निर्वाचन २०७९ : गृहसचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन
काठमाडौं । आज गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा रणनीति र चुनौतीबारे छलफल भएको छ ।
निर्वाचनको व्यवस्थापन, तयारी, सुरक्षा योजना र जनशक्ति परिचालनबारे बैठकमा छलफल भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बैठकले गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ पनि बनाएको छ । त्यस्तै मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ र उनकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाउने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै प्रदेश र जिल्लास्तरमा पनि कमाण्ड पोष्ट तथा निर्वाचन सेल बनाउने बनाइने साथै आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकता अनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय गरेको छ ।
बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक बसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव बसन्त भट्टराईलगायत सहभागी थिए ।