साग विजेता संगीतालाई ओलम्पिकको तलतल (भिडिओसहित) – Nepal Press

साग विजेता संगीतालाई ओलम्पिकको तलतल (भिडिओसहित)

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को माहोल, घरेलु दर्शकसँगै पहिलो स्वर्ण जित्ने उत्साह । नेपालमै आयोजना भएको १३औं सागको चौथो दिन सातदोबाटोस्थित तेक्वान्दो कोर्ट स्वर्णको आशामा थियो । उक्त आशालाई मूर्त रुप दिने जिम्मेवारी थियो संगीता बस्यालको काँधमा ।

सागको ६२ केजीमुनि तौल समूहको खेलमा संगीताले भारतीय खेलाडी गगनजोत गिललाई १९-८ को नतिजामा हराउँदै स्वर्ण जितिन् । आफ्नो खेल जीवनमा नेपालका लागि जितेको पहिलो स्वर्ण उनका लागि विशेष थियो नै, त्यसमाथि भारतीय खेलाडीलाई हराउँदाको आत्मसन्तुष्टि बेग्लै ।

नेपालका लागि धेरै खेलमा उपाधि जित्न बाधक बन्ने गरेको भारतसँग फाइनलमा भिड्दाको मनोदशा कस्तो हुन्छ ?

संगीता भन्छिन्, ‘नेपालले भारतलाई जित्नै सक्दैन भन्ने सोच हामीमा छ । यस्तो लघुताभाष हटाउनुपर्छ भन्ने मेरो मनमा थियो । अन्तिम खेल भारतसँगै पर्दा अलिकति डर त लागेको थियो । तर पनि आत्मविश्वासको कमी भने थिएन । जसरी पनि हराउँछु भन्ने अठोट लिएकी थिएँ ।’

पहिलो चरण खेलेपछि संगीता अग्रता लिन सफल भइन् । त्यो अग्रता अन्तिमसम्म कायम राखिन् । जीत हात लाग्यो ।

फाइनल जित्दाको क्षण उनी यसरी वर्णन गर्छिन्-
‘त्यो क्षण म हर्षको आँसुमा डुबेकी थिएँ । मैले जितेको थाहा छ । तर, मेरो आँखाबाट कतिबेला आँसु झर्‍यो थाहा भएन । मेरो जीवनमा राष्ट्रका लागि जितेको पहिलो स्वर्ण थियो त्यो । त्यो क्षण बयान गर्न शब्दहरु कम हुन्छन् ।’

०००

नेपालमा तेक्वान्दो खेलाडी प्रायः सबै कराँतेको पृष्ठभूमिबाट आएका हुन्छन् । संगीता पनि अपवाद छैनन् । उनले कराँतेबाटै यात्रा प्रारम्भ गरिन् ।

स्कुल आउँदा-जाँदा बाटोमा होहल्ला सुनेर कौतुहलवस उनी बहिनीसँग बुझ्न गएकी थिइन् । त्यहाँ कराँते खेल भइरहेको थियो । उनलाई पनि खेलुँ खेलुँ लाग्यो ।

परिवारको आर्थिक अवस्था सवल नभएकाले पैसा तिरेर सिक्ने क्षमता उनको थिएन । एक महिना सित्तैमा सिक्ने मौका पाइन् । कराँते सिक्दै जाँदा तेक्वान्दोको बारेमा पनि थाहा पाइन् ।

‘मैले त्यही बुझें के तेक्वान्दो र के कराँते भनेर । त्यही नै मेरो तेक्वान्दो यात्रा सुरु भएको हो’, संगीताले भनिन् ।

नेपालको सन्दर्भमा महिला खेलाडीहरुले पुरुषका तुलनामा धेरै किसिमका समस्या र चुनौतीहरु फेस गर्नुपर्ने हुन्छ । संगीता त्यति भाग्यमानी पनि थिइनन्, जसलाई परिवारले खेल क्षेत्रमा हौसला दिऊन् । तर, परिवारको साथ नहुँदा-नहुँदै पनि उनी तेक्वान्दोमा होमिइन् । लुकिछिपी खेल्ने गर्थिन् । बुवा–आमाले गाली गरे पनि हजुरआमाबाट भने उनले हौसला पाएकी थिइन् । आफू यो स्थानमा आइपुग्नुको ठूलो श्रेय हजुरआमालाई दिन्छिन् संगीता । तर, उनकी हजुरआमा आज यस संसारमा छैनन् ।

‘मैले खेल्दाको फी हजुरआमाले नै तिरिदिनुहुन्थ्यो । उहाँकै प्रेरणाले म अगाडि बढ्दै गएँ’, संगीताले थपिन् ।

चितवनमा जन्मिएर सानै उमेरमा काठमाडौं आएकी संगीताले बाफलको काठमाडौं डोजाङबाट आफ्नो तेक्वान्दो यात्रा सुरु गरिन् । काठमाडौं डोजाङबाट ससाना प्रतियोगिता खेलेपछि विभागीय टीम एपीएफबाट छैठौं राष्ट्रिय खेलकुदमा सहभागी भइन् । त्यही नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

छैटौं खेलकुदमा उनले पहिलो राष्ट्रिय स्वर्ण जितिन् । त्यो स्वर्णसँगै संगीताको करिअरमा स्वर्णीम यात्रा सुरु भयो । त्यसपछि उनले सन् २०१८ को एसियन गेम्स पनि खेलिन् । राष्ट्रिय खेलकुदमा ह्याट्रिक गरिसकेकी उनी अब सागमा पनि ह्याट्रिक गर्न चाहन्छिन् ।

आगामी वर्ष चीनमा आयोजना हुने एसियन गेम्सका लागि झन्डै एक वर्ष बाँकी छ । नवौं राष्ट्रिय खेलकुद नजिकिँदैछ । अहिले संगीता एसियन गेम्स सँगसँगै नवौं राष्ट्रिय खेलकुदको तयारीमा लागिरहेकी छिन् ।

एसियन गेम्सका लागि पहिलोे चरणको छनोट भइसके पनि आगामी दिनमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरुले पनि अवसर पाउने बताइएको छ । जसले गर्दा राष्ट्रिय खेलकुदमा राम्रो प्रदर्शन गर्न दबाब बढेको संगीता बताउँछिन् ।

‘एसियन गेम्सभन्दा पनि नवौं राष्ट्रिय खेलकुदका लागि जोडतोडले तयारी चलिरहेको छ । एसियन गेम्सका लागि नवौंबाट पनि खेलाडी छनोट गरिने भएकाले दिनदिनै नयाँ खेलाडीहरु आइरहेका छन् । उनीहरुले स्थान लिने पनि सम्भावना हुन्छ । त्यसैले छनोट हुन दबाब नै छ’, उनले थपिन् ।

०००

हरेक खेलाडीलाई आफूले खेल्ने खेल नै प्यारो लाग्छ । ख्यालख्यालमै खेलाडी बनेकी संगीतालाई पनि तेक्वान्दो अति प्रिय छ । आज उनले पाएको सफलता सबै तेक्वान्दोकै कारणले सम्भव भएको हो । नेपालमा सबैभन्दा धेरै मेडल ल्याउने खेल भएको हिसाबले पनि उनलाई तेक्वान्दो खेलाडी हुनुमा छुट्टै गर्व छ ।

‘मलाई खेल के हो भन्ने नै थाहा थिएन । खेल्दै गएपछि ख्यालख्यालमै खेलाडी बनेँ । म आज जे छु तेक्वान्दोले गर्दा छु । अरु खेल पनि राम्रा छन् । तर, म सुरुमा आफ्नै खेललाई प्राथमिकता दिन्छु’, यसो भनिरहँदा संगीताको मुहारमा आत्मसन्तुष्टिको मुस्कान छचल्किइरहेको थियो ।

अहिलेको समयमा देशमा सम्भावना नदेखेर धेरै खेलाडी विदेश पलायन हुने गरेका छन् । उनीहरुको गुनासो भनेकै नेपालमा सेवा-सुविधा राम्रो नहुने र समयमा खेल गतिविधिहरु नहुने भन्ने छ । संगीतालाई पनि नेपालमा खेलाडीको भविष्य अन्योलमै छ जस्तो लाग्छ ।

‘अरु देशमा खेलाडीहरुले पाउने सेवा-सुविधा धेरै राम्रो छ । यहाँ भनेको मेडल जितेको केही समयमात्र खेलाडी चिनिन्छ । त्यसपछि खेलाडीको भविष्य नै अन्योल हुन्छ’, उनी भन्छिन् ।

नेपालमा खेलाडी विदेश पलायन हुने समस्या एकातिर छ भने अर्कोतिर खेलिरहेका खेलाडीलाई पनि यहाँको व्यवस्थापन, नातावाद, कृपावाद जस्ता कुराले दिक्क बनाउँछ । संगीताको जीवनमा पनि यस्तो दिक्दारी नआएको होइन । तर, उनले धैर्यपूर्वक कडा मेहनत जारी राखिन् र आफू के हो भनेर प्रमाणित गरिदिइन् ।

‘मलाई खेल्न छोड्दिम् जस्तो लागेका क्षणहरु धेरै छन् । पहिला कतिपय खेलहरुको छनोटमा मेरो हाइटले गर्दा मैले खेल्न पाइनँ । कतिपय खेलमा छनोट जितेर पनि खेल्न पाइनँ । सबैले हाइटलाई देखाउनुभयो । त्यस्तो बेलामा तेक्वान्दो नै नखेलौं कि जस्तो लागेको थियो’, संगीताले विगत स्मरण गरिन् ।

त्यसपछि उनले सबैसँग सरसल्लाह गरिन् । सिनियर खेलाडी, साथीभाइ तथा घरपरिवारले उनलाई खेल नत्याग्न सल्लाह दिए । ‘मेहनत खेर फाल्नुहुँदैन । एकदिन तेरो पनि पालो आउँछ’ भनेर सबैले सम्झाएपछि उनको मन बदलियो । अन्ततः कडा मेहनत गरेर सन् २०१८ को एसियन गेम्समा छनोट भइन् । साग खेलिन् । सागमा स्वर्ण जितेर आफ्नो हाइटमाथि प्रश्न उठाउनेहरुको मुख बन्द गराउन सफल भइन् ।

तेक्वान्दोमा ४४ केजी तौल समूहबाट खेल्न सुरु गरेकी संगीताले लगभग सबै तौल समूहबाट खेलिसकेकी छिन् । तर, उनको अहिलेको उत्कृष्ट भनेको ६२ केजी लाइट वेट हो । संगीता सधैं ठूलो सपना देख्छिन् । सागको स्वर्णले मात्र उनी सन्तोष मानेर बसेकी छैनन् । उनका लक्ष्यहरु अझै धेरै छन् ।

संगीताको सपना साग, एसियन गेम्सभन्दा पनि माथि छ । उनी ओलम्पिकमा पदक जितेर नेपालको नाम राख्न चाहन्छिन् । ओलम्पिक स्वर्ण विजेता बन्ने सपना छ उनको ।

‘साग, एसियन गेम्स, राष्ट्रिय खेलकुद सबैमा स्वर्ण ल्याउने लक्ष्य हरेक खेलाडीको हुन्छ । मेरो पनि लक्ष्य त्यही हो । तर, योभन्दा माथि मेरो सपना ओलम्पिकसम्म छ । मेरो तेक्वान्दो करिअरको सपना भनेकै ओलम्पिकमा स्वर्ण ल्याउने हो’, उनी भन्छिन् ।

ओलम्पिकमा स्वर्ण जित्नु भनेको कुनै केटाकेटी खेल होइन भन्ने उनलाई थाहा छ । तर, एउटा खेलाडीलाई यति सपना देख्ने हक पनि त छ ।

तेक्वान्दोमा नियमहरु परिवर्तन भइराख्छन् । नेपालमा ती सबै कुरामा अपडेटेड प्रशिक्षकको भने अभाव छ । त्यसैले अरु देश नयाँ-नयाँ नियममा चलिसक्दा पनि नेपाली खेलाडी पुरानै नियममा बाँधिएर प्रशिक्षण लिनुपर्ने अवस्था छ । यसले नतिजामा पनि असर गर्ने गरेको संगीताले महसुस गरेकी छिन् ।

‘भएका प्रशिक्षकहरुलाई नयाँ नियमका बारेमा चाँडो अपडेट गराएर प्रशिक्षण दिन लगाइए धेरै राम्रो हुन्थ्यो । साथै, खेलाडीहरुको सेवा-सुविधा पनि राम्रो भए हुन्थ्यो । खेलिसकेपछि खेलाडीको जीवन के त भन्ने प्रश्नको जवाफ पनि हामीलाई चाहिन्छ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *