चीन र अमेरिका बीचको बढ्दो तनावको कारण के हो ? – Nepal Press

चीन र अमेरिका बीचको बढ्दो तनावको कारण के हो ?

काठमाडौं । १५ नोभेम्बर २०२१ मा विश्वका दुई शक्तिशाली देश अमेरिका र चीनका राष्ट्रपतिद्वय जो बाइडेन र सी जिङ पिङ्ले पहिलो पटक आम्ने साम्ने रहेर ‘भर्चुअल’ वार्ता गरेका थिए ।

झण्डै तीन घण्टा लामो उक्त बर्ताको मुख्य लक्ष्य भनेको यी दुई देशबीच जारी प्रतिस्पर्धा तनाव वा झगडामा परिणत नहोस् भन्ने थियो । यद्यपि उक्त वार्ताको सात महिना बित्दा नबित्दै हाल यी दुई देशबीचको तनाव छताछुल्ल भएको छ भने विश्व समुदायले यी दुई देशबीच युद्ध नै सुरु हुनसक्ने सम्भावना रहेको समेत आकलन गर्न थालेका छन् ।

ताइवानमा अमेरिकाको बढ्दो चासो हाल अमेरिका र चीनबीचको तनावको मुख्य कारक तत्त्व बनेको हो । जसमा अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको विषयले आगोमा थप घ्यु थप्ने काम गरेको छ भन्न सकिने अवस्था छ ।

ताइवानलाई आफ्नो अभिन्न अङ्ग ठान्ने चीनले पेलोसीले यदि सो ठाउँको भ्रमण गरेमा कडा सैन्य प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ । यता पेलोसी व्यक्तिगत रूपमा नै चीनकी कटु आलोचकको रूपमा चिनिएकी व्यक्ती हुन् । चीनको उक्त प्रतिक्रिया पश्चात् अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार सी जिङ पिङसँग फोन वार्तालाप गरेको समेत अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विगत दुई वर्षमा यी दुई नेताहरूको बिच भएको यो ५ औँ कुराकानी मात्र हो । उक्त वार्तालापमा के कुराकानी भए भन्ने विषय अनधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन । यद्यपि उक्त वार्तालापमा ताइवानलाई लिएर दुई देश बिचको बढ्दो तनावको विषयमा कुराकानी भएको भन्ने सजिलै अनुमान लगाउन सकिने जानकारवालाहरुको भनाई छ ।

वर्तमान समयमा चीनले दक्षिण चाइना समुद्रमा आफ्नो सैन्य गतिविधिलाई बढाउँदै गएको छ भने अमेरिकाका युद्ध पोतहरूलाई समेत हटाउँदै गएको अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ । यस्तो अवस्थामा पेलोसीको सम्भावित ताइवान भ्रमणले दुई देश बिच थप तनाव उत्पन्न हुने पक्का पक्की छ ।

आज मात्र ताइवानको सीमा नजिकै अमेरिकाले युद्ध पोत पठाएसँगै चीनले पनि लडाकु जहाज र युद्ध पोतको संख्या बढाउँदै गएको बताइएको छ । सोमबार मात्र सिगांपुरको भ्रमणमा गएकी पेलोसी आज वा भोलिमा ताइवान पुग्न सक्ने सम्भावना रहेको बताइएको छ ।

अमेरिकाले उनको ताइवान भ्रमण बारे कुनै अनधिकारिक पुष्टि भने गरेको छैन भने हालको विवादको बिचमा पेलोसीले ताइवान भ्रमण गर्ने छैनन् भनेर पनि जनाएको छैन । पेलोसीले ताइवानको भ्रमण गर्ने मनसाय व्यक्त गरे पश्चात् जो बाइडेन र सी जिङ पिङ् बिच भएको कुराकानीमा सी जिङ पिङ्ले पेलोसीले उक्त भ्रमण गर्न नहुने जनाएका थिए जसमा बाइडेनले उक्त निर्णय पेलोसी आफैले गर्ने जवाफ फर्काएका थिए ।

अमेरिकाले पेलोसीको ताइवान भ्रमणलाई आफ्नो नीति अनुरूपको नियमित भ्रमण भन्दै आएको छ भने चीनले यसको खण्डन गर्दै आएको छ ।

‘हामी फेरि एक पटक अमेरिकालाई भन्न चाहन्छौँ कि चीन तयार भएर बसेको छ, चिनियाँ जनमुक्ति सेना चुप लागेर बस्ने छैन र चीनले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रभावकारी र शक्तिशाली जवाफ फर्काउनेछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएको छ ।

ताइवानलाई लिएर चीन र अमेरिका बिचको बढ्दो तनाव वास्तवमा नै युद्धमा परिणत होला वा नहोला ? पेलोसीले ताइवानको भ्रमण गर्लिन वा नगर्लिन यी प्रश्नहरूको उत्तर अहिलेको अवस्थामा प्राप्त गर्न नसकिए ता पनि वर्तमान घटनाक्रमहरूलाई मध्यनजर गर्दा विश्वकै शक्तिशाली राष्ट्र बन्ने होडमा लागेका दुई देश बिच जारी शीत युद्धका प्रारूपहरू भने प्रस्ट देखिन सक्ने अवस्था रहेको छ ।

 (स यसअघि हेडलाइन अन्यथा परेका संचाइएकाे छ ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर