ताइवानमा चिनियाँ क्षेप्यास्त्र प्रहारप्रति जापानको आपत्ति
काठमाडौं । चीनले ताइवानको टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ। अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरे लगत्तै व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको हो ।
चीनले ताइवानको उत्तर-पूर्वी र दक्षिण-पश्चिम तटहरू वरपरको पानीमा ११ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ताइवानले जनाएको छ।
चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ। जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।
जापानले पाँचवटा चिनियाँ क्षेप्यास्त्र पनि आफ्नो जलक्षेत्रमा खसेको र अभ्यासलाई ‘तत्काल रोक्नू’ भनेको छ।
चीनले अमेरिकी सदनकी सभामुख श्रीमती पेलोसीको भ्रमणलाई ताइवानमाथिको सार्वभौमसत्ताको दाबीलाई चुनौतीको रूपमा हेरेको छ। बिबिसीका अनुसार चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।
केही दिन अघि अमेरिकी सभामुख पलोसीले चीनको चेतावनीको बाबजुत ताइवान भ्रमण गरेकी थिइन् ।
-एजेन्सी