‘नेपाली रंगमञ्च एनजीओका कारण टिकेको छ, सरकारको कारण होइन’ – Nepal Press

‘नेपाली रंगमञ्च एनजीओका कारण टिकेको छ, सरकारको कारण होइन’

शिल्पी कसैलाई जिम्मा लगाएर स्वतन्त्र काम गर्ने रहर छ: घिमिरे युवराज

काठमाडौं । नाट्यकर्मी घिमिरे युवराजमाथि चित्तबुझ्दो जवाफका लागि तेर्सिने सवाल हो, ‘थिएटर कसरी चलिरहेको छ हौ ?’ घिमिरेको सिग्नेचर जवाफ हो, ‘यस्सैउस्सै चलिरहेकै छ ।’ साँच्ची नेपालको रंगमञ्च चलिरहेको छ चाहिँ कसरी ?

अधिकांश थिएटरले लिजमा जग्गा लिएका छन् । जग्गा मालिकलाई भाडा बुझाउनै पर्‍यो । दर्जन बढी कलाकार जोडिएका हुन्छन्, दालभातको जोहो हुनैपर्‍यो । उनीहरु निदाउने ठाउँको बहाल बुझाउनैपर्‍यो । हरेक महिना थिएटरको गेट ढकढकाउन आइपुग्ने बिजुली महसुलको भर्पाइ गर्नैपर्‍यो ।

दूरदृष्टि लगाउँदा नेपाली रंगमञ्च सानदार नै देखिन्छ । नाटक मञ्चन गरिरहेकै छन् । होहल्ला भइरहेकै छ । टिकट काटेर दर्शकहरुले नाटकको परख गरिरहेकै छन् । मिडियामा कलाकार, निर्देशकहरुका अन्तर्वार्ता, फिचर आइरहेकै छन् । तर, टिकटले मात्रै थिएटरहरु चल्छन् त ? सात वर्षअघि १५ वर्षको लागि जग्गा लिजमा लिएर शिल्पी थिएटर सुरु गरेका घिमिरे भन्छन्, ‘टिकटले मात्रै थिएटर चल्दैन । हाम्रो रंगमञ्च इच्छाशक्तिले मात्रै बाँचेको हो ।’

इच्छाशक्तिको अलावा धेरै कलाकारको हातमुख थिएटरले मात्रै जोडिदिएको छैन । नाटक खेल्छन्, साइडमा वैकल्पिक काम पनि गर्छन् । धेरैले रेडियो नाटक गरिरहेका छन् । कत्तिले पत्रकारिता पनि गरिरहेका छन् । घिमिरेका अनुसार बेसिक रुपमा नाटक नै गरेर बाँच्ने मान्छे कम छन् । जो नाटकबाटै बाँच्छु भनेर लागेका छन्, जीवनका आवश्यकतालाई मिनिमाइज गरेर बाँचेका छन् । धेरै कमाउँछु, सुविधा सम्पन्न जीवन जिउँछु भन्ने सोचबाट मुक्त भएर बाँचेका छन् ।

– तर, पनि थिएटर चलेको छ चाहिँ कसरी ?

थिएटर चलेको एक त टिकट मनीले नै हो । कति नाट्यकर्मीको थिएटर नहुन पनि सक्छ । अनुप बरालले कास्टिङ गर्नुहुन्छ, फिल्म खेल्नुहुन्छ, ट्रेनिङहरु दिनुहुन्छ । एकदुई वर्षमा एउटा नाटक गर्नुहुन्छ ।

कतिपय थिएटरले फ्रिक्वेन्टली काम गर्नुको दुइटा आधार छन् । सर्वनाम, पुरानो घर, कौसी थिएटरले संयोगले आफ्नै घरमा थिएटर बनाए । अर्को, धेरै स्टाफ छैनन् । ज-जसले हलभाडा तिरेर काम गरिरहेका छन्, उनीहरु कहीं न कहीं अरु संस्थाको सपोर्टमा टिकेका छन् ।

– अरु संस्था भन्नाले ?

महिला हिंसा, बालश्रम, भ्रष्टाचारमाथि नाटक गर्दा एनजीओको सपोर्ट छ । यसलाई नेपालमा सहज रुपमा लिएको देखिँदैन । संसारभर रंगमञ्च सरकारको अनुदानले चल्ने हो । राज्यले नै फन्ड गर्छ । भारत, बंगलादेशमा राज्यको प्रत्यक्ष उपस्थिति छ । थिएटर समूह टिकटले मात्रै चल्दैन । सहरको सुन्दरतामा सांस्कृतिक स्पेसको ठूलो महत्व हुन्छ । तर, हामीकहाँ राज्यको साथ छैन । विकल्प खोज्दा एनजीओको छ । थिएटर ग्रुपले आफूलाई बचाउन विभिन्न संस्थामा टच भएको हो ।

०००००००००

नेपालमा एनजीओमाथिको होलसेल बुझाइ उस्तो गतिलो छैन । एनजीओलाई हेर्ने आम मानिसको दृष्टिकोण उस्तो सकारात्मक पनि छैन । एनजीओहरुले आम मुद्दालाई ‘पैसा कमाउने भाँडो’को रुपमा लिएको भन्दै वेलावेला विरोधका स्वरहरु पनि सुनिन्छ ।

एनजीओहरुले आफ्ना एजेन्डाहरु स्थापित गर्न सबैथोक गर्ने गरेको हल्लासम्म सुन्ने गरिन्छ । तर, कलामा पनि एनजीओको उपस्थितिले कस्तो अर्थ राख्ला ? आफ्ना एजेन्डा सेट गराउन हस्तक्षेप गर्लान् कि नगर्लान् ? कलामै एनजीओ पसिसकेपछि उनीहरुको एजेन्डालाई कसरी प्रस्तुत गर्लान् थिएटरहरुले ?

घिमिरेको भनाइ छ, ‘कुनै पनि संस्थासँग सहकार्य गर्दा स्वतन्त्र निर्णय गर्न कति सम्भव छ भनेर भन्न सजिलो छैन । मेरो विचारमा थिएटर आर्ट फरक भएकाले अरु संस्थामा जस्तै उनीहरुले प्रभावित पार्छन् जस्तो लाग्दैन । तर, फाइट धेरै गर्नुपर्छ । पूर्ण सहकार्यको प्रक्रिया जटिल हुन्छ । उनीहरुले हाम्रो काम हेरेपछि सहकार्य गर्ने कि नगर्ने निर्णय गर्छन् ।’

आफूहरुले गर्न चाहेको कामलाई उनीहरुको एजेन्डाले डाइभर्ट नगर्ने गरी काम गर्ने गरेको घिमिरे स्वीकार्छन् । यदि एनजीओले डोमिनेट गर्छ, नियत खराब छ भने आफूहरुले गरेका कामहरु हेर्न सुझाउँछन् घिमिरे ।

घिमिरेलगायतले ‘ठूला माछा, साना माछा’ नामक नाटक एनजीओको सपोर्टमै गरेका थिए । यदि त्यहाँ एनजीओले सामाजिक विचलन ल्याउन चाहेको थियो भने नाटकमै देखिने तर्क पेस गर्छन् उनी । तर, नाटक भव्य रुपमा चलेको थियो । भन्छन्, ‘यदि कसैले प्रभावमा पारेको हो भने हाम्रो काममा त्यो देखिन्थ्यो होला । एनजीओ, आईएनजीओहरुले नेपालको कानूनअनुसार नै काम गरिरहेका हुन्छन् ।’

– भनेपछि एनजीओहरु कलाप्रति चाहिँ अलि उदार छन् ?

विषयगत रुपमा उदार नै हुन् । टीभी, वर्कसपहरु जस्तो होइन । हाम्रो काममा उनीहरुले आफ्नो आइडियोलोजी हावी गर्न पाउँदैनन् । रेडियो टकमा कुन नेता, कुन विषय, शीर्षक नै के राख्ने भनेर म्यानुपुलेट गरेका होलान् । तर, हाम्रोमा त्यस्तो हुँदैन ।

– एनजीओबारे लमसम बुझाइ के छ भने प्रोजेक्टका नाममा पैसा छर्छन् । त्यहाँ काम गर्नेहरुले कमाएका पनि हुन्छन् । ती सबैथोक देख्दै गर्दा र थिएटरहरुले एनजीओसँग सहकार्य गर्दै गर्दा पनि थिएटर चल्नै गाह्रो छ भनिन्छ, किन ?

एउटा एनजीओबाट दश लाख लिन धेरै गाह्रो छ । एनजीओमा काम गर्नेको जीवनस्तर माथिल्लो होला । त्यहाँ काम गर्नेहरु र हामी सहकार्य गर्नेहरुको जीवनस्तर तुलना गर्न सकिँदैन । मैले यस क्षेत्रमा काम गरेको २४ वर्ष भयो । यदि पैसा कमाइन्थ्यो भने लाइफस्टाइल अर्कै हुन्थ्यो होला । मेरो अफिसको कुर्सी नै अर्कै हुन्थ्यो होला । मैले देखेको थिएटर अहिलेको अवस्थामा आइपुग्न उनीहरुले निकै सहयोग गरेका छन् ।

०००००००००

पछिल्लो समय शिल्पीमा ‘हिउँको पृथ्वी यात्रा’ नाटक मञ्चन भयो । यसअघि पनि नाटकहरु मञ्चन भइरहेकै थिए । तर, कोभिडपछि शिल्पीमा पहिलाजस्तो चहलपहल छैन ।

घिमिरेका अनुसार ‘हिउँको पृथ्वी यात्रा’ले १६ लाख ग्रस कलेक्सन गर्‍यो । अहिले त्यही रकमले केही सहज बनाएको बताउँछन् उनी । शिल्पीमा फेरि अर्को नयाँ नाटक मञ्चन हुने तयारी भइरहेको छ । योबीचमा शिल्पी ब्याक टु ब्याक देश दौडाहामा पनि निस्कियो । कोभिडपछि मात्रै चारवटा ठूला टुर गरेको छ । गाउँपालिका, प्रदेश सरकारसँगको सहकार्यमा गाउँगाउँमा नाटक लिएर पुग्यो शिल्पी टीम । तैपनि घिमिरे भन्छन्, ‘गाह्रो छ । काम गर्ने स्रोत कहाँबाट ल्याउने भन्ने तनाव नै भइरहन्छ ।’

घिमिरेको भनाइ छ, ‘हामी नाटकलाई कलाको अरु माध्यम फिल्म र म्युजिकसँग तुलना गर्छौं । तुलनाअनुसारकै काम गरिरहेको झैं देखिन्छ । कलाको सीमा हुन्छ । हरेक कलाले आफ्नै खाले व्यापार गर्छ । तर, व्यापारको मात्रा कम हुँदैमा ह्याप्पिनेस र ह्यापेनिङ कम हुनुपर्छ भन्ने हुँदैन ।’

घिमिरेको तर्क छ, ह्यापेनिङ हुँदैमा जीवनशैली र आम्दानी उस्तै हुनुपर्छ भन्ने हुँदैन । उनी लेखक कुमार नगरकोटीको उदाहरण दिन्छन्, जो आफ्नै शैली र पारामा बस्छन् । नगरकोटीका किताब बजारमा जसरी आउँछ, उसलाई कसले मान्छ कि एउटा कोठामा बस्छ ! सबैलाई अप्पर मिडल क्लासको लेखक हो भन्ने लाग्छ । तर, नगरकोटीको सफ्टवेयर अर्कै हुन्छ ।

पछिल्लो समय पढ्ने, लेख्ने कोठा थपेका छन् नगरकोटीले । नत्र १५ वर्षसम्म एकै कोठामा किचन, पुस्तकालय, बेडरुम प्रयोग गरेर बसेका थिए । त्यही कोठाबाटै ‘काठमाण्डु फिभर’, ‘फोसिल’ जस्ता किताब लेखेका थिए ।

घिमिरेले नगरकोटीको उदाहरण दिएजस्तै थिएटरका आफ्नै दुःख होलान् । तर, पछिल्लो समय नेपालको रंगमञ्च सीमित मान्छेहरुको पकडमा गएजस्तो देखिन्छ । सर्वनाम, शिल्पी, मण्डला त्यस्तै देखिन्छन् । यस्तो किन होला ?

घिमिरे भन्छन्, ‘त्यस्तो देखिएको हो । कसैले पकड बनाएर सक्दैन, त्यो भ्रम हो । थिएटर आइडियोलोजी हो, सामूहिक खेती होइन । आर्टमा फर्म हुन्छ । मैले अरुसँग काम गर्न सक्दिनँ । अरुले मसँग काम गर्न सक्दैनन् । खासमा कलाकारले आफ्ना लागि काम गर्ने हो । कलामा लोकतन्त्र भन्ने हुँदैन । मैले नाटक निर्देशन गर्दैगर्दा सबै खालको जेन्डरलाई एकैपटक राख्न सक्दिनँ । सबै समुदाय एउटै नाटकमा अटाउन सम्भव हुँदैन ।’

– अनि थिएटरमा काम गर्ने राम्रा कलाकारहरु एक ठाउँमा टिकिरहन सक्दैनन्, किन ?

कलाकार टिक्ने नै होइन । एकै ठाउँ अडिइराख्यो भने झुर भइहाल्यो । ध्वस्त भइहाल्यो । जसरी एउटा पत्रकार एकै मिडिया हाउसमा बसोस् भन्ने हुँदैन । एउटा लेखक एक पब्लिकेसनमा अनुबन्धित भएर बस्ने भन्ने हुँदैन । लेखकसँग पब्लिसरको छनोट गर्ने विकल्प हुनुपर्‍यो ।

मैले पनि गुरुकुलमा सात वर्ष बसेर काम गरेको हो । तर, जिन्दगीभर आइडियोलोजी बोकेर त्यहीं बसें भने कति किच्चिन्छु होला ?

– गुरुकुलबाट निस्किए जस्तै अब शिल्पीमा पनि काम गरेर पुग्यो, एकै ठाउँ कति बस्नु, भो नबसौं भनेर कसैलाई हस्तान्तरण गरेर जीवनको नयाँ कोर्स सुरु गर्न सक्नुहुन्छ ?

बीचमा मैले त्यो अभ्यास पनि गरेको थिएँ । तर, केही अप्ठ्याराहरु आए । यदि शिल्पी कम्फरटेबल रुपमा अगाडि जाने भो भने मलाई स्वतन्त्र भएर काम गर्ने रहर छ । पछि फेरि आउन पनि सक्छु । तर, स्वतन्त्र निर्देशन गर्न चाहन्छु । मैले स्वतन्त्र काम गर्न पाएँ भने त्यसले फाइदा दिन्छ ।

– छाडेर जाँदा आफ्नो विरादरी गुम्ने डर हुन्न र ?

त्यति त हिम्मत छ । बीचमा अर्को साथीले हेरेका पनि थिए । म सन् २०१७-१८ मा १३ महिना बर्मा बसें । त्यतिखेर यहाँ नाटक मञ्चन पनि भयो । मलाई आफ्नो विरादरी गुम्ने डर फिटिक्कै छैन । बरु छाडेर स्वतन्त्र हुँदा अझै राम्रो काम गर्न सक्छु जस्तो लाग्छ । परै बसेर संस्थालाई योगदान दिनसक्छु जस्तो लाग्छ ।

०००००००००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर