देशलाई घात गर्नेलाई देउवा-प्रचण्डले संरक्षण गरे : शंकर पोखरेल (भिडिओ)
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकारले जनतालाई भ्रष्टाचार तथा मुलुकमा राजनीतिक संकट दिएको बताएका छन् ।
आज मंहगीविरुद्ध एमालेले गरेको वृहत जनप्रदर्शनमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारले ११ महिनाको आवश्यकीय वस्तु खरिद गर्न सक्ने विदेशी मुद्राको सञ्चिति छोडेर गएकोमा अहिलेको साढे ३ खर्ब व्यापारमा घाटा पुर्याएको बताए ।
उनले भने, ‘सरकारमा रहेका ताका हामीले यो मुलुकमा ११ महिनासम्मका लागि वस्तु निक्षेप आयात गर्न सक्ने क्षमताको विदेशी मुद्राको सञ्चिति छोडेर गएका थियौँ । एक वर्षको अवधिमा यो गठबन्धन सरकारले विदेशी मुद्राको सञ्चितिलाई घटाएर ६ महिनाको मात्रै वस्तु र सेवा आयात गर्नसक्ने अवस्थामा झारेको छ ।’
त्यस्तै, उनले एमालेको सरकारले मूल्यवृद्धिलाई पनि नियन्त्रणमा राख्न सफल भएको बताए । उनले भने, हामी सरकारमा रहेका बेला मूल्यवृद्धिलाई नियन्त्रणमा राख्न सफल भएका थियौं । मूल्यवृद्धिदर ४ प्रतिशतभन्दा तल थियो । आज मूल्यवृद्धिदर बढेर ८.५६ प्रतिशतभन्दा माथि पुगेको कुरा म तपार्ईंहरुलाई जानकारी दिन चाहन्छु ।
पोखरेलले यो सरकारले मूल्यवृद्धि बढाएको, जनताको जीवन कष्टकर बनाएको आरोप लगाए ।
‘यो सरकारको गलत नीतिका कारण नै मुलुक आर्थिक संकटतर्फ गइरहेको छ’, उनले भने, ‘हामीले सरकार चलाइहेका बखत विकास र समृद्धिका नयाँ यात्रा थालनी गरेका थियौँ । पूर्वाधार विकासमा हामीले तीव्रता दिएका थियौँ ।’
त्यस्तै, उनले एमालेको सरकारले ४ वटा पूर्वपश्चिमका सडकलाई राष्ट्रिय गौरवको आयोजनामा रुपमा अगाडि बनाएको बताए । ७ वटा भारत र चीनलाई जोड्ने उत्तर दक्षिण करिडोर जोड्ने निर्माण प्रक्रिया अगडि बढाएको बताए । त्यस्तै, हवाई यातायातमा पनि क्रान्ति ल्याएको पोखरेलले बताए ।
उनले अन्य दुई वटा विमानस्थलका निर्माण अघि बढाउने कार्य एमाले सरकारले गरेको उल्लेख गरे ।
त्यस्तै विद्युत विकासमा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको पोखरेलले बताए । उनले भने, ‘विद्युत विकासका कुरामा भन्नुहुन्छ भने यो मुलुकले १०० वर्षमा जम्मा ७ सय मेगावाट बिजुली उत्पादन गरेको थियो । तर हामीले ४ वर्षको अवधिमा विद्युत विकासमा क्रान्ति ल्यायौं । एक वर्षको अवधिमा यो मुलुकमा एक हजार मेगावाट विद्युत नेशनल ग्रिडमा जोड्न सफल भयौं ।’
नेकपा एमालेको सरकारलाई हटाउनु भनेको जनताको विकास र समृद्धिको चाहनालाई समाप्त पार्ने षड्यन्त्र भएको पोखरेलले बताए । नेकपा एमालेको नेतृत्वको सरकारलाई हटाउनु भनेको जनताको विकास र समृद्धिको चाहनालाई समाप्त पार्ने षड्यन्त्र थियो भन्ने कुरा आज प्रमाणित भएको छ ।
त्यस्तै, महासचिव पोखरेलले सर्वोच्च अदालतको गलत फैसलाकै कारणले मुलुकमा राज्यका तीन अंगप्रति जनताको भरोसा र विश्वास टुटेको बताए ।
‘आज अदालत अदालत जस्तो छैन । अदालत सौदाबाजीको केन्द्र बनेको छ । न्याय बिक्री हुन थालेको छ । भ्रष्टाचार बढेको छ । जनताको आस्था र विश्वासको केन्द्रमाथि एक प्रकारले हस्तक्षेप गरिएको छ’, पोखरेलले भने, ‘आज संसद संसद जस्तो छैन । संसद जनताका विरुद्ध, राष्ट्रका विरुद्ध षड्यन्त्र गर्ने थलो बनेको छ ।’
त्यस्तै, पोखरेलले पारित गरेको संशोधित नागरिकता विधेयकका विषयमा पनि विरोध गरे ।
उनले अहिलेको संसद राष्ट्र र जनताको हितमा नभएको बताए । नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकताका लागि ७ वर्षसम्म पर्खिनुपर्ने उल्लेख गर्दै पोखरेलले भने, ‘भारतीय चेलीहरुले नेपालीसँग विवाह गरेर आउँदा विहे गरेकै बखतमा नागरिकता दिने खालको असन्तुलित प्रावधान संसदले पारित गरेको छ । यो संसद राष्ट्रको हितमा छैन । जनताको हितमा छैन । अब यो संसदलाई विघटन गरेर नयाँ चुनाव जानुपर्छ ।’
सरकार देश र जनताको हितमा नभएको उल्लेख गर्दै पोखरेलले सरकारले बजेटमा भएको अनाधिकृत व्यक्तिको संलग्नताबाट करको दर हेरफेर गरेकोबाट पनि यो सरकार देशको हितमा नभएको प्रमाणित गरेको बताए ।
उनले भने, ‘यो सरकार जनताको होइन । यो सरकार माफियाको सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’
त्यस्तै, उनले जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाइएकोप्रति लक्षित गर्दै पाेखरेलले भने, ‘आज यो सरकारले जनताको भविष्यमाथि खेलबाड गर्ने मन्त्रीलाई प्रमाण लुकाएर चोख्याएको दाबी गरिरहेको छ । शेरबहादुर देउवा र प्रचण्डका लागि जनार्दन शर्मा चोखिएका होलान्, जनताको नजरमा राष्ट्रको अपराधीका रुपमा, राष्ट्रको घातकका रुपमा जनताले चिनेका छन् ।’
उनले अघि थपे, ‘आज शेरबहादुर देउवा र पुष्पकमल प्रचण्डले जनतामाथि घात गर्नेहरुलाई संरक्षण गरेका छन् । अब तिनीहरुलाई सजाय दिनका लागि आउने चुनावमा हामीले उनीहरुलाई दण्डित गर्नेछौँ । सात दलीय गठबन्धन, पाँच दलीय गठबन्धन जे बनाएर आऊन्, उनीहरुलाई हामीले चुनावका मैदानमा पराजित गर्नेछौँ ।’
त्यस्तै, यो सरकारले अवैध च्यानललाई प्रोत्साहन गरेको पोखरेलले दाबी गरे । उनले भने, ‘अहिले पैसाको अभाव छ । किन अभाव छ त भन्दाखेरि कालो धनलाई सेतो बनाउने योजनाका साथ सरकार लागेकाे छ ।’
म्याडमको मुन्सीलाई फेरि ल्याए।