वन एक्स बेट खेलाएको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ, एउटै व्यक्तिसँग २४४ सिम कार्ड
काठमाडौं । अनलाइन गेम वन एक्स बेट खेलाएको आरोपमा झापाका दुई जना कन्सल्टेन्सी सञ्चालकसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमकस्थित पद्मा कन्सल्टेन्सीका सञ्चालकहरू २५ वर्षीय सत प्रकाश शाह र २७ वर्षीय राजु श्रेष्ठ छन् । यस्तै दमकमा फोटो स्टुडियो चलाउने ३० वर्षीय अरुण कार्की र ब्रिटिश आर्मी ट्रेनिङ सेन्टरका सञ्चालक ३३ वर्षीय राजु लिम्बु रहेका छन् ।
प्रहरीले शाहको साथबाट २ सय ४४ थान एनसेल सिम कार्ड, श्रेष्ठको साथबाट प्रयोगमा ल्याइएका ३५ थान एनसेल सिम कार्ड र प्रयोगमा नल्याइएका ४५ थान एनसेल सिम कार्ड बरामद गरेको छ ।
उनीहरूले कन्सल्टेन्सीमा पढ्न आउने विद्यार्थीले राखेको नागरिकताबाट सिम कार्ड निकालेर ई सेवा खोली वन एक्स बेटको कारोबार गर्ने गरेको प्रहरीको दाबी छ।