स्पोर्टस ‘ब्रा’ मा गरिएको सेलिब्रेशनले उदाएको नारीबादको बहस
काठमाडौं । फुटबल इतिहासमा पुरुष खेलाडीहरूले जर्सी खोलेर गरिने ‘ सेलिब्रेशन’ सामान्य जस्तै छ । उक्त सेलिब्रेशनलाई सामान्य रूपमा नै लिने गरिएको छ, अझ भनौँ सामान्य रूपमा नै पचाइन्छ ।
खेल त्यही हो ‘सेलिब्रेशन’ गर्ने शैली पनि त्यही तर सेलिब्रेट गर्ने पात्र महिला हुँदा हाम्रो समाजले त्यो कुरालाई सजिलै स्वीकार गर्न सक्दैन । यसको ज्वलन्त उदाहरण बनेकी छन्, क्लोइ केली ।
कुरा गत हप्ता सम्पन्न महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलको हो । जर्मनी र इङ्गल्यान्ड फाइनलमा प्रतिस्पर्धा गर्दै थिए । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पुगेसँगै खेल निकै रोमाञ्चक बनेको थियो ।
सर्वाधिक आठ पटक महिला युरोको उपाधि जितिसकेको जर्मनीलाई आफ्नो लेगेसीलाई निरन्तरता दिनुपर्ने दबाब थियो भने घरेलु मैदान र झन्डै एक लाख दर्शको अगाडि पहिलो युरो उपाधि जित्नुपर्ने भोक इङ्गल्यान्ड महिला टिममा पनि थियो । त्यही भोक मेट्न अतिरिक्त समयमा केलीले गरेको गोलमा इङ्गल्यान्ड च्याम्पियन बन्यो । सन् १९६६ देखि उपाधिविहीन रहेको इङ्गल्यान्डका लागि महिला टिमले प्राप्त गरेको सो सफलता इङ्लिस फुटबल इतिहासमा अविस्मरणीय उपलब्धि थियो ।
इङ्गल्यान्डको नाममा इतिहास रच्न सफल केली आफ्नो खुसी व्यक्त गर्न मैदानमा जर्सी खोलेर हात हल्लाउँदै ‘स्पोर्टस ब्रा’ मा दौडिइन् । खेल जित्नु पछाडिको अथक प्रयासलाई बुझ्नेहरूका लागि त्यो क्षण वास्तव मै कर्णप्रिय हुने गर्छ ।
तर खेल सकिएको केही बेरमा उनको त्यो सेलिब्रेसनको फोटो र भिडियो सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्यममा भाइरल भयो । फोटो भाइरल भएसँगै सुरु भयो नारिलाई वस्तुइकरण गर्ने उछृङ्खल कमेन्टका चरणवद्ध शृङखलाहरु । यस सँगसँगै सुरु भयो वर्षौँ पुरानो लैङ्गिक समानता र नारीवादको बहस पनि ।
जहाँ एक थरी मानिसहरू केलीको अथक परिश्रमलाई नजरअन्दाज गर्दै फगत स्पोर्टस ब्रा र उनको वक्षस्थलको बहसमा अल्झिरहेका थिए । केही यस्तो जमात पनि थियो जसले ती सङ्कीर्ण सोच भएका पितृसत्तात्मक जत्थाहरूलाई प्रश्न गरी रहेका थिए, आखिर स्पोर्टस ब्राको सेलिब्रेसनमा उनले त्यस्तो के देखाइन जुन तिनका आँखाले देख्न सकेन र तिम्रो चेतना स्तरले सजिलै पचाउन सकेन ?
केलीले जसरी सेलिब्रेसन गरिन् त्यसले आगामी पुस्तालाई प्रेरित गर्ने पूर्व खेलाडी तथा वरिष्ठ स्पोट्स कमेन्टेटर लुसि वार्डको भनाई छ । ‘केलीले स्पोर्टस ब्रा मा गरेको सेलिब्रेसन अत्यन्तै सान्दर्भिक छ । महिलाको शरीर फगत देखाउनका लागि वा सम्भोगका लागि मात्रै हैन । यो चित्रले महिला शक्ति र क्षमतालाई उजागर गरेको छ,’ उनले भनेकी छन् ।
यसै गरी साइक्लिस्ट फ्लोकीले केलीले गरेको गोल सेलिब्रेसन दशकको नारीवाद झल्काउने चित्र भएको सामाजिक सञ्जालमा लेखेकी छिन् ।
यसो त नारीवादका विषयहरूमा पश्चिमा मुलुकहरूले आफूलाई अग्रगामी मुलुकको रूपमा स्थापित गराउने प्रयासहरू धेरै पहिलेदेखि गर्दै आएका छन् । यस्तो अवस्थामा गत हप्ता केलीले फुकालेको जर्सीसँगै पश्चिमा मुलुकको लैङ्गिक समानता र नारीवादसँग सम्बन्धित ढोङ पनि छताछुल्ल भएको छ ।
यसो भनिरहँदा केलीको यस किसिमको सेलिब्रेसन खेल इतिहासमा पहिलो भनेर भन्न सकिने अवस्था भने छैन । यसअघि सन् १९९९को विश्वकप फाइनलमा पेनाल्टीमा गोल गरेपछि अमेरिकी खेलाडी ब्रान्डी क्रिस्चियनले पनि यसरी नै जर्सी फुकालेर स्पोर्टस ‘ब्रा’ मा सेलिब्रेट गरेकी थिइन् । संयोग भनौँ या विडम्बना आज भन्दा दुई दशक अगाडि ब्रान्डी क्रिस्चियनको सेलिब्रेसनलाई पनि विवादमा तानिएको थियो, प्रश्न उठाइएको थियो ।
सन् १९९९ देखि २०२३ सम्म आई पुग्दा अनगिन्ती फुटबलका खेलहरू भए हजारौँ गोलहरू भए र कम्तीमा पनि सयौं पुरुष खेलाडीहरूले जर्सी फुकालेर सेलिब्रेसन गरे होलान् । तर उनीहरू कहिल्यै विवादमा तानिएनन् । किन यसरी सेलिब्रेट गरियो भनेर उनीहरूमा प्रश्न उठाइएन । तर, माथि उल्लेखित यी दुई महिलाहरू माथि भने हजारौँ प्रश्नहरू किन खडा गरियो ?
नारीको आत्मसम्मान खुशी लाई स्वीकार्न नसक्ने नस्लबादी सोंच हो यो बिरोध , जो संग यो बाहेक अरु खुसिनै छैन