सोमप्रसादलाई ठाकुर गैरेको प्रश्न : पाँचपटक नातावादमा एमालेबाट जित्नुभयो अब के गर्नुहुन्छ ?
रुपन्देही । नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य ठाकुर गैरेले कम्युनिष्टको नाम राखेर चुनावमा कांग्रेसलाई बोकेर हिँड्नेहरुलाई अब जनताले चिनिसकेको बताएका छन् । नेता गैरेले नेकपा एस र नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै छातीमा हँसिया हतौडा झण्डा राखेर रुख बोकेर हिँड्ने र मस्तिष्कमा विदेशीको सेवक बन्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् ।
पाल्पाको तिनाउ गाउँ कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै गैरेले नेता सोमप्रसाद पाण्डेलाई नातावादको आडमा पाँच पटकसम्म एमालेको चुनाव चिन्ह लिएर जनताको सेवक बन्छु भनेका, जनताले जिताएर पठाएका मान्छेले आज पाल्पाली जनता र देशलाई धोका दिएको आरोप लगाए ।
एमाले बन्नुपर्ने कांग्रेस बन्ने र कांग्रेस बन्नुपर्ने एमाले बन्दा देश वर्वाद भयो, विदेशी हस्तक्षेप बढ्यो, अराजकता मौलायो तसर्थ सबै कम्युनिष्ट एमालेमा संगठित हुनुपर्ने समय आयो– गैरेले भने । दलाल पूँजीको विरोध गर्दै, राष्ट्रिय पुँजीको विकास गर्ने एमालेको नीति रहेको बताउँदै एमालेले नागरिकता विधेयक, चुच्चे नक्सा प्रकाशनलगायतका राष्ट्रिय सरोकारको विषयमा राष्ट्रियताको पक्षमा गरेको योगदान सम्झिएर जनताले तिनाउ गाउँपालिकाको चुनावमा जस्तै प्रदेश र संघीय चुनावमा सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न सबै नेता, कार्यकर्ता खट्नुपर्ने उनको निर्देशन थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सिर्जना काफ्लेले महिला आन्दोलन र एमाले विषय र प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीले पार्टी संगठन र चुनावी तयारीका विषयमा, जिल्ला कमिटी सचिव राजमी पोखरेल, जिल्ला पार्टी स्कुल विभाग प्रमुख दलबहादुर गुरुङ, सचिवालय सदस्य गोमा भण्डारी, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, तिनाउ गाउँ कमिटी अध्यक्ष रोमबहादुर लम्तरी, यादव प्रसाद अर्याल लगायतले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ।