हर्क साम्पाङको असहिष्णु अभिव्यक्ति : बालेन साहले संघर्ष गर्‍या छ र ? हावामा र्‍याप गाएर आको मान्छे (भिडिओ) – Nepal Press

हर्क साम्पाङको असहिष्णु अभिव्यक्ति : बालेन साहले संघर्ष गर्‍या छ र ? हावामा र्‍याप गाएर आको मान्छे (भिडिओ)

‘उहाँ अलि सामाजिक जस्तो पनि लागेन, केके-केके लेख्नुहुन्छ’

काठमाडौं । चार दिन काठमाडौं बसेर धरान फर्केदेखि मेयर हर्क साम्पाङ काठमाडौंका मेयर बालेन्द्र साहविरुद्ध सामाजिक सञ्जालमार्फत जेहाद छेडिरहेका छन् । फेसबुकमा एकोहोरो स्टाटस लेखिरहेका उनले हिजो धरानका युट्युबरसँग पनि बालेनप्रति तिक्तता ओकेले ।

मेयर साम्पाङ स्थानीय सर्दुखोलामा खानेपानीको मुहान अवलोकन पुगेका थिए । त्यहाँ क्यामरा बोकेर पुगेका केही युट्युबरले उनीसँग भलाकुसारी गरे । उनलाई सुरुमा काठमाडौं पुग्दा कस्तो महसुस भयो भनेर सोधिएको थियो ।

साम्पाङले जवाफ दिए, ‘धरानमा भन्दा मेरा समर्थक काठमाडौंमा रैछन् जस्तो लाग्यो । नजिकको मान्छेलाई त्यति वास्ता पनि हुन्न ।’

उनले आफूलाई तारासँग तुलना गर्दै भने, ‘बत्ती र स्टारमा के फरक छ भन्नुस् त ? स्टार टाढा हुने भएकाले त्यसको महत्व धेरै हुन्छ ।’

त्यसपछि युट्युबरले बालेनसँगको वाकयुद्धको प्रसंग कोट्याए । मेयर साम्पाङ जवाफ दिनबाट पन्छिएनन् ।

उनले भने, ‘मैले उहाँलाई यसो चलाइदेको मात्रै हो । बसिराख्नुभाको रैछ, उठौं भनेर ।’

युट्युबरः बालेनलाई किन भेट्नुभएन त ?

साम्पाङः बालेन साहसँग भेट्न आवश्यकता के पर्छ र मेरो ? न ऊ प्रदेशको रिप्रेजेन्ट गर्ने, न संघको । उहाँ मेयर, म पनि मेयर । उहाँ ठूलो महानगरपालिकाको सुविधासम्पन्न र स्रोतसाधन सम्पन्न मेयर । म भनेको यस्तै पाखाभित्ताको मेयर ।’

युट्युबरः तैपनि साथीको हिसाबले भेट्न सकिन्थ्यो नि ?

साम्पाङः हामी साथी कहाँ हो र ? स्वतन्त्र-स्वतन्त्र, लौरो-लौरो भनेरमात्रै भनेको हो । अहिलेसम्म मैले एउटा म्यासेज लेख्या छैन उहाँलाई ।’

युट्युबरः बालेनले त मेरो लौरो चुनाव चिन्ह लिएर जितेको जस्तो कुरा गर्नुभएको छ नि ?’

साम्पाङः त्यो भ्रममा नबस्दा पनि हुन्छ । बालेन साहले संघर्ष गर्‍या छ र ? हावामा र्‍याप गाएर आको मान्छे । त्यो खालको कुरा गर्यो भने…. । उहाँको फाल्टै लोकप्रियता थियो, उहाँले जित्नुभयो । मेरो फाल्टै लोकप्रियता थियो, मैले जितें । जोडेर हेर्नुपर्ने आवश्यकता छैन । एउटा म्यासेज गरेको छैन उहाँ र मैले । एउटै हो कि भन्ने भ्रम यसपालि प्रस्ट भयो होइन ? उहाँसँग भेट्ने प्लान पनि थिएन मेरो । अलि सोसल पनि हो जस्तो लागेन मलाई त । केके-केके लेख्नुहुन्छ । श्रमदान गर्नुपर्‍यो भनेको ५ केजी खोइ के-के भनिराख्नुभाथ्यो । काम गरेर देखाउनु नि ! बालेनजीलाई यहाँबाट भन्छु, एउटा चैं काम गरेर देखाउनु अनि बालेनसँग कुरा गर्न पाउनुहोला । यतिमात्रै भनौं ।’

यति भनेर उनी हिँड्छन् । तर, हिँड्दाहिँड्दै बालेनलाई गाली गर्दै एक्लै भुत्भुताउँछन् । ‘के गर्‍या छ त ? फोहोर सोहोरेर देखाए हुन्थ्यो नि ! मैले यहाँ ६ लाख विरुवा रोपिसकेँ ।’

पछाडिबाट युट्युबरले सोध्छन्, ‘फोहोर त धरानमा पनि छ नि हैन ?’

साम्पाङ भन्छन्, ‘छैन । नचाहिने कुरा उठाएर हुन्छ ? बाटोमा देखाउनु नि ! पाँच मिनेटमा उठाउँछु । कहाँ छ फोहोर ?’


प्रतिक्रिया

One thought on “हर्क साम्पाङको असहिष्णु अभिव्यक्ति : बालेन साहले संघर्ष गर्‍या छ र ? हावामा र्‍याप गाएर आको मान्छे (भिडिओ)

  1. यो अन्तरवार्ता मैले पनि हेरे मलाइ चाहि सहि बोलेको जस्तो लाग्यो हर्क साङपाङले वास्तवमै सहि र संघर्षसिल मान्छे जस्तो अव चै लाग्दै आयो हो मलाइ त । विचारमा पनि परिपक्वता छ र काममा पनि र काम प्रतिको लगाव पनि हचुवापनको छैन । एउटा खारिएको नेताजस्तो छ उनको शैली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर