मीन विश्वकर्मा भन्छन्- प्रधानन्यायाधीशमाथि महाभियोग संसद् अवरोध, बजेट र निर्वाचनका कारण विलम्ब भयो – Nepal Press

मीन विश्वकर्मा भन्छन्- प्रधानन्यायाधीशमाथि महाभियोग संसद् अवरोध, बजेट र निर्वाचनका कारण विलम्ब भयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग ढिलाइ भएको आफूलाई पनि लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन ।

‘विलम्ब भयो, हामी कहाँ गुनासो यही छ । विलम्ब भएको हामीलाई पनि लागेको छ,’ उनले भने, ‘विलम्बको कारण के हो ? नौ महिनासम्म संसद् अवरोध भयो, त्यसपछि लगत्तै बजेट आयो, त्यसपछि चुनावमा जानुपर्‍यो । सहमति खोजौँ भन्ने प्रयास गर्‍यौ । त्यही प्रयासबाट महाभियोग प्रस्ताव सिफारिस गठन गर्न सफल भयौँ ।’

सिफारिस समितिबाट सिफारिस गरेर महाभियोग पारित गर्न उनले आग्रह गरे । ‘विकृति विसंगतिको चाङमा उभिएका प्रधानन्यायाधीश निलम्बन भएको छ । अब सिफारिस समितिले उपयुक्त सिफारिस गरेर महाभियोग पारित गरियोस्,’ उनले भने ।

प्रधानन्यायाधीश जबराले आफ्नो पदअनुसार आचरण नगरेको, कार्यसम्पादन गर्न नसकेको, विवादित र अन्यायपूर्ण फैसला गरेको बिचौलियाको प्रयोग गरेर अन्यायपूर्ण गरेको जस्ता विषय संसद्ले नै पहिले नउठाएको सांसद विश्वकर्माले बताए ।

उनले भने, ‘सडकबाट उठाएर अधिवक्ताहरू, कानुनविद्हरू कानुन व्यवसायहरू, त्यति मात्र होइन स्वयम न्यायाधीशहरू पनि सबै तहका न्यायाधीश, पूर्व प्रधानन्यायाधीश समेत रहेका व्यक्ति र त्यसबाट प्रभावित आम नागरिक पनि यो मुद्दा उठाएका हुन ।’

महाभियोगको विरोध गर्नेहरूलाई डेढ वर्षअगाडिका दृश्यहरू स्मरण गर्न पनि उनले सुझाए । ‘झट्ट डेढ डेढ वर्षअगाडि सम्झौँ त । सडकमा वकिलहरू कालोकोट लाएर आन्दोलन गरिरहेका थिए पक्ष÷विपक्षमा लाप्पा खेलिरहेका थिए,’ उनले भने,‘त्यसमा आवाज उठ्ने गर्थ्यो, राजनीतिक दल खोइ, नेताहरू खोइ, सांसदहरू खोइ, संसद् खोइ, सभामुख खोइ, मानिसहरू न्याय पाउन नसकेर अलमलिरहेका थिए । न्याय माग्न जानेहरू बाटैबाट फर्किन्थे ।’

त्यति बेला राम शाह पथमा कोही पनि मुद्दा बोकेका वकिलहरू होस वा न्याय माग्न जाने नागरिकहरू प्रवेश गर्न नसक्ने अवस्था रहेको पनि सांसद विश्वकर्माले बताए । ‘त्यो कहालीलाग्दो अवस्थामा मलाई लाग्छ हामी सत्तापक्ष र प्रतिपक्षमा विभक्त थिएनौँ,’ उनले भने ।

कांग्रेस प्रतिपक्षमा हुँदा पनि यो विषयमा गम्भीर रहेको र सत्तामा हुँदा पनि उस्तै रहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “मीन विश्वकर्मा भन्छन्- प्रधानन्यायाधीशमाथि महाभियोग संसद् अवरोध, बजेट र निर्वाचनका कारण विलम्ब भयो

  1. महाअभियोग पास गर्न हिम्मत नभएका त नपुंसक भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर