‘पैसा छैन ब्याजदरमात्र बढाएर लागत बढाउन चाहँदैनौं’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘पैसा छैन ब्याजदरमात्र बढाएर लागत बढाउन चाहँदैनौं’ (भिडिओ)

कृषि विकास बैंकका सीईओ उपाध्याय भन्छन्: बैंकहरु थप ऋण प्रवाह गर्न नसक्ने भएका छन्

काठमाडौं । अहिले बैंकहरु थप ऋण लगानी गर्न नसक्ने भएका छन् । पछिल्लो एक महिनामा मात्र १ खर्ब बढी निक्षेप बैंकबाट बाहिरियो । नयाँ निक्षेप प्रणालीमा आएको देखिँदैन । नयाँ निक्षेप नआउँदा बैंकहरुसँग अहिले लगानी गर्ने रकमको अभाव छ । निक्षेप आकर्षित गर्न ब्याजदर वृद्धिको सहारा लिने बैंकहरु अहिले तत्काल ब्याजदर बढाउने पक्षमा छैनन् । नयाँ निक्षेप नभएपछि पुरानो स्रोतमा मात्रै ब्याजदर बढाएर लागत बढाउने पक्षमा पनि छैनन् बैंकहरु । बैंकहरु आफैंमा एक खालको समस्या छ । तर, बैंकहरुको वित्तीय प्रतिवेदन भने स्वस्थ देखिन्छ । विभिन्न समस्याका बाबजुद बैंकहरुको नाफा आकर्षक छ । नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउन सक्ने नीतिगत व्यवस्था गरेको छ । सो व्यवस्थालगत्तै बैंकहरुले ब्याजदर बढाउन आंकलन गरिएको थियो । तर, पैसा नै नभएकाले बैंकहरु तत्काल ब्याजदरलाई छोइहाल्ने पक्षमा देखिँदैनन् ।

बैंकमा देखिएको लगानीको समस्या, ऋण दिन नसक्ने अवस्था, ब्याजदर वृद्धिको सेरोफेरोमा रहेर नेपाल प्रेसले नेपाल बैंकर्स संघका अध्यक्ष एवं कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकुमार उपाध्यायसँग गरेको कुराकानीको सम्पादित अंश:

– बैंकहरुले लामो समयदेखि एकै खालको ब्याजदर निर्धारण गर्दै आएका छन् । अझै केही समय ब्याजदर घटबढ हुँदैन भनेर तपाईंहरुले भनिरहनु भएको छ । खुला बजारलाई निर्धारण गर्न दिनुपर्ने ब्याजदर रोक्नु कार्टेलिङ भएन र ? कहिलेसम्म कार्टेलिङ गरिरहने ?

खुला बजारकै सिद्धान्तमा माग र आपूर्ति पक्ष हुन्छ । यसले मूल्य निर्धारण गर्छ । बैंकमा पनि एउटा क्षेत्रले सहयोग गरेन भने कसरी व्यवस्थापन गर्ने भन्ने कुरा आउँछ । अहिले बजारमा नयाँ निक्षेप छैन । निक्षेप बजारमा आएन भने पैसा अर्थात ब्याजदरमात्र बढाएर लागत बढाउनु पनि उचित हुँदैन । अहिले बैंकहरुमा त्यसै त लागत बढिरहेको छ । जसले गर्दा आधारदरसमेत बढेको छ । यसले ऋणको ब्याजदर महँगो हुने भयो । ऋणीलाई पनि यसको असर पर्ने भयो । यसको असर अरु क्षेत्रको पनि हुन्छ । स्रोत आयो भने स्रोतसँग लागत ट्रान्सफर गर्न पाइन्छ । स्रोत आएन भने कस्ट ट्रान्सफर गर्न पाइएन । पछिल्लो अवस्था पनि त्यस्तै छ । निक्षेप आएको छैन । पछिल्लो एक महिना (साउन) मा १ खर्ब बढी निक्षेप बाहिरिएको छ ।

रेमिट्यान्स आएन, पूँजीगत खर्च भएन वा विदेशीहरु आएनन् वा ऋण अनुदान आएन भने कहीं न कहीं समस्या हुन्छ । योमध्ये कुनै एकमा असर पर्दा पूरा अर्थ व्यवस्थामै समस्या देखिन्छ ।

स्रोत भयो भनेमात्र हो तपाईंले भने जस्तो प्रतिस्पर्धामा ब्याज निर्धारण हुने । तर, अहिले स्रोत छैन । अहिले गत आर्थिक वर्षको तुलनामा साढे २ प्रतिशत लागत बढेको छ । हामीले संस्थागततर्फ २ प्रतिशत ब्याजदर घटाएका छौं । स्रोत आउने संकेत नदेखिएकाले बैंकहरुले नै सहमति गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको हो ।

– बजारमा पैसा नहुँदैमा ब्याजदर नबढ्ने भन्ने हुन्छ र ?

आर्थिक सिद्धान्तमा लागत बढाउने विभिन्न कारण हुन्छ । पहिलो त लागतको प्रतिफल हुनुपर्‍यो । पुरानो स्टक रकमलाई मात्र ब्याजदर बढाएर लागत बढाउन सकिँदैन । स्रोत आयो भने ब्याजदर बजारलाई छोडिदिन्छौं । सधैंलाई यस्तो हुँदैन । हामी बैंकर्सहरु पटक-पटक छलफलमा बसेका छौं बैंकले निक्षेपकर्ता, ऋणी र बैंकलाई असर नगर्ने गरी काम गर्नुपर्छ । नियामकको निर्देशन पनि पालना गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । बैंकहरुले आफ्नो परिस्थितिलाई मूल्यांकन गरेर हुनेले त्यहीअनुसार काम गरिरहेका छन् । नहुनेले पनि त्यहीअनुसार काम गरिरहेका छन् ।

– अहिले बैंकहरु ऋण प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका हुन् ?

पछिल्लो हप्तामा मात्र १०/१२ अर्ब कर्जा घटेको देखिन्छ । असुलीका कुरा पनि होलान् । सबैले अवसरलाई हेरेर लगानी गर्ने हो । निक्षेप पनि घटेको छ, कर्जा पनि घटेको छ । यी दुवै पक्ष अहिले कमजोर छ । सीडी रेसियो पनि नाघ्ने भएको छ । कृषि विकास बैंक पनि ९० प्रतिशत नजिक छ सीडी रेसियोमा । हाम्रो पनि कर्जा र निक्षेप घटेको छ । कर्जा प्रवाहमा समस्या छ । तर, व्यवस्थापन गरिरहेका छौं ।

– धेरै बैंकहरुले वित्तीय विवरण प्रकाशित गरेका छन् । सरकारी बैंकहरुको नाफा पनि राम्रै देखिएको छ । तर, कृषि विकास बैंकको नाफा भने गत वर्षको तुलनामा घटेको देखिन्छ, किन ?

यो पटक बैंकहरुको नाफामा २० प्रतिशतको वृद्धि देखिन्छ । त्यसमा पनि ११ प्रतिशत जति राइटब्याकबाट नाफा छ । राइटब्याक नगरेको नाफा साढे ८ प्रतिशत छ ।

तर, कृषि विकास बैंकको हकमा भने व्यापारमा राम्रो छ । निक्षेपको लागत बढेको छ । व्यापार क्षेत्रको सेयर बजारका कारण यो क्षेत्रको नोक्सान बुकिङमात्र भएको हो । यो अल्पकालीन नोक्सान हो । पछि रिकभर हुन्छ । कारोबारको आधारमा ब्याज आम्दानी बढेको छ । अरु क्षेत्रमा राम्रै देखिएको छ । समग्रमा हेर्दा ट्रेडिङ लसका कारण नाफा घटेको हो

– बैकिङ प्रणालीमा लामो समय भइसक्यो तरलता समस्या देखिन थालेको । अझै सहज हुने छाँटकाँट देखिँदैन । तरलता समस्या निम्त्याउन बैंकहरु नै दोषी छन् भन्ने आरोप पनि छ । बैंकहरुले निक्षेप संकलन र कर्जा लगानीबीच तालमेल मिलाउन किन सकिरहेका छैनन् ?

बैंक भनेको यस्तो क्षेत्र हो, जसले एउटाबाट लिने र अर्कोलाई दिने काम गर्छ । लिने र दिने बीचमा बसेर बैंकले व्यवस्थापनमात्र गर्ने हो । हामीले नियमको निर्देशनमा काम गर्ने हो । हाम्रो जस्तो मुलुक जहाँ उत्पादन चक्रबाट अर्थ व्यवस्था चलेको छैन । हाम्रो नियन्त्रणमा आर्थिक गतिविधि नभएकाले जहिले पनि बाहिरबाट आयात गर्नुपरेको छ । विगत १०/१२ वर्षको अवस्थालाई विश्लेषण गर्ने हो भने एकदुई वर्षमात्र तरलता सहज भएको छ । त्यो पनि प्राकृतिक प्रकोप (भूकम्प) र कोरोना महामारीमा जतिबेला आर्थिक गतिविधि ठप्प प्रायः थियो ।

हाम्रो अर्थ व्यवस्था रेमिट्यान्स, विदेशी पर्यटक, ऋण, सापटी र अनुदानमा भर परेको छ । विदेशी पर्यटकमा भर पर्ने, ऋण सापटी, अनुदान र बाहिरी सहयोगमा भर पर्ने यस्ता कारणले पनि सधैं हामी समस्यामा छौं । व्यापारमुखी अर्थ व्यवस्था समस्याको मुख्य कारण हो । रेमिट्यान्स आएन, पूँजीगत खर्च भएन वा विदेशीहरु आएनन् वा ऋण अनुदान आएन भने कहीं न कहीं समस्या हुन्छ । योमध्ये कुनै एकमा असर पर्दा पूरा अर्थ व्यवस्थामै समस्या देखिन्छ ।

अहिले मौद्रिक नीति कसिलो छ । उत्पादन र व्यवसायिक क्षेत्रलाई फरक ब्याजदर राखिएको छ । तरलता व्यवस्थापन गर्न बैंकलाई संकट नपरोस् भनेर ब्याजदर करिडोरका दुईतीन औजार यस पटक नयाँ प्रयोगमा आउँदैछ ।

अहिले उत्पादनलाई जोड दिएर बजेट तथा मौद्रिक नीति आएको छ । सिमेन्ट, विद्युत निर्यात जस्ता कुराले आश पनि जगाएको छ । पर्यटक आए भने धेरै दिन बस्न सक्ने अवस्था सृजना गर्नुपर्छ । एनआरएनको पैसा ल्याउनुपर्‍यो । संसार अहिले मन्दीमा छ । सबै मुलुकले आफ्नो रणनीति अपनाएका छन् । यसको क्षतिबाट बच्न रणनीतिमा चल्नुपर्छ ।

– लगानी गर्ने पैसा नभएर बैंकहरुले विदेशबाट धमाधम ऋण ल्याएका छन् । कृषि विकास बैंकले अहिलेसम्म कति ऋण ल्यायो ?

हामीले इन्टरनेशनल फुड फर एग्रिकल्चर डेभलपमेन्ट (इफाड)बाट करिब ३० वर्षको अवधिमा भुक्तानी हुने गरी १० अर्ब रुपैयाँ कृषिको मूल्य श्रृङ्खलामा काम गर्ने गरी लिएका छौं । पहिलो चरणको किस्ता आएको छ । अब हामीले काम गरेको रिपोर्ट पठाउँदैछौं । त्यसपछि अर्को किस्ता आउँछ । प्रत्येक वर्ष कति लगानी गर्ने भनेर सम्झौता हुन्छ । पहिलो चरणम २ अर्ब बढीको लगानी गर्छौं । ऋण पनि लक्षित ठाउँमा जानुपर्‍यो । ८० करोड ल्याइसकेका छौं । अर्को विश्व बैंकसँग २४ मिलियन डलरको सम्झौता भइसक्यो । अब केही दिनमा आधिकारिक जानकारी गराउँछौं ।

– अहिले आएको मौद्रिक नीतिको व्यवस्था बैंकहरुका लागि कतिको सहज छ ?

अहिले मौद्रिक नीति कसिलो छ । उत्पादन र व्यवसायिक क्षेत्रलाई फरक ब्याजदर राखिएको छ । तरलता व्यवस्थापन गर्न बैंकलाई संकट नपरोस् भनेर ब्याजदर करिडोरका दुईतीन औजार यस पटक नयाँ प्रयोगमा आउँदैछ ।

बाहिरबाट ल्याउने पैसा अर्थात विदेशी ऋणलाई प्राथमिकता दिएको छ । मौद्रिक नीति अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा केन्द्रित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *