैं एउटै प्रकृतिको काम गर्दा ’मोनोटोनस’ पनि हुन्छ नि ! आफैंले आफैंलाई कति सजाय दिने ? मेरा निम्ति पत्रकारिता ग्ल्यामरस पेशा छैन । मैले भन्ने गरेको छु– पत्रकारिता पेशा सज्जनहरूले गर्ने नै होइन, गरेको छ भने सक्दो चाँडै छाड्ने हो । तर खबरकारिता गर्छु भन्नेलाई मेरो शुभकामना छ !
यति लामो न्युजरुमको अनुभव छ तपाईंसँग । न्युजरुमभित्रका छलछाम, तिकडमहरुको पनि उत्तिकै अनुभव होला नि ?
कत्ति देखियो, कत्ति ! त्यसको लेखाजोखा नै छैन । म आफैं पनि कमजोरीमुक्त मान्छे होइन । मेरो मूल्यांकन हुँदा कमजोरीसहित हुनुपर्छ । मैले पनि गल्ती गरेँ हुँला । तर, धेरै मान्छे चाहिँ आफ्नो गल्ती लुकाउन सक्षम छन् । गल्ती लुकाउन सक्नेहरू नै ’सफल’ मानिएका छन् ।
आफ्नै पत्रकारिता जीवनलाई समीक्षा गर्दा पाएका–गुमाएका कुराहरू धेरै नै होलान् नि ?
म त्यस्तो हाई प्रोफाइल पत्रकार होइन । खोज पत्रकार पनि होइन । मामुली भुइँमानिस हुँ । कसैकसैले भुइँफुट्टा पनि भनिदेलान् । लामो समय न्युज डेस्कमा काम गरें । त्यो भनेको रिपोर्टरले ल्याएको चिज तलमाथि बनाउने, हेडलाइन हाल्ने हो । रिपोर्टरले राम्रो न्युज ल्याएन भने लिपपोत गरेर मात्रै समाचार राम्रो हुँदैन । मैले अरु कसैले नगरेको विशिष्ट काम गरेको पनि होइन । न्युजलाई पठनीय, सुबोध बनाउने कोसिससम्म गरें हुँला ।
मेरो नियति भन्नुपर्छ, म सम्पादकको ’फेभर’को मान्छे कहिल्यै भइनँ । नत्र सम्पादक जहाँ बसाइँ जान्थ्यो, त्यहीँ लिएर जान्थे होलान् । म कसैको गुँड वा कोटरीमा टिकिखान सक्दिनँ । म अरुजस्तै हुन्न भन्ने अलिकति हठ लिएर बाँचिरहेको छु । त्यसैले अहिले पनि प्रकाशकज्यू, सम्पादकज्यू म बेरोजगार भएँ भनेर कसैकहाँ दरखास्त हालेको छैन । कहिलेकाहीँ फोन आउँछ, केही लेखिदेऊ भन्छन् । सबैलाई म व्यस्त छु भनेर टार्दै आएको छु । जुन दिन टार्न सक्दिनँ, त्यस दिन स्थिति अर्कै होला । अहिलेको स्थितिमा चाहिँ मैले आफ्नो पेशालाई स्थगनमा राखेको छु । खबरखानामा भन्दा घरखानामै रमाइरहेको छु ।
सम्पादकको फेभरको मान्छे नहुनुको कारण अरु पनि होलान् कि ?
मान्छेलाई जहिल्यै प्रशंसा मनपर्छ । प्रशंसाको यति भोका हुन्छन् कि नचाहिने प्रशंसा पनि पत्याउँछन् । संसारकै आलोचनाको ठेक्का पाएजस्तो गर्ने मानिसहरू समेत आफ्नो आलोचनाको ’अ’ सुन्न सक्दैनन् । म नचाहिँदो प्रशंसा गर्न सक्दिनँ । जसलाई निन्दा गरे पनि फरक पर्दैन, उसको कति प्रशंसा गर्ने ? काम पनि गर्ने, प्रशंसा पनि गर्ने ? म एकैपटक दुईवटा काम गर्न सक्दिनँ । कि काम गर्छु, कि प्रशंसा मात्रै गर्छु ।
बाहिरबाट हेर्दा पत्रकारिता ?
म सर्वज्ञानी, तत्वबोध भएको मान्छे होइन । हाम्रो पत्रकारिताले निकृष्ट राजनीतिलाई मियो बनाएको छ । नेताजीहरूको सिँगौरी ’हेडलाइन’ बनेका छन् । फर्जी खबरको बिगबिगी छ । कसैलाई आरोप लगाएर छाडिदिएको छ । फगत डाम्ने काम पत्रकारिता होइन । ’भाइरल’ गराउनु मात्रै पनि पत्रकारिता होइन । आजको दिनमा पत्रकारिता अचाक्ली दुरुपयोग गरिएको पेशा हो । यसलाई विश्वसनीय, सन्तुलित र जवाफदेही बनाउनु चुनौतीपूर्ण छ ।
…
हामी छौं थापागाउँको एक कफीसपमा । बानियाँ दाइ भर्खरै आइपुगेका छन् । साथमा छन् लेखक तथा पत्रकार विस्वास खड्काथोकी । गफगाफको पृष्ठभूमि छ, अनौपचारिक ।
अनौपचारिक गफ, अनौपचारिक भेटघाटमा थप मसला थपिरहेका छन् खड्काथोकीले । एक दशकज्यादा मूलधारका मिडियामा पत्रकारिता गरेर विश्राम लिएका खड्काथोकीलाई पनि जान्नु छ,– यति लामो समय पत्रकारिता गरेर के पाए बानियाँ दाइले ? लेखकको अवतारमा आउने तरखरमा रहेका खड्काथोकी एक प्रबुद्ध समीक्षकबाट जान्न चाहन्छ, नेपाली साहित्यमा लेखनको करियर कस्तो छ ? कस्ता पुस्तकहरु लेखिइरहेका छन् । कति पठनीय छन्, कति खराब छन् । कति वन मुद्दा लगाउनपर्ने खालका छन् ।
बानियाँले नेपाली पत्रकारितामा राम्रा/खराब पाटाहरु देखे मात्रै, लेखेनन् । लेखे त पुस्तक समीक्षाहरु, प्रोफाइलहरु । जसले उनलाई स्थापित गराइदियो,– ‘बानियाँ एकदमै तीखा प्रश्नहरु गर्छन् ।’
बानियाँले तीखा प्रश्न मात्रै गरेनन्, केही लेखक भनाउँदाका पर्दाहरु पनि उतारिदिए । तीखा प्रश्नहरुकै कारण समीक्षाहरुबाट कहिल्यै धन्यवाद पाएनन् । पाठकका लागि ‘थ्यांकफूल’ बने, लेखकका बुझाइको साँघुरो चौघेरोभित्र धन्यवादका लायक बनेनन् ।
न त बानियाँलाई समीक्षा लेखेर दुश्मन कमाउनु नै थियो । डेस्कको जागिर, समाचार केलाएर बस्दामै पुगिसरी थियो । लेख्नुभन्दा नलेख्दामै सबैका प्रिय हुन्थे । तर, लेखे । यसको एक मात्रै कारण खुलाउँछन्, ‘लेखनप्रतिको प्रेमले गर्दा समीक्षाहरु लेखेको हुँ ।’
बानियाँको भनाइ छ, ‘अन्य कुनै मनसुवाले भन्दा पनि पाठक हुने योग्यता समेत नभएको मान्छे लेखक बनिरहेका छन् । अथवा लेखकमा जुन पर्फेक्सन चाहिने हो, त्यो नभएका मान्छेहरु लेखनमा आइरहेका छन् । तिनीहरुलाई चाहिँ तीखा लागे होलान् । मैले त सम्भावना भएका मान्छेलाई तिम्रो सम्भावना यति छ, अझैं प्रयास ग¥यौ भने तिमीले पाठकको सम्मान पाउन सक्छौ भनेर झकझकाउने काम गरेको हो । म पनि एउटा मान्छे हो । म कमजोरीमुक्त छैन । कसैलाई झटारो नै हानेँ हुँला, कसैलाई गोली चलाएँ हुँला । मुसालाई मार्न बन्दुक नै चलाइदिएँ होला । तर, के चाहिँ हो भने कोही मान्छे अर्काको कमजोरी गनेर बस्ने हुन्छन्, अर्को काम गर्ने हुन्छन् । काम गर्नेले गल्ती गर्छ । काम नगर्नेले अर्काको गल्ती गनेर बस्ने हुन् ।’
बानियाँको सार निष्कर्ष छ, किताब लेखन साँच्चिकै गाह्रो काम हो । सजिलो भए बानियाँले नै लेखिदिन्थे होलान् । बानियाँले त दुई पाँच हजार शब्दको गठबन्धन गरे, समीक्षाको नाममा । किताबमा त पचास हजार, एक लाख शब्द हुन्छन् । विषयवस्तुको ज्ञान चाहिन्छ, भाषाशैलीको ज्ञान चाहिन्छ । जीवनमा एउटा पनि लेख नलेखेकाले किताब लेखेका छन् । एउटा कथा नलेखेकाले उपन्यास लेखेका छन् । कोही कोही मान्छेले लेख्लान्, तर राम्रो लेखन सबैको वशको बात होइन ।
पंक्तिकारका यस्ता झुर गन्थन–मन्थनभन्दा ज्यादा बानियाँसँगको चोटिला वार्ता पढ्नै मजा आउँछ । आउनुस्, बानियाँसँग फेरि वार्ता गरौं:–
पुस्तक समीक्षाका सन्दर्भमा तपाईंले मुसा मार्नका लागि पनि बन्दुक चलाएँ भन्नुभयो । क–कसलाई चलाउनुभएको थियो, भन्न मिल्ला र ?
तपाईं आफैं खोज्नुस् न । राजकुमार बानियाँले मुसा मार्न क–कसलाई बन्दुक चलाएको थियो भन्ने खोजेको दिन म सबैभन्दा खुसी हुनेछु । साहित्यमा मैले आलोचना गरेको थिएँ, उनीहरुले विरोध बुझे । कहिलेकाहीँ त दिक्क लाग्छ, आफैंप्रति खेद लाग्छ । मैले त्यस्ता स्तरहीन लेखकहरूमाथि किन कलम चलाएँ ?
तपाईंले दुस्मन त थुप्रो कमाउनुभो होला ?
मैले लेखेर कहिल्यै धन्यवाद पाएको छैन । त्यो धन्यवाद लिनका लागि मैले लेखेको पनि थिइनँ । त्यसो गर्थें भने त उनीहरुले सेयर गर्न सक्ने चिज लेख्थेँ होला । म साहित्यको दुस्मन होइन । साहित्यकारको बैरी पनि होइन । मैले लेखनमा खोट देखेँ, लेखकहरूले मैमा खोट देखे । म पैसा, प्रसिद्धि, पुरस्कारको भन्दा पनि साहित्यको हितैषी हुँ, बडीगार्ड हुँ ।
कतिपय समीक्षामा त आफू लेखकको अवतारमा आउन नसकेको नोकझोंक पनि थियो होला नि ?
हो, म पनि कुनै बेला ’बाल’ कविता लेख्थेँ । कथा पनि लेखेँ । गजल पनि लेखेँ । मुक्तक पनि लेखेँ । मैले साहित्यको कुनै विधालाई छाडेको छैन । युधीर थापा र प्रकाश कोविदका बजारु उपन्यास पढेका भरमा चार–पाँचवटा उपन्यास पनि लेखेको थिएँ एसएलसी दिएको वर्ष । पछि थाहा पाएँ, त्यो मेरो रहर मात्रै रहेछ । मैले कामचलाउ लेखेको रहेछु । सबै जलाइदिएँ । म गाउँको सामान्य स्कुल पढेको मान्छे । असल र कमसल किताबको भेद थाहा थिएन । काठमाडौं आएपछि किताबहरु पढेँ, केही लेखकको संगत गरेँ । त्यसपछि किताबको संख्या थप्नतिर नलागेको हुँ यार ! म आफैंलाई कवि नमानीकन बसेको छु । मैले कवि, कथाकार, उपन्यासकार भन्न कसैलाई बाध्य पारेको छैन नि ! मैले कुनै सम्भावना भएको लेखकलाई प्रश्न गरेँ होला । तर, आफूले लेख्न नसकेको नोकझोंकको भारी उनीहरुलाई बोकाउने कृत्य गरिनँ ।
अहिलेका सेलिब्रेटी भनिएका लेखकहरुप्रतिको तपाईंको टिप्पणी के छ ?
अहिले लेखक बन्ने लस्कर छ । पेन्सनधारी कर्मचारी, व्यापारी बुढेसकालमा लेखक हुन किन आएको ? किनभने उसलाई नाम पुगेन । अहिलेका सेलिब्रेटी भनिएका प्रायःजसो लेखकलाई दोहोर्याएर पढ्नै सकिन्न । उनीहरु आफूले आफूलाई महान् भन्छन् । २४ घण्टे लेखक हुँ, २४ क्यारेटको हुँ भन्छन् । २४ घण्टे चाहिँ होलान्, तर २४ क्यारेटका चाहिँ देख्दिनँ । तिनलाई ’सेलिब्रेटी’ भन्दा पनि ’सेल्फीब्रेटी’ भन्ने कि !
तपाईंले हिजोदेखि आजसम्म पनि एकै खाले प्रश्न गरिरहनुभएको छ । समीक्षाका नाममा तपाईंले आज गर्ने प्रश्न नयाँ, नौलो, नवीन छैन, उही पुनरावृत्ति छ । यस्तो किन छ ?
पूर्वीय साहित्यमा पुनरुक्ति दोष भन्छन् नि । हो, हामी ’रिपिटेसन’मै अभिशप्त छौं । यहाँ सक्कल बमोजिम नक्कल पनि होइन, नक्कल बमोजिम नक्कल गरेर किताब लेख्छन् । यहाँका लेखक, प्रकाशक, पाठक, समीक्षक सबै अभिशप्त छन् । बजारको पछि लाग्ने छन्, बजारलाई पछि लगाउने चेतनाको लेखन छैन । हरियोपरियो छ । तर अग्ला रूख छैनन् । त्यसकारण पनि प्रश्नहरुको पुनरावृत्ति भएको होला । लेखकहरू नयाँ विषय दिँदैनन् भने प्रश्नहरू कसरी गर्ने ?
पत्रकार, समीक्षक त भइहाल्नुभयो । साथमा किताब सम्पादकको छवि पनि छ तपाईंको । तपाईं स्वयंले किताब सम्पादन गर्दा चाहिँ ती तिखा प्रश्नहरु कहाँ पुग्छन् ? जसकारण तपाईंले नै सम्पादन गरेका किताबहरु नै झुर हुन्छन् ।
यो प्रश्नमा दम छ । म त्यस्तो सिद्धहस्त सम्पादक होइन, जसले औसतमुनिको किताबलाई अब्बल दर्जा दिन सकोस् । छुनेबित्तिकै सुन बनाइदिने छु–मन्तर मसँग छैन । जादुगरी मसी पनि छैन । सम्पादकका रूपमा मेरा पनि सीमा छन् । न समयको स्वतन्त्रता छ, न त गतिलो पारितोषिक । मैले हेरिदिएको भरमा अब्बल किताब बन्ने भए त नेपाली साहित्य हराभरा भैहाल्थ्यो नि । मुख्य कुरा सम्पादनका लागि समय चाहिन्छ, समयबापतको पारिश्रमिक दिनुपर्छ भन्ने चेतना नै छैन । सम्पादन भनेको फगत कर्मकाण्ड हो भन्ने बुझाइ नै समस्या हो ।
तर, त्यस्ता किताब आउँदा ‘नछाप’ ‘अझै मिहिनेत गर’ भन्न सक्नुहुन्थ्यो होला नि त ?
मेरो विडम्बना के हो भने जो किताब हेरिदिए हुन्थ्यो भनेर मकहाँ आउँछन्, तिनलाई थाहै हुँदैन– म कस्तो आलोचक हुँ ? कस्तो समीक्षक हुँ ? मसम्म किताब आइपुग्दा ’म्याच फिक्सिङ’ भइसकेको हुन्छ । कभर बनिसकेको हुन्छ, भूमिका, विमोचन, वक्ता समेत ’कन्फर्म’ भइसकेको हुन्छ । अनि मैले कसरी ‘नछाप’ ‘अझै मिहिनेत गर’ भन्न सक्छु ? मेरो सुझाव उनीहरूलाई कामै लाग्दैन । मसँग सर्वाधिकार भए आफूले गरेका ९० प्रतिशत किताब छाप्न दिन्नथेँ, बरु वनमुद्दा लगाउँथेँ ।
अच्छा, हल्ला अनुसार बानियाँ बागबजारका केही प्रकाशकका कागजका थुप्रो नामक पुस्तकका सम्पादक हुन् । गसिप अनुसार ती प्रकाशकले नवआगन्तुक लेखकहरुलाई भन्ने एकै वाक्य हो, ‘बानियाँ जीले तपाईंको किताब हेरिरहनुभएको छ ।’ भित्रभित्रै यसरी बदनाम किनु हुनुपरेको ?
बागबजारमा बदनाम हुनलाई बानियाँको कुनै नाम छैन, सुनाम छैन । बरु तपाईंले त्यस्ता लेखक–प्रकाशक महोदयहरूलाई सोधिदिनु होला, बानियाँजीलाई कुन किताब हेराउनुभएको हो ? एक किताब बराबर कति भुक्तानी गर्नुभएको छ ? किताबमा बानियाँजीको नाम किन नराख्नुभएको ? बानियाँ कुनै सम्पादन मेसिन हो र सबैको किताब हेर्नलाई ? उसको पनि एक दिनमा चौबीस घन्टा नै हुन्छ ।
अन्त्यमा, यति लामो समय अक्षरभन्दा बाहिर जानुभएन । फर्केर हेर्दा अक्षरसँगको यात्रा कस्तो लाग्छ तपाईंलाई ?
अक्षरसँगको यात्रामा कसैसित कुनै गुनासो छैन । गुनासो छ भने आफैंसँग मात्र छ । मैले चाहेजस्तो काम गर्न सकेको छैन । गर्नुपर्ने थुप्रै काम बक्यौता छन् । कतिपयलाई मैले प्रशंसा गरिदिएको भए पनि हुन्थ्यो, बेवास्ता गरिदिएको भए पनि हुन्थ्यो । मैले चाहिँ पाठक भएर इमानदार प्रयास गरेँ । मेरो प्रयासलाई पाठकहरुले राम्रो माने ठीकै हो । नराम्रो माने पनि पूरै बेठिक होइन । तर, मलाई पाठकसँग एकदमै डर लाग्छ । म पाठकलाई अरुले जस्तो बेवास्ता गर्न सक्दिनँ ।
०००