गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गर्दैछ : पदम गिरी
काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदम गिरीले सत्ता गठबन्धनले विवादित नागरिकता विधेयक जारी गरेर देश डुबाउने खेल गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पास गर्न नहुने बताए ।
‘गठबन्धनभन्दा ठूलो देश हो, जनता हुन् । गठबन्धन दलले देश डुबाउने काम नगरुन्’, उनले भने, ‘राष्ट्रपतिले ८ बुँदामा छलफल गर्न पठाएको नागरिकता विधेयक फेरि जस्ताको त्यस्तै पठाउने तयारी भएको छ । यो एकदमै गलत हुँदैछ ।’
राष्ट्रपतिले विवादित नागरिकता विधेयक फिर्ता पठाउनु एकदमै राम्रो काम भएको बताउँदै सांसद गिरीले राष्ट्रपतिले छलफल गर्न आवश्यक भनेका ८ बुँदामा कुरै नगरी सत्ता गठबन्धनले जस्ताको त्यस्तै पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताए ।