चुनाव केन्द्रित ‘टीम प्रचण्ड’– विशेष महाधिवेशनसम्मको अस्थायी प्रबन्ध – Nepal Press

चुनाव केन्द्रित ‘टीम प्रचण्ड’– विशेष महाधिवेशनसम्मको अस्थायी प्रबन्ध

काठमाडौं । महाधिवेशन सम्पन्न भएको करिब ८ महिनापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २० जना पदाधिकारी प्रस्ताव गर्दा स्थायी कमिटी बैठकले ताली बजाएर अनुमोदन गर्‍यो । प्रचण्डलाई यसअघि नै महासचिव लगायत मुख्य पदका आकांक्षी नेताहरुले जसको नाम प्रस्ताव गरे पनि मान्ने वचन दिइसकेका थिए ।

पार्टीभित्र नेताहरुलाई लडाए, जुधाएर र अन्तिममा सबैको साझा नेताका रुपमा सबैको व्यवस्थापन गरेर ३५ वर्षदेखि निर्विकल्प नेतृत्व गर्दै आएका प्रचण्डले यसपटक पनि आफूलाई अप्ठेरो पर्ने कामबाट सहज पार पाएका छन् । महासचिव पदका प्रमुख दाबेदार वर्षमान पुन र जनार्दन शर्मामध्ये एक छान्नु उनका लागि सहज थिएन, त्यसैले उनले सहज विकल्पमा रुपमा देव गुरुङ निकाले ।

पार्टीमा जनयुद्धकालीन वरिष्ठता र शान्ति प्रक्रियापछिको एकीकरणका धाराहरुसमेत समेटेर उनले २० जना पदाधिकारी छाने । यसो गर्दा वरिष्ठताका आधारमा नारायणकाजी दोस्रो वरियतासहित वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा एकल उपाध्यक्ष भए । उपाध्यक्षमा अरु नेताहरु व्यवस्थापन गर्नुभन्दा उनले महासचिव र उपाध्यक्षका दाबेदारहरुलाई उपमहासचिवमा सेटल गरे ।

यसबीचमा उनले हरिबोल गजुरेल र पम्फा भुसालमध्ये एकजनालाई महासचिव बनाउने योजना पनि सुनाएका थिए । तर एकाएक पछिल्लो पटक उनले महरापछिको वरियतासहित देव गुरुङलाई छाने । यद्यपी वरिष्ठताकै आधारमा हो भने गुरुङभन्दा हरिबोल सिनियर हुन् । उपमहासचिव राखिएकोमा उनी सन्तुष्ट छैनन् ।

महासचिवको दावी गरेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिरामणी पोखरेल, शक्ति बस्नेत, पम्फा भुसाल, मात्रिका यादव जस्ता नेता उपमहापसचिवमा समेटिँदा स्थायी कमिटीका सिनियर सदस्यबाट छानेर ९ जना सचिव बनाइएको छ ।

सचिवमा उमेर तथा राजनीतिक जीवनका हिसाबले समेत अवकाश भइसकेका दिनानाथ शर्माजस्ता पाका नेतासमेत समेटेर प्रचण्डले ९ जनाको नाम पेश गरेका थिए । चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीलाई सचिव बनाइएको छ ।

कोषाध्यक्ष पदमा भने लो प्रोफाइलका नेता श्रीराम ढकाल चयन भएका छन् । उनी लामो समयदेखि कार्यलय सचिव थिए । चाँडै नै पार्टीको विधान महाधिवेशन आयोजना गर्ने भएकाले अहिलेको पदाधिकारी टिम तदर्थ प्रकारको रहेको पाध्यक्ष कृष्णवहादुर महराले बताए । उनले चुनावलाई केन्द्रित गरेर अस्थायी प्रबन्ध गरिएको बताए ।

प्रचण्डले चलाखीपूर्वक पेश गरेको पदाधिकारी सूचीमा शान्ति प्रक्रियापछि पार्टी एकतामा जोडिएका तत्कालीन एकता केन्द्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणी पोखरेल र लिलामणी पोखरेललाई समेटेका छन् । त्यस्तै, नेकपा मसालबाट जोडिएका डिलाराम आचार्य पनि सचिवमा समेटिएका छन् ।

नेकपा संयुक्तबाट पार्टी एकतामा जोडिएका गणेश साह समेत पदाधिकारीमा समेटिँदा जनयुद्धकालीन पृष्ठभूमिका नेताहरुले बाँकी जिम्मेवारी पाएका छन् । नेता व्यवस्थापनका नाममा आउटडेटेड व्यक्तिको भारीभर्कम पदाधिकारी बनाउँदा क्षमतावान युवा पुस्ता छुटेको टिप्पणी भइरहेको छ ।

त्यस्तै २१ सदस्यीय पदाधिकारीमा दलितको प्रतिनिधित्व छैन भने महिला एकजनामात्र छन् ।

माओवादीले बनाएको यो पदाधिकारी टिमलाई चुनाव केन्द्रित भनिएको छ । त्यसैले यो बैठकले सबैको चित्त बुझाउन खोज्दा सोही बमोजिमका नेताको व्यवस्थापन गरिएको छ । बैठकले भदौ ७ गतेसम्म गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउने अनुमान गर्दै त्यसपछि सातै प्रदेशमा सन्देशमूलक भेला तथा प्रशिक्षण सन्चालन गर्ने निर्णय समेत गरेको छ । सोही बैठकले १२५ सदस्यीय पोलिटव्युरो र ४१ सदस्यीय स्थायी कमिटीको टुंगो लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर