खुवालुङ: सामान्यीकरणको त्रास, सूक्ष्मतामा ह्रास
जब एकै स्थानलाई हेर्ने दुई फरक नजरिया आमनेसामने उभिन्छ तब के हुन्छ ? अलिकति मिथकबाट जाऔं । महाभारतको भीष्म पीतामहलाई तपाईं कसरी हेर्नुहुन्छ वा कृष्णलाई अथवा कर्णलाई ? द्रौपदीको विषयमा तपाईंको धारणा के बन्छ ? कौरवलाई आधार बनाएर तपाईं के सोच्नुहुन्छ ? पाण्डव वा यहाँ वर्णित जुनसुकै पात्र ?
सायद तपाईंलाई जोकोहीको आधार बनाएर सजिलै एक नजरिया बनाउन सक्नुहुन्छ । तर, यदि मैले लिम्बू जातिको नाम्सामी, केसामीको कुरा गरे भनें अथवा राई जातिहरुका चाक्लुङधिमा र हेत्छाकुप्पाको कुरा गरें भने तपाईंको अनभिज्ञता जायज छ । नजान्न पाइन्छ, यद्यपि यसको मूल्य समुदायले कसरी भोग्छ ? यसको विषयमा थोरै कुरा गरौं ।
के तपाईंलाई ‘जाँत’कै विषयमा केहि ज्ञान छ ? ‘जाँत’ ! अझ अर्को शब्द पनि जोडौं, ‘खप्तण’ । नेपाली शब्दकोषले खप्तड भने पनि उक्त पुस्तकले ‘खप्तण’ बारम्बार लेख्छ । दुर्गाप्रसाद जोशी र मीनबहादुर राणाको संयुक्त अनुसन्धानमा लेखिएको ‘डोट्याली लोकदेवता र जाँत सौन्दर्य’मा यी दुई शब्द समेटिएका छन् । जाँत भनेको के हो ? उक्त पुस्तकका अनुसार जाँतको अर्थ हो ‘लोकदेवताको उत्सव वा जात्रा’ ।
समाजले खप्तणलाई भोगेको छ । सुनेको छ । बातचितमा बोलेको छ । हजारौं पुस्तादेखि जुन लवचले उच्चारण गर्यो त्यो कदाचित पनि खप्तड थिएन । हामी यसलाई ‘ण’ र ‘ड’को सामान्य अन्तर देख्न सक्छौं वा बुझाइ एउटै हो भनेर ‘सामान्यीकरण’ गर्न सक्छौं ।
अब प्रश्न आउनसक्छ किन ‘खप्तण’ ? जुन समाजले खप्तणलाई भोगेको छ । सुनेको छ । बातचितमा बोलेको छ । हजारौं पुस्तादेखि जुन लवचले उच्चारण गर्यो त्यो कदाचित पनि खप्तड थिएन । हामी यसलाई ‘ण’ र ‘ड’को सामान्य अन्तर देख्न सक्छौं वा बुझाइ एउटै हो भनेर ‘सामान्यीकरण’ गर्न सक्छौं । तर, यो कदाचित सामान्य विषय होइन । ‘सोल सय डोटी’ उखान नभई इतिहासमा कुनै वेला एक राज्य थियो । सभ्यता थियो ।
तर, ‘ण’को ठाउँमा ‘ड’ उच्चारण गर्ने सत्ताले कतिपटक हिज्जेमा ‘ण’ लेखेकै कारण उक्त समाजको अंक काट्यो होला ! ‘जाँत’ को सामाजिक पृष्ठभूमि थाहा नभएकोमा यो कति ठाउँ ‘जात’मा रुपान्तरित पनि भयो होला ।
माथिका कुरा जति सामान्य लाग्न सक्छन्, त्यति नै सूक्ष्म पनि छन् । त्यति नै बहस गरिनुपर्ने विषय पनि हो । हाम्रो बुझाइले कुनै कुरालाई साधारण गरी हेरिदिन्छौं भने त्यसको सौन्दर्यको सूक्ष्म पक्षलाई नकारिरहेका हुन्छौं । यहाँ ‘ड’ वाला खप्तड र ‘ण’ वाला खप्तणलाई हामीले सामान्यीकरण गर्न उचित होला ? यदि यसो गर्ने हो भने ‘सोल सय डोटी’ को ऐतिहासिक पृष्ठभूमि हराएर जान्छ । यदि कुनै समाजको लोक संस्कृतिलाई नकार्छौं भने त्यससँगै उसको सभ्यताप्रति नजरअन्दाजको श्रृङ्खला पनि बढ्दै जान्छ । अन्ततः त्यही नजरअन्दाज हावी भएर दमन बनिदिन्छ ।
यद्यपि नेपाल आफैंलाई बहुभाषिक, बहुसांस्कृतिक भन्न छाड्दैन । तर, के उसले अभिव्यक्त गरेजस्तो ऊ बहुभाषामैत्री छ, बहुसंस्कृतिमैत्री छ ? विश्वको भौतिक संरचनाहरुसमेत अपाङ्गमैत्री, बालमैत्री बनाइरहेका छन् । तर, हाम्रो राज्य संस्कृतिमैत्री मात्रै छ त ? हाम्रो नीति, विधानहरु संस्कृतिमैत्री छन् ?
यदि कुनै समाजको लोक संस्कृतिलाई नकार्छौं भने त्यससँगै उसको सभ्यताप्रति नजरअन्दाजको श्रृङ्खला पनि बढ्दै जान्छ । अन्ततः त्यही नजरअन्दाज हावी भएर दमन बनिदिन्छ ।
स्टिमरको यात्रा
चेफा अनि स्टिमर बोट । जब एउटै ढुङ्गालाई हेर्ने दुई फरक नजरियाबाट हेरिन्छ तब यसको निष्कर्ष के हुन्छ ? हामीलाई मण्डलामा चलिरहेको ‘खुवालुङ’ नाटक यी दुईबीचको द्वन्द्व नै लाग्छ भने यो पूर्ण कारण होइन, आंशिक हुनसक्छ । तर, जब स्टिमरले ‘खुवालुङ’लाई समस्या, अड्चनको रुपबाट देख्छ तब भने यहाँ द्वन्द्वको सिर्जना हुन्छ । यस वेला राज्य सत्तामाथि प्रश्न उठ्छ, हाम्रा योजनाहरु कतिको संस्कृतिमैत्री छन् ?
अहिले विश्वव्यापीकरणको समय हो । खुला बजारमा सबैको समान अधिकार रहन्छ । तर, विश्वव्यापीकरणले परिकल्पना गरे जसरी विश्वभर आर्थिक समानता आयो वा वर्गीय खाडल अझ गहिरो भएर गयो ? ‘ग्लोबलाइजेसन एन्ड ग्लोबल स्टडिज’मा रिचार्ड डे लेनका अनुसार ‘जब उद्योग वा कुनै गैरनाफामुखी संस्थाले समुन्द्रपार गर्छ तब यो कुनै संस्थाभन्दा बढ्ता बनिदिन्छ । यसको ‘प्रभाव’ले ‘शक्ति’ले जसरी काम गर्छ यसले स्थानीय मौलिकतालाई सधैँभरि संकटमा पारिरहन्छ ।’
खुवालुङ नाटकलाई दुई भागमा विभाजन गर्ने हो भने यसले एक भाग हालको समय-खण्डको कथा भन्छ । जहाँ बाजे पुस्ता, विकासको कारणले वातावरणमा परिरहेको प्रभावको विषयमा कुरा गरिरहेका हुन्छन् भने नाति पुस्ता चेफाकै विषयमा अन्योल छ । विश्वव्यापीकरणको प्रभाव चेफा र स्टिमरमा थोरै देखिन्छ नै । सँगै मानिसहरुको पुस्तौंदेखिको दैनिक जीवनयापनमा, बानी, संवाद, चाहनाहरुमा पनि देखिन्छ । यही विश्वव्यापीकरणको प्रभाव सो नाटकभित्रको सत्ताको मानसिकतामा पनि देखिन्छ । दुई फरक नजरिया एक ढुङ्गाको आमनेसामने उभिन्छ । यतिबेला खुवालुङले आफ्नो कथा भन्न सुरु गर्छ ।
भनिएको कथाको समय कति अगाडिको हो ठ्याक्कै थाहा हुन्न । मिथक संकलनकै कुरामा पनि यसले किराँतीहरुको धेरै मिथकलाई जोड्न खोजेको छ । मिथक बिग्रियो भन्ने बहसलाई सतहमा ल्याएको छ । तर, यही घटनालाई आधार मान्ने हो भने विश्वका लोककथाहरुलाई आफ्नो एनिमेसनद्वारा विश्वव्यापी बनाउने ‘डिज्ने’ले सदैव एक आलोचना खेपिरहेको हुन्छ । परीकथा, लोककथा आदिको विविधतालाई उसले लिएको एउटा कथाको मूलधारले किनारीकृत गरिरहेको छ ।
हामीले यो पनि बुझ्नुपर्छ कि लोककथा सिर्फ कथामात्र होइन, डिस्कोर्स पनि हो । परिकल्पना गर्ने लेखकलाई हामीले संकलकको रुपबाट बुझिदिनुहुन्न ।
सिन्ड्रेला, जसका हजारौं विविधता विश्वभरका अनेकौं देशका आदिवासीहरुमाझ फरक-फरक रुपमा छ । त्यसलाई डिज्नेको एक प्रस्तुतीकरणले किनारीकृत गरिदिएको छ । यस मानेमा खुवालुङको प्रयोगले केही सन्तुलन राख्न खोजेको देखिन्छ । तर, यससँगै हामीले यो पनि बुझ्नुपर्छ कि लोककथा सिर्फ कथामात्र होइन, डिस्कोर्स पनि हो । परिकल्पना गर्ने लेखकलाई हामीले संकलकको रुपबाट बुझिदिनुहुन्न ।
खैर, खुवालुङको कथा नेपाल राष्ट्र वा विश्वव्यापीकरणकै कथा परिकल्पनाभन्दा अगाडिको कथा भने हो । खुवालुङ अब लोककथा बन्छ । एउटा यस्तो लोककथा, जसलाई सत्ताले योभन्दा अगाडि नसुनेको हुनसक्छ ।
भूमिसँग आदिवासीको सम्बन्ध किन महत्वपूर्ण हुन्छ वा लोककथाहरु किन आवश्यक हुन्छ ? आदिवासीहरुको ज्ञान हराउनुको एउटा कारण उनीहरुको ‘मौखिक परम्परा’ हो । ‘एन्टिकोलोनियल स्ट्राटेजिज फर द रिकभरी एन्ड मेन्टेनेन्स अफ इन्डिजिनियस नलेज’ नामक लेखमा यस्तै समस्यालाई खोतलेकी छन् लेखिका लिएनी आर सिम्प्सनले ।
‘के हाम्रो संस्कृति हराउनको कारण यही हो त ? त्यसो हो भने हामीसम्म आइपुगेका लोककथा, मिथक आदिवासी ज्ञानहरु कसरी आइपुगे त ? हामी कसरी यी कुरासँग जानकार भयौं त ? जसरी हामीभन्दा अघिल्लो पुस्तासम्म ती कथाहरु आए, के ती लिखित परम्पराकै कारणले यहाँसम्म आइपुगे त ?’, उनी लेख्छिन्, ‘जमिनसँग आदिवासीहरुको ज्ञान पनि जोडिएको हुन्छ । यदि आदिवासीहरुलाई जमिनबाट अन्यत्र कतै राखिदिने हो भने उसको आदिवासी ज्ञान पनि हराउँदै जान्छ ।’
लोककथा किन आवश्यक छ भन्ने सवालमा लोककथा देशकै मौलिक सम्पत्ति, सम्पदा हो । यस विषयमा अझ विस्तृतमा मैले ‘रामभूमि ठोरीमा छ भनिदिँदा गैँती-बेल्चा झिक्नेहरु खुवालुङबारे किन दोहोरो सोच राख्दैछन् ?’ शीलापत्रमा प्रकाशित लेखमा बताइसकेको छु ।
खुवालुङको कथा नेपाल राष्ट्र वा विश्वव्यापीकरणकै कथा परिकल्पनाभन्दा अगाडिको कथा भने हो । खुवालुङ अब लोककथा बन्छ । एउटा यस्तो लोककथा, जसलाई सत्ताले योभन्दा अगाडि नसुनेको हुनसक्छ ।
सामान्यीकरणको खतरा
रुढीवादको जग तपाईंलाई के होला जस्तो लाग्छ ? उदाहरणको लागि आदिवासीहरु मूर्ख हुन्छन् भन्ने कुराले तपाईंलाई के अनुभूत गराउँछ ? प्रसंग नाटक ‘चोरका स्वर’को दौरानको हो । हामीले नाटक देखाएपश्चात् केही प्रतिक्रियाहरुमध्ये एक प्रतिक्रिया आयो । ‘अरे लिम्बू भनेपछि खुकुरी चैँ उचाल्नैपर्ने हो ?’
प्रश्न जायज हो । सत्ताले एक जातिलाई बुझाउन जस्तोखाले भाष्यको निर्माण गर्यो, त्यसलाई आधार मान्ने हो भने यो प्रश्न जायज होला । यद्यपि यो पूर्ण सत्य भने थिएन ।
नाटक चोरको स्वरको दौरान हामीले ‘सामान्यीकरण’को विपक्षमा पनि बोल्नु थियो । ख्याल-ख्यालमा चार इन्चीको सवालमा सानै कुरामा खुकुरी बोक्ने कुरा कदाचित लिम्बू झोंकको मात्र कुरा थिएन । विश्वको मनोविज्ञानको इतिहासलाई केलाएर हेर्ने हो भने जुनजुन देशले गृहयुद्ध भोगेपछिको शान्ति व्यवस्थामा नागरिकहरुले गृहयुद्धको बाछिटालाई भालेपना (म्यास्कुलानिटी) मा भेट्छन् ।
कम्बोडियामा ४० वर्षको गृहयुद्धले बलात्कारप्रति कस्तो धारणा बनायो, तपाईं हाल पनि युट्युबमा हेर्न सक्नुहुन्छ । यस मानेमा राज्यले बनाएको भाष्यलाई मात्र हामीले आधार बनाएर हेर्नु उचित हुँदैन । कथा २०६५ सालतिरको हुँदा उक्त आक्रोशपूर्ण मनोविज्ञानको पृष्ठभूमि गृहयुद्ध पनि थियो । तर, सोही नाटकलाई आधार लिँदा झगडा मिलाउने को हुन्छ त ? कसले मिलाउँछ त ? के सबै झोंकीमात्र छन् ?
अझ सामान्यीकरणको खतरालाई हेर्दा जब ‘जाँठ्ठा’ भन्ने शब्द अश्लील हैन, लिम्बूहरुमाझको थेगो हो भनेर भनियो । तब हाम्रा रचनाहरुले ‘जाँठ्ठा’ शब्दलाई नै एक जातिको पर्यायबाची जस्तो बनाइदियो । जबकि यो शब्दावलीको प्रयोग प्रसांगिक हुन्छ । नाटक ‘चोरको स्वर’मा यही सामान्यीकरण खतराबाट बच्नु थियो । तर, यी कुराहरुमाथि खासै बहस हुन सकेन । यसमा सुरुमा उल्लेख गरेकै अन्योललाई कारक मान्न सकिन्छ ।
‘ओ रिल्लो’, ‘सेक्मुरी र अन्दङफुङ’ आदिको सांस्कृतिक महत्व के छ वा किनामा के हो ? यसको सूक्ष्मतामाथि हामी जानकार छैनौं । त्यसैले बहस पनि भएको छैन । सूक्ष्मतामाथि बहस नहुनु भनेको सामान्यीकरणको खतरा हो । जसले अन्ततः रुढीवादको जगलाई अझ बलियो बनाउँछ ।
खुवालुङको एक दृश्यमा घर बनाउने सिलसिलामा चिभे चराको पुच्छरको कुरा हुन्छ । किराँतीहरुको कथामा चिभे चराको पुच्छर नै किराँतीहरुको पहिलो घरको ज्ञानको आधार थियो । यस्ता धेरै कुराहरु सूक्ष्म गरी दृश्यहरुमा राखिएका छन् । जस्तो चुल्हा, माछाको यात्रा, हाङछामाको सपना । यस्ता धेरै सूक्ष्म स्थानहरु छन्, जहाँ बहसले स्थान पाउन सक्थ्यो । जसलाई बहसमा ल्याउँदा मात्र पनि ‘किराँती सौन्दर्य चिन्तन’को नव-आयामहरुको विषयमा धेरै जना जानकार हुनसक्थे । यसमा हामी आफैंले यी सूक्ष्म विषयहरुमाथि कति बहस ग¥यौं ?
हामी आफैंले ‘मौखिक परम्परा’लाई छाड्दै सुरु गरेको लिखित परम्परालाई कसरी अगाडि बढाइरहेछौं ? देश, विदेशका सोधकर्ताहरुको लागि हामीले बटुलेको आदिवासी ज्ञानहरुलाई कति उपलब्ध गराइरहेका छौं ?
आदिवासी साहित्यको समस्या
सत्ताले आदिवासीहरुको भूमिसँगको सम्बन्धलाई, आफ्नो आधुनिक व्यवस्थाले आदिवासी समुदायबाट विग्रह गरिदिएपछि वा भनौं औपनिवेशिक चिन्तन लादेपछि संकटमा पर्दै गएको कुरा गर्छिन् लेखिका सिम्प्सन । यो समस्या त छँदैछ । यससँगै अर्को समस्या भनेको हामी आफैंले ‘मौखिक परम्परा’लाई छाड्दै सुरु गरेको लिखित परम्परालाई कसरी अगाडि बढाइरहेछौं ? देश, विदेशका सोधकर्ताहरुको लागि हामीले बटुलेको आदिवासी ज्ञानहरुलाई कति उपलब्ध गराइरहेका छौं ?
यदि हामीले गुगलमा सर्च गर्ने हो भने अंग्रेजी साहित्यमाथि सोध गर्न उनीहरुले निर्माण गरेको ‘सांरचनिक उपलब्धता’ले उनीहरुको साहित्य किन समृद्ध छ भन्ने प्रस्ट पार्छ । यसले के पनि स्पष्ट बनाउँछ भने हामीले पनि विश्वव्यापीकरणलाई प्रयोग गर्न सकेका छैनौं । आदिवासी सौन्दर्यशास्त्रको एउटा समस्या ‘उपलब्धताको कमी’ अनि ‘जटिलता’ पनि हो । नाटक खुवालुङको सबैभन्दा ठूलो समस्या उसले यही कुरालाई झेल्छ ।
सुरुमा उप्काएको महाभारतको प्रसंग यहाँ जोड्ने हो भने अबको लागि महाभारत सिर्फ कथामात्र रहेन । महाभारत ज्ञान, वैचारिक कोण र बहसको क्षेत्र पनि बन्छ । जसको लागि उसले करोडौं खर्च गरेर प्रायः हरेकको मस्तिष्कमा स्थापित गरिदिन्छ । जबकि महाभारतको श्रृंखला हेर्यो भने एक दिनमा हेरेर सम्भव नै हुन्न । अब महाभारतको पात्रलाई सामान्यीकरणको नजरियाबाट हेर्न सकिन्न । यसमा सूक्ष्मता छिर्छ ।
आदिवासी साहित्यमाझ वास्तविक सूक्ष्मताको बहस सुरु नै भएको छैन । यतिमा आदिवासी साहित्यले हालको समय लामो हुनुको बोझ बोक्छ । नाटक खुवालुङ पनि यही समस्याबाट गुज्रिएको छ । यस हिसाबबाट खुवालुङलाई एक प्रयोगवादी नाटक मान्न सकिन्छ । जसले बजारको छरितो हुनुपर्ने मानकलाई मानेको छैन ।
यद्यपि नाटकले आफैंलाई वीर, मातृसत्तात्मक, दयालु हुन्छन् भन्ने भाष्यसँग बढी नै जोडेको देखिन्छ । जो फेरि पनि सामान्यीकरणको खतरा नै हो । यसमा यी भाष्यहरु राज्य सत्ताको मानसिकताको विरुद्ध उभिएको त देखिन्छ । तर, खुवालुङकै कथाजस्तै यसको पनि आफ्नै सूक्ष्मता छ । विविधता छ । नाटकले किराँती सौन्दर्यशास्त्रका अन्य आयामिक सूक्ष्मतालाई अझ उजागर गर्न सक्थ्यो । जसले वीर हुनुको सौन्दर्यको आयाम थप्न सक्थ्यो वा भावनात्मक रुपबाट अफ्रिकी नाटकहरुजस्तै पृथक कर्थासिसलाई भन्न सक्थ्यो ।
अन्त्यमा, कुनै वेला साहित्यको काम के होला ? यही कुराले मलाई सोचमग्न बनाएको थियो । धेरै समयपछि यसले मानिसहरुमाझ गर्न सक्ने अन्तरसंवादको विषयमा ज्ञात भयो । जसले विज्ञानभित्रको ग्याल्भेनिज्मको हाइपोथेसिसलाई म्यारी सेलिको फ्रान्केन्सटाइन बनेर संवाद गर्दोरहेछ । नाइजेरियाको इतिहासलाई अचिवेको थिङ्गस् फल अपार्ट, डिक्रा वादीको ठाडी भाका, झुमा लिम्बूको पालम, यस्तै यस्तै । मिथक, लोककथाहरुलाई हेर्ने हो भने आफू उक्त स्थानमा हुनुको परिचय, मूल्य अनि सान्दर्भिकता बाेक्नुपर्छ । साहित्यले सदैव मानिसलाई मानिस हुनुका हजारौं सान्दर्भिक कारणहरु उजागर गर्दोरहेछ । खुवालुङ यस्तै सान्दर्भिकताको खोजी गरिएको प्रयोगात्मक नाटक हो ।
©AnweshRaiThulung2079