एम्बुलेन्सको ठक्करबाट छोरीको घर आएकी आमाको मृत्यु
हेटौंडा । मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको हो ।
मनहरी गाउँपालिका- ९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
संखुवासभाबाट मनहरीस्थित छोरीको घर आएकी ५२ वर्षीया नमुना शेर्पालाई एम्बुलेन्सले ठक्कर दिएको प्रवक्ता कार्कीले जानकारी दिए ।
ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ । शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।