देश किन बनेन ?
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मिति घोषणा गरेसँगै सिङ्गो मुलुक निर्वाचनतर्फ होमिएको छ । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन आफैंमा जनताको अधिकार हो । तैपनि निर्वाचनको मुख्य उद्देश्य र औचित्य के भन्ने कुराको विषयमा यथेष्ठ छलफल नहुँदा निर्वाचन पनि कर्मकाण्डीमात्र बन्न पुगेको विगतले देखाउँछ । यसैले यो निर्वाचन पनि विगतको निरन्तरताभन्दा फरक नहोला ।
विश्व मानचित्रमा नेपाल सार्वभौमसत्ता, अखण्डता र स्वाभीमान मुलुकको नाममा दर्ज छ । नेपाल न विगतमा कसैको अधिनस्थ बन्यो न त कसैको गुलाम । यति धेरै स्वाभीमानी मुलुक अहिले किन कसैको परनिर्भरतामा अगाडि बढ्दैछ ? देश किन आत्मनिर्भर बन्न सकेन ? यसको सूक्ष्म अध्ययन हुन सकेन भने देश अझै परनिर्भरतातर्फ अगाडि बढ्ने र देशमा आर्थिक, समाजिक, जातीय, भाषिक, द्वन्द्व जन्मने खतरा प्रवल छ । यही अँध्यारो भविष्यउन्मुख देशको राजनीतिमा अबको निर्वाचन कोसेढुङ्गा सावित हुनुपर्दछ । जब देशमा नै आर्थिक र भौतिक संकट आइपर्दछ, कुनै व्यक्ति विशेष सम्पन्नताको नाममा उकासिन सक्दैन ।
मुलुकमा राणाशासन, राजतन्त्रको अन्त्य हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा नेपाल आर्थिक, सामाजिक र वैचारिक रुपमा किन कमजोर हुँदै गयो ? यसको समीक्षा आजैबाट सुरु गर्नुपर्दछ । मानव जातिको सबैभन्दा अमूल्य चीज भनेको स्वार्थ रहेछ । यही स्वार्थको बीचमा रुमल्लिएको नेपालको राजनीति यसभन्दा अलग हुन सकेन र सक्दैन । सामान्य सोच र चेतनाले स्वार्थको जरो उखेल्न सकिँदैन । नेपालको राजनीतिमा भएको यही हो । नेपालका राजनीतिक दल र नेताहरु यही धर्तीका अंश हुन्, जुन स्वार्थकेन्द्रित छन् ।
यही विषय चिर्न नसक्दा नै नेपाल पछाडि परेको एकमात्र सत्य हो । यही स्वार्थभित्र पर्ने विभिन्न आयामहरु अवसरवाद, नातावाद, कृपावाद, गुलामी, समर्थक, परनिर्भरता, अनुकूलता, प्रतिकूलता गासिएको हुन्छ । यही गञ्जागोलभित्रको आयाममा अहिले देश फसेको छ । देश साध्य हो, अरु सबै साधन हुन् भन्ने सत्यसमेत नबुझ्नेहरु नेपालको राजनीतिको शीर्ष तहमा विराजमान छन् । यी सबै गुण, अवगुणहरु नेपालमा मात्र हैन, विश्वभर व्याप्त छन् । फरक यति हो कि विश्वका अन्य देशहरुमा यो सबै चिर्नसक्ने नेता, राजनेता छन् भने नेपालमा छैनन् । फरक यति हो । स्वार्थलाई आफूभन्दा बाहिर राख्नेहरु सफल हुन्छन् अरु असफल । नेपालमा भएको यही हो ।
जीतको मुख्य उद्देश्य के ? यसको विगतको निर्मम समीक्षा अबको कार्यभार बन्नुपर्दछ । हिजोसम्मको राजनीतिले नेपाललाई कहाँ पुर्यायो र भोलिको दिनमा के गर्ने भन्ने कुराको समीक्षाविनाको निर्वाचनले देशलाई आर्थिक मन्दीतर्फ उन्मुखमात्र बनाउँछ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भए पनि विगतको निर्वाचन, नेता र जीतको गहिरो समीक्षाविना यो निर्वाचन पनि कर्मकाण्डी सिवाय अरु बन्न सक्दैन ।
भौगोलिक, सामाजिक, सांस्कृतिक रुपमा विश्वमा सबैभन्दा अब्बल नेपाल अहिले परनिर्भरताको अन्तिम विन्दुमा पुगेको छ । भौगोलिक बनावट होस् कि उत्पादनमा नेपाल अब्बल मुलुक हो । यति धेरै सर्वसम्पन्नता मुलुकमा अहिले दैनिक खाने अन्न केही दिन विदेशबाट आयात नहुने हो भने हाहाकार हुन्छ । यति धेरै परनिर्भरता र पराश्रित हुन हामीलाई नेताले पुर्यायो कि हामी आफैं त्यहाँ पुग्यौं भन्ने कुराको निर्मम समीक्षा अबको पहिलो प्राथमिकता हुनुपर्दछ । नेता सत्ता र स्वार्थका लागि जनता प्रयोग गर्ने सामान्य धर्म नै हो । यही कर्मभित्र नेताको दिनचर्या बित्छ । तर, जनता ? जनता नेताको गुलामीमा अभ्यस्त । भएको यही हो । यहीभित्र परनिर्भरताको चर्को अंश भेटिन्छ ।
व्यवस्था परिवर्तन भयो । तर, जनताको जीवनस्तर परिवर्तन भएन । देश विकास भएन । यसमा नेतालाई दोष दिने र गाली गर्ने प्रचलन हावी भइरहँदा यसको कारक हामी हौं भन्ने हेक्का हामीलाई भएन । जबसम्म सिंगो देश र जनतालाई उत्पादन र कर्मसँग जोड्न सकिँदैन तबसम्म देश झन झन परनिर्भर हुनेमा कुनै शंका छैन । यसका लागि नेता हैन, जनता नै संवेदनशील हुन जरुरी छ । किनकि प्रयोगमा नै जीवनका सफलता सोच्नेहरु हामीभित्र असंख्य छन् । त्यसको अंश हामीमा व्याप्त छ । जब मानिसहरु कर्ममा भन्दा भाग्यमा विश्वास गर्दछ, हुने यही हो । जब व्यक्ति भाग्यमा आशक्त हुन्छन्, त्यहीबाट गुलामी मानसिकता हावी हुन्छ । जब गुलामी मानसिकता व्याप्त हुन्छस परनिर्भरता बढ्दै जानेछ । अहिले हामीमा भएको यही हो ।
देश सिंगापुर, अमेरिका बनाउँछु भने त्यो नेताहरुको स्वार्थ हो । किनकि जनतालाई बहकाएर सत्तामा पुग्ने उनीहरुको एउटै ध्येय हो । त्यो ध्येय प्राप्त गर्न नेताहरु किन्ने, बिक्ने, झुक्ने र भुक्ने सबै गर्दछन् । क्षणिक सत्ता र स्वार्थ पूर्ति गर्न देश नै बन्धक राख्नेहरुको बोलवाला बढेको मुख्य कारक नै हामी जनता हौं । यसको जिम्मेवारी हामी सबैले लिनुपर्छ । जबसम्म जनता कर्मशील, उत्पादनशील र चेतनशील हुँदैनन्, अझै लामो समयसम्म नेताले सिंगापुर र अमेरिका बनाइदिने, पुर्याइदिने आश्वासनमा राजनीति गरिरहन्छन् ।
जीवन आफैंमा सृष्टिको निरन्तरता हो । यसमा राजनीति मुख्य कारक बन्न सक्दैन । राजनीति जनताका जीवनस्तर उकास्न हुनुपर्छ । तर, राजनीति व्यक्ति केन्द्रित बनिदियो । त्यसमा हामी जनता कारक बनिदियौं । जीवनभित्रको यो सन्दर्भमा जनताको जनजीविकासँग केन्द्रित गतिविधि नै मुख्य विषय बन्नुपर्दथ्यो । नेपालमा कार्यकर्ता धेरै जनता नै नभएको सन्दर्भमा नेताहरु हिसाबकिताबमा व्यस्त छन् । कार्यकर्ताको यही कमजोरीको फाइदामा नेताहरु नाचिरहेका छन् । कहिले कुन राजनैतिक पार्टीमा त कहिले कुनमा ।
जीवन के र केका लागि भन्नेसम्म चेत नहुनेहरुको भीडमा लाग्दा जनता र देशप्रतिको धोकामा हामी पनि अंशियार बनिरहेका छौं । जब कर्ममा विश्वास हुन्छ, जनता स्वनिर्भर बन्छन्, नेताहरु स्वयं जनताको घरमा आइपुग्छन् । अब यो गुलामी मानसिकता त्याग्नुपर्ने वेला आएको छ । विनाकर्मको जीवनयापन क्षणिकतामा टुङ्गिन्छ र जीवन नै बोझ बन्छ । जब जीवन बोझ बन्छ, देश नै लगँडो बन्छ ।
अवसरवादको पनि निश्चित सीमा हुन्छ । तर, अवसरवाद नै लजाउने गरी गरिएको पार्टी फेरबदल र जनता भेंडा नै हुन् भन्ने नेताहरुको मानसिकता भत्काउने वेला आएको छ । जबसम्म जनता स्वाभीमानी र कर्मठ बन्न सक्दैनन्, तबसम्म नेताले जनता भड्काउने काममा जीवनको अन्तिम साससम्म लागिरहेको हुन्छ । देश र जनताको नाममा नेता र कार्यकर्ताले धेरैले धेरै कमाइसके, अब देशमात्र बेच्न बाँकी छ । जीवन के र केका लागि भन्नेसम्म चेत नहुनेहरुको भीडमा लाग्दा जनता र देशप्रतिको धोकामा हामी पनि अंशियार बनिरहेका छौं ।
निर्वाचनको मुख्य उद्देश्य के हो ? राजनैतिक दलको मुख्य उद्देश्य के ? जीतको मुख्य उद्देश्य के ? यसको विगतको निर्मम समीक्षा अबको कार्यभार बन्नुपर्दछ । हिजोसम्मको राजनीतिले नेपाललाई कहाँ पुर्यायो र भोलिको दिनमा के गर्ने भन्ने कुराको समीक्षाविनाको निर्वाचनले देशलाई आर्थिक मन्दीतर्फ उन्मुखमात्र बनाउँछ । निर्वाचन लोकतन्त्रको मेरुदण्ड भए तापनि विगतको निर्वाचन, नेता र जीतको गहिरो समीक्षाविना यो निर्वाचन पनि कर्मकाण्डी सिवाय अरु बन्नेछैन ।
जब कर्ममा विश्वास हुन्छ, जनता स्वनिर्भर बन्छन्, नेताहरु स्वयं जनताको घरमा आइपुग्दछन् । अब यो गुलामी मानसिकता त्याग्नुपर्ने वेला आएको छ । विनाकर्मको जीवनयापन क्षणिकतामा टुङ्गिन्छ र जीवन नै बोझ बन्छ । जब जीवन बोझ बन्छ, देश नै लगंडो बन्छ । अतः देश र जनताको साँच्चै परिवर्तन चाहने हो भने नेता होइन, पहिला जनता सच्चिन जरुरी छ । निर्वाचन त एउटा जीवनको साधनमात्र हो, साध्य होइन ।
निर्वाचन, निर्वाचन, यो अमूर्तताभित्र केही दिनको रमझम गर्ने सोच भएकाहरुले निर्वाचनको गरिमा नै दूषित बनाए । जबसम्म जनता चेतनशील हुँदैनन् जबसम्म जति निर्वाचन भए पनि देशको परिवर्तन हुन सक्दैन । यो अमूर्तताभित्र जीवन परिवर्तन खोज्नेहरु समाजका धमिराहरु हुन् ।