नाबालक छोराछोरीसहित आमाको शव : बलात्कृत श्रीमतीलाई ‘टर्चर’ दिइरहन्थे श्रीमान्
कैलाली । बलात्कृत श्रीमतीलाई न्याय दिलाउन लाग्नु पर्ने श्रीमान् नै चरित्रमाथि प्रश्न उठाउन थालेपछि बझाङमा एक परिवार नै सखाप भएको छ ।
बुधबार बझाङको बुंगल नगरपालिका-९ रारुमा एकै घरका ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहितसहित आमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती महिलामाथि निरन्तर ‘टर्चर’ हुने गरेको खुलेको छ । श्रीमान् घरमा नभएको बेला एक वर्षअघि साउन १९ मा ती महिलामाथि बलात्कार भएको प्रहरीले बताएको छ ।
राति मदिराले लट्ठ भएका स्थानीय झलक नेपालीले महिलालाई बलात्कार गरेका थिए । नेपाली अहिले पुर्पक्षका लागि बझाङ कारागारमा छन् ।
तर, उक्त घटनापछि श्रीमान्ले हेला गर्न थालेपछि न्याय माग्दै ती महिला प्रहरीकहाँ पुगेको आफन्तले बताएका छन् । ‘पटक-पटक श्रीमतीको चरित्रमाथि माथि औँला उठाउँदै पुष्करले यातना दिने गरेका थिए’, ती आफन्तले भने ।
गत मंगलबार घर फर्किएका पुष्करले पुन: त्यही कुरा निकालेपछि उनीहरूबीच विवाद भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।
विवाद भएपछि आफू खाना खाएर सुतेको र बिहान घरमा छोराछोरी र श्रीमती नदेखेपछि खोज्दै जाँदा सबै मृत फेला पारेको पुष्करले प्रहरीलाई बयान दिएका छन् । राति खाना खाएर सुतेको र बिहानमात्रै श्रीमती र छोराछोरी घरमा नभएको थाहा पाएको उनको दाबी छ ।
मृतकका माइती पक्षले भने श्रीमान्ले नै आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।
‘अहिले मृतकका श्रीमान् पक्राउ परिसकेका छन्, यस विषयमा थप अनुसन्धान भइरहेको छ । माइती पक्षले उनीविरुद्ध आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएका छन् ’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्सपेक्टर रमेश अवस्थी भने ।