नेपाली क्रिकेट टोली केन्या प्रस्थान, क्यानले गर्यो बिदाइ (भिडिओ)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
सोमबार काठमाडौंमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् । नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ ।
५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । नेपाल र केन्याबीच सुरुवातमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ ।
राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् । विदाई कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टीममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए । उनले प्रतियोगीताका लागी राम्रो तयारी भएको र नजिता पनि राम्रो आउने विश्वास व्यक्त गरे ।
त्यस्तै, क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ उर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए । उनले यो सिरिजमा राम्रो अपेक्षा गरेको बताए ।
त्यस्तै, क्यान अध्यक्ष चन्दले नेपाली टोलीलाई थप अनुभव हासिल गर्न केन्या भ्रमण महत्वपूर्ण हुने बताए । सिरिजका लागि नेपालले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको थियो ।