जनैको आयात रोक्न स्वदेशी उत्पादनको अभियानमा लागेका बुद्धिप्रसाद – Nepal Press

जनैको आयात रोक्न स्वदेशी उत्पादनको अभियानमा लागेका बुद्धिप्रसाद

रुपन्देही । स्वदेशी जनै उद्योगबाट करोडौंको आयात रोक्ने अभियानमा लागेका छन् बुटवलमा बुद्धिप्रसाद । आधुनिकता र पश्चिमा शैलीको अनुसरण गर्दै अगाडि बढिरहेको हाम्रो समाजमा बैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् शर्मा ।

बैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त बन्धन लगाएतका सामग्री उत्पादन गरेर नेपाल र बिदेशमा समेत बजार प्रबद्र्धन गर्न सफल शर्माले बार्षिक ३० लाखसम्म आम्दानी हुने गरेका उनको भनाइ छ ।

२०५७ सालदेखि बैदिक जनै र शास्त्रीय धागो उत्पादन गर्न थालेका शर्माले वार्षिक करिब १ करोडको जनै धागोको कारोबार हुने नेपालमा ८० प्रतिशत बजार भाग आफूले स्थापना गरेको राधा जनैधागो उद्योगले ओगट्न सफल भएको बताउँछन् ।

शर्माका अनुसार बिगतमा भारतबाट आयात हुने करोडौं रुपैयाँको जनै धागोलाई बिस्थापित गरी नेपाली जनै धागो उत्पादनमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ बुटवल ४ स्थित राम मन्दिरलाइनमा राधा धागो उद्योग स्थापना भएको हो ।

भारतबाट आउने जनै र रक्षाबन्धनका साथै नेपाली बजारमा समेत उत्पादन गरिने कतिपय नक्कली जनै र रक्षाबन्धनलाई समेत बिस्थापन गर्ने उद्देश्यले बुटवलमा शास्त्रिय र बैदिक जनै धागो उद्योग स्थापना गरिएको शर्माको भनाइ छ ।

यसबाट स्वदेशमै पवित्र जनै धागो उत्पादन हुने, रोजगारीको अवसर समेत सिर्जना हुने भएकोले आफू अग्रसर भएको बताउदै शर्माले हाल ४० जनालाई पूर्णकालीन र झण्डै ४ सय जनालाई अल्पकालीन रोजगारी प्रदान गर्न सफल भएको बताउँछन् ।

शर्मा भन्छन,‘विगतमा बर्षेनि करोडौं रुपैयाँको जनै, रक्षाबन्धन लगाएतका धागोजन्य सामग्रीहरु भारतबाट आयात हुने गरेकोमा हाल बुटवलमा उत्पादित बैदिक जनै तथा पवित्र धागोहरु नेपालका अधिकांश स्थानमा पुगेका छन् । स्वदेशमै बिधिवत बैद्धिक एवं शास्त्रीय जनै उत्पादन हुन थालेपछि एकातर्फ बर्षेनि भारत जाने करोडौं रुपैयाँ नेपालमै रोकिएको छ भने यसरी बनाइएको जनै तथा रक्षाबन्धन मिसावटरहित र पवित्र पनि हुन्छ ।’

शर्माका अनुसार नेपालमै उत्पादन गरेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जनै, रक्षाबन्धन, लक्षबत्ती र अन्य पवित्र धागोहरु आपूर्ति गर्ने गरिएको छ । करिब ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको राधा धागो उद्योगले यसवर्ष जनै पुर्णिमाको अवसरमा ३० लाखभन्दा बढीको जनै, रक्षाबन्धन लगाएतका शास्त्रीय र बैदिक सामग्री उत्पादन गरी बिक्री बितरण गरेको छ ।

कोभिड संक्रमण र महामारीका कारण जनै धागो ब्यबसाय पनि प्रभावित भएकोले गतवर्ष भन्दा यो बर्ष कारोबार कम भएको शर्माको भनाई छ । २०७६ मा ३० लाखको कारोबार भएकोमा ०७७ मा २६ लाख र ०७८ मा जम्मा २० लाख तथ ०७९मा कारोबार बढेको शर्माले बताए ।

सो उद्योगले जनै उत्पादनमा आत्मनिर्भर बनाउनुका साथै भारतीय जनैको आयात कम गर्न ठूलो सहयोग गरेको स्थानीय जनै धागो व्यापारी छविलाल पन्थी वताउछन् । उनी भन्छन् —पहिले जनै तथा रक्षाबन्धन लगाएतका पुजा सामग्रीका रुपमा प्रयोग हुने धागोहरु भारतबाट आउने गर्दथ्यो । अहिले झण्डै ८० देखि ९० प्रतिशत बजार नेपाली उत्पादनले नै धानेको छ ।

जनै, सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तुदेवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश्वर र जगत्जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिने शास्त्रीय र वैद्धिक जनैका सम्पादनकर्ता समेत रहेका शर्माले बताए । पछिल्लो समय नक्कली जनैको बिगबिगीले बजारमा असर परेको भन्दै बुटवल, भैरहवा, पाल्पा, गुल्मी, अर्घाखाँची लगायत नेपालका बिभिन्न भागमा आफ्नो उद्योगले बैद्धिक उत्पादन पठाउने गरेको अर्का ब्यबसायी झन्कार पाण्डे बताउँछन् ।

हाल पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्र नभई भारत, बंगलादेश, अमेरिका, जर्मन लगाएतका देशमा समेत राधा जनैधागो उद्योगमा उत्पादित सामग्रीहरु पुग्ने गरेको पाण्डेको भनाई छ । भारतबाट नेपालमा आयात हुने जनैधागो लगाएतका पुजा सामग्रीहरु समेत उत्पादन गरी नेपाललाई बैदिक जनै, शास्त्रीय रक्षाबन्धन, लक्षबत्र्तीलगाएतका बिभिन्न पुजा सामग्रीमा समेत आत्मनिर्भर बनाउने लक्ष्य रहेको पाण्डे बताउँछन् । नेपालमै उत्पादन गर्न सकिने यस्ता साना साना उद्योगमा ध्यान पुराउन नसक्दा भारत तथा चीनमा धेरै रकम जाने गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *