भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै – Nepal Press

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै

काठमाडौं । भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू अब छिट्टै जापान जान पाउने भएका छन् । बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसएसडब्ल्यू प्रणाली मार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

सो अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो । नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।

मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा। थानेश्वर भुसाल सदस्य रहेका छन् । त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री श्री चोसुमो नाकागावाज्यूको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ ।

बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत् छलफल गरी मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ । उक्त विषयमा विस्तृत विवरण भोलिको बैठकपछि दिइने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर