अनशनस्थलमा ‘कुमारी आमा’ र बच्चाको बेहाल, अधिकारवादीको आँखा परेन (भिडिओ)
निहारिका भन्छिन् – ‘जयनारी’ भन्नेहरुले मलाई युज एन्ड थ्रो गरे
काठमाडौं । बिहीबार मध्यान्न वसन्तपुर दरवार स्क्वायर पुग्दा टन्टलापुर घाम लागेको थियो । त्यहाँको खुल्ला डबलीबीच एउटा टेन्टले छोपिएको सानो छाप्रोजस्तो देखियो । भित्र चियाउँदा कोही थिएन ।
नजिकै एउटा मन्दिरमा आड लागेर झोक्राइरहेकी थिइन् एक युवती । कलेटी परेका ओठ, उजाड आँखा, विरक्त अनुहार । ६ दिनदेखि आमरण अनशनमा रहेकी ‘कुमारी आमा’ निहारिका राजपूत अत्यन्तै दयनीय अवस्थामा भेटिइन् ।
‘बच्चा खोइ त ?’ हामीले उनलाई सोध्यौं । उनले हातको ईशाराले मन्दिरभित्र देखाइन् ।
सो मन्दिरमा पर्यटक प्रहरीको विट पनि रहेको छ । हामी भित्र पस्दा दुई प्रहरीहरु ड्यूटीमा थिए । भित्र एउटा कुनामा निहारिकाको दुई वर्षीय छोरालाई सुताइएको थियो ।
‘भर्खर निदाएको हो, रोएको रोयै थियो,’ बच्चा रुँघिरहेकी महिला प्रहरीले सुनाइन् । उनले आफ्नो तस्वीर नखिच्न आग्रह गरिन् ।
६ दिनदेखि मुखमा अन्नपानी नहालेकी निहारिका निकै कमजोर बनिसकेकी छन् । आफ्नो बच्चा स्याहार्न सक्ने उनको अवस्था छैन । सुरुमा उनको बच्चा हेरिदिन एक सहयोगी महिला आएकी थिइन् । तर, उनी दुई दिन मात्रै टिक्न सकिन् । त्यसपछि बच्चालाई प्रहरीले रेखदेख गरिरहेका छन् ।
‘बच्चालाई खुवाउने कुरा पनि केही हुँदैन, सुत्ने ठाउँ पनि त्यस्तो विजोक छ,’ महिला प्रहरीले सुनाइन्, ‘महिलावादी, मानवअधिकारवादी भन्नेहरुले पनि देख्दैन रहेछन् ।’
हुन पनि साह्रै कष्टकर अवस्था देखियो । हिजोसम्म निहारिका आफ्नो बच्चालाई लिएर खुल्ला आकाशमा सुतिरहेकी थिइन् ।
ओछ्यानका नाममा एउटा कालो म्याट र त्यसमाथि तन्न ओछ्याइएको छ । ओढ्नका लागि एउटा पातलो ब्ल्यांकेट छ ।
हिजो एकजना साथीले टेन्ट लिएर आए । तर, त्यसमा आमा–छोरा अटाउनै मुस्किल पर्छ । गुफाजस्तो टेन्टभित्र सुत्दा सास फेर्न पनि राम्ररी नसकिने निहारिकाले बताइन् । हिजो रातभरि उनको छोरालाई हनहनी ज्वरो आएको थियो ।
‘आज पनि रोएको रोएै छ, मैले बोकेर दुध खुवाउन पनि सक्दिनँ,’ उनले भनिन् ।
निहारिकालाई हिजो स्वास्थ्य जाँचका लागि वीर अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकहरुले उनलाई तुरुन्त स्लाइन पानी दिनुपर्ने बताए । तर, निहारिकाले आफू स्लाइन लिएर नबस्ने अडान लिइन् । चिकित्सकहरुको केही जोर चलेन । निहारिकालाई फेरि अनशनस्थलमा फर्काइयो ।
‘म स्लाइनको सहारामा आफ्नो ज्यान बचाउन चाहन्न,’ उनले भनिन्, ‘मलाई अर्को गंगामाया बन्नु छैन । म न्याय पाएपछि मात्र यहाँबाट उठ्छु, नत्र यहीँ मर्छु ।’
निहारिका आमरण अनशन बसेको यो दोस्रोपटक हो । उनी गत जेठमा पहिलोपटक अनशन बसेकी थिइन् । सरकारी पक्षले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले ८ दिनपछि अनशन तोडेकी थिइन् । तर, सरकारले आफूसँग गरेको ५ बुँदे सम्झौता कुनै पनि कार्यान्वन नभएपछि उनी फेरि अनशन बसेकी हुन् । यसपाली उनी उधारो सम्झौता नगर्ने पक्षमा छिन् । आरोपीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गराउनुपर्ने उनका न्यूनतम माग हुन् । यी मागहरु पूरा भएपछि मात्रै आफू अनशन तोड्ने निहारिकाले बताए ।
‘केही उपाय लागेन भने म राष्ट्रपति निवास अगाडि गएर आत्मदाह गर्छु,’ उनले दबेको आवाजमा भनिन् ।
निहारिकाको अघिल्लो अनशनमा धेरैले साथ दिएका थिए । तर, यसपालि उनी नितान्त एक्ली छिन् । आफूलाई अधिकारवादी भन्नेहरुले युज एन्ड थ्रो गरेको उनको आरोप छ ।
‘हिजो जयनारी भन्दै मलाई बेच्नेहरु आज कहाँ छन् ?’ निहारिकाले प्रश्न गरिन् । अनि आफैं जवाफ दिइन्, ‘अपराधीसँगै मिलेका छन् ।’
उनको आक्रोश महिलावादी अभियन्ता सावित्री सुबेदीतर्फ लक्षित थियो । निहारिका यसअघि अनशन बस्दा सावित्रीले विभिन्न मिडियाहरुलाई अन्तरवार्ता दिँदै निहारिकाको पक्षमा आफू लडिरहने बताएकी थिइन् ।
तर, अहिले उनको नाकमुख देखिएको छैन । यसबीचमा उनले आरोपीका परिवारलाई भेटेर मिलेमतो गरेको उनको आरोप छ ।
निहारिकाको अनशनलाई अहिलेसम्म मानवअधिकार आयोग र महिला आयोगले गम्भीर चासो दिएका छैनन् । अहिलेसम्म ती निकायबाट कोही पनि आफूलाई भेट्न नआएको र फोन पनि नगरेको उनले बताइन् । गृह मन्त्रालयबाट भने केही कर्मचारीहरु आएका थिए । उनीहरुले पाँच लाख रुपैयाँ राहत दिने अफर गरेका छन् । तर, निहारिका आफूलाई पैसा होइन न्याय चाहिएको बताउँछिन् ।
‘म पैसाको बार्गेनिङ गर्नका लागि यसरी ज्यानको माया मारेर बसेको छैन,’ उनले भनिन्, ‘न्याय पाउनका लागि लडिरहेको छु । उनीहरु मेरो मागप्रति अझै गम्भीर छैनन् ।’
गृह मन्त्रालयका अधिकारीहरुले आरोपी फरार भएकाले पक्राउ गर्न नसकिएको बताएका छन् । चाँडै उनलाई पक्राउ गरिने र डिएनए टेस्ट पनि गरिने प्रतिवद्धता उनीहरुको छ । तर, यसअघि गरिएको सम्झौता कार्यान्वयन नभएकाले निहारिकाले उनीहरुको भनाइमा विश्वस्त छैनन् । माग पूरा भएपछि मात्रै अनशनबाट उठ्ने उनको अडान छ ।
उनले थपिन्, ‘म आफ्नो लागि मात्रै लडिरहेको छैन । भोलि अरु निहारिकाहरुले पनि यस्तो अन्याय भोग्नु नपरोस, अपराधीहरु खुल्ला हिँड्न नपाउन् भनेर मैले यो संघर्ष थालेको हुँ । मलाई पैसाको लालच छैन । केवल न्याय चाहिएको छ ।’