उम्मेदवारले निर्वाचनको अनुमानित खर्च मनोनयन दर्ता गर्दा नै उल्लेख गर्नुपर्ने (भिडिओ) – Nepal Press

उम्मेदवारले निर्वाचनको अनुमानित खर्च मनोनयन दर्ता गर्दा नै उल्लेख गर्नुपर्ने (भिडिओ)

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेद्वारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने भएको छ ।

निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरुसंग छलफल गर्दै निर्वाचन आयोगले अनुमानीत चूनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो ।

त्यस्तै उम्मेद्वारहरुले मनोनयनपत्र दर्ता गर्दा नै आफ्नो सम्पत्ति विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने व्यवस्थासमेत आयोगले गर्न लागेको छ । त्यस्तै निर्वाचन प्रचारमा १० वटासम्म राष्ट्रिय प्रयोग गर्न पाउने व्यवस्था आयोगले गर्न लागेको छ । निर्वाचन आचारसंहितका बारेमा दलहरुबाट मिश्रित सुझावहरु आएको र सुझावहरुका आधारमा छिटै राजपत्रमा प्रकाशनका लागि पठाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै दलहरुसँग खर्चको सीमाका बारेमा पनि छलफल भएको र अर्को बैठकले टुङ्गो लगाउने उनले बताए । बैठकमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनमा जोड दिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले यसअघिको निर्वाचनमा भएका विकृतिलाई अन्त्य गर्दै आयोगले नया आचारसंहिता ल्याएको र यसबारे जानकारी गराएको बताए । छलफलमा अन्य नेताहरुले पनि आचारसंहिता कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उनले बताए । त्यस्तै, लोसपाका नेता केशव झाले निर्वाचन आचारसंहितमा रहेका बिभिन्न बिषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा नेकपा एमालेले मौन अवधि ४८ बाट घटाएर २४ घण्टा बनाउनुपर्ने लगायतका १३ वटा सुझाव दिएको थियो । जसमा जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकका मुख्य निर्वाचन अधिकृत राख्नुपर्ने, डिजिटल, अनलाइन, छापा, श्रव्यदृश्य सञ्चारमाध्यमको सुक्ष्म अनुगमन गर्न विशेष इकाई गठन गर्नुपर्ने, निर्वाचन आचारसंहिता लागू हुने अवधि निर्वाचन घोषणादेखि मतदान सम्पन्न नभएसम्म गर्नुपर्ने लगायतका सुझाव छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर