ओलीको दाबी– जब कांग्रेसको सरकार बन्छ, देश अप्ठ्यारोमा जान्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जब नेपाली कांग्रेस सरकारमा जान्छ तब देश अप्ठ्यारोमा पर्ने गरेको दाबी गरेका छन् ।
तुलसीलाल अमात्यको २५ औं स्मृति दिवसका अवसरमा आयोजित एक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन ।
‘नेपाली कांग्रेसको नेतृत्वमा जब सरकार बन्छ, देश अप्ठ्यारोमा जान्छ । यो जगजाहेर छ,’ उनले भने, ‘राणा शासनमा पनि कम्युनिष्टमाथि प्रतिबन्ध लागेको थिएन । तर, नेपाली कांग्रेसका मातृकाप्रसाद कोइराला हुँदा यस्ता कुकर्म गरे जो इतिहासले कहिल्यै बिर्सने छैन ।’
त्यसमध्येको एउटा कुकर्म २०१० साउन १७ गते भीमदत्त पन्त मार्नु रहेको उनले बताए । उनले भने, ‘एउटा देशभक्तको हत्या गर्न विदेशी सेना भित्र्याएर नेपाली कांग्रेस सजिलै छैन लाजसरम नै छैन ।’
यस्तै मातृकाकै पालामा नेपाली जलस्रोतको पहिलोपटक विदेश स्वार्थमा रहेर २०११ मा गण्डक सम्झौता भएको दाबी गरे । साथै २००८ साल माघमा उत्तरी सीमानामा दक्षिणको सीमानाको सैनिक लगेर १७ ठाउँमा सैनिक क्याम्प राखेर स्वाधीनताविरुद्ध काम गरेको पनि उनले बताए ।