सगरमाथा चुचुरोमा एमालेको झण्डा फहराउने शेर्पा सम्मानित
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पार्टीको झण्डा फहराउने ओङ्छु शेर्पालाई एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चले सम्मान गरेको छ ।
शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच एमाले वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले ताम्रपत्रसहित खादा लगाएर आरोही शेर्पालाई सम्मान गरे ।
भोजपुर साल्पासिलिछो गाउँपालिकाका शेर्पाले एमाले पार्टीको प्रतीक चिन्ह अंकित मञ्चको झण्डा गत वैशाख २९ मा सगरमाथाको चुचुरोमा फहराएको अध्यक्ष फुर्बातेन्जिङ शेर्पाले जानकारी दिए ।
कार्यक्रममा भर्खरै गठन गरिएको मञ्चका सल्लाहकार परिषदका अध्यक्ष सत्यराज राईलगायतका सदस्यलाई स्वागत गरिएको थियो । उक्त अवसरमा जिल्ला कमिटी भोजपुरका अध्यक्ष शरणकुमार राई र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरिबहादुर राईले स्थानीय चुनावको समीक्षा गर्दै आगामी रणनीतिबारे धारणा राखेका थिए ।
दोस्रो चरणमा पोलिटब्युरो सदस्य एवं स्कुल विभाग उपप्रमुक ईश्वरी रिजाल, स्थायी कमिटीका सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राई, संविधानसभा सदस्य एवं पूर्वमन्त्री कृपासुर शेर्पा र प्रदेश १ कमिटी सचिवालय सदस्य राजकुमार दंगालले समसामयिक राजनीति र पार्टीको भावी रणनीति सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
Congratulations bro