मकवानपुरमा खोला तर्ने क्रममा तीन महिलालाई बगाउँदा एकको मृत्यु, एक बेपत्ता
हेटौँडा । पश्चिम मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको कैलाश गाउँपालिकामा खोला तर्ने क्रममा तीन जना महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् । एक जना भने खोलाबाट निस्कन सफल भएकी छन् ।
कैलाश गाउँपालिकाको वडा नंबर १० स्थित धाँदरबाट नाम्सेदुङ जाने क्रममा मनहरी खोला तर्ने क्रममा विमला सुनार, माइलीमाया रुम्बा र सन्तमाया प्रजालाई खोलाले बगाएको थियो । बगाएकोमध्ये सुनार पौडीएर निस्कन सफल भएकी छन् भने प्रजाको शव भेटिएको छ । खोलाले बगाएकी रुम्बा भने अझै बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीको अनुसार रुम्बाको खोजी कार्य जारी रहेको छ ।
खोला तर्ने क्रममा एक्कासी आएको बाढीको कारण उनीहरुलाई बगाएको स्थानीयहरुको भनाई छ । कैलाशमा प्रत्येक वर्ष मनहरी खोलाले बगाएर दर्जन बढिको ज्यान जाने गरेको छ । विकट गाउँपालिकामा अझै पनि नागरिकहरु ज्यान जोखिममा राखेर खोलाको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।