यी तीनथरीलाई उम्मेदवार बनाउने कि नबनाउने ? एमालेले माग्यो सुझाव – Nepal Press

यी तीनथरीलाई उम्मेदवार बनाउने कि नबनाउने ? एमालेले माग्यो सुझाव

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने मापदण्डमाथि छलफल थालेको छ । स्थायी कमिटी बैठकमा मापदण्डको मस्यौदा छलफलका लागि पेस भएको र त्यसमा सुझाव मागिएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

स्थायी कमिटी सदस्यलाई दिइएको मस्यौदामा केही बुँदामा प्रश्न राखिएको छ । त्यसमा बहुसंख्यक सदस्यको जे राय आउँछ सोही बमोजिम निर्णय हुने बताइएको छ । विशेषगरी तीन मापदण्डमा एमालेभित्र छलफल भइरहेको नेताहरुले बताएका छन् ।

हाल प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट सांसद रहेकाहरूलाई सोही ठाउँमा पुनः उम्मेदवार बनाउने कि नबनाउने भन्ने सुझाव सदस्यहरूबाट मागिएको छ । यद्यपि अहिले समानुपातिकमा रहेकाहरू प्रत्यक्षतर्फको उम्मेदवार बन्न भने बाधक हुने छैन ।

त्यस्तै यसअघि एक वा त्यो भन्दा बढी पटक समानुपातिक सांसद भएकाहरूलाई सोही कोटामा फेरि उम्मेदवार बनाउने कि नबनाउने भन्ने सुझाव पनि मागिएको छ । पार्टीले समानुपातिकमा एकपटकमात्र मौका दिने मापदण्ड यसअघि नै बनाइसकेकाले समानुपातिक कोटामा पटकपटक उम्मेदवार नबनाउन एमालेमा दबाब छ ।

त्यस्तै राष्ट्रियसभाका सांसदलाई प्रतिनिधिसभा वा प्रदेशसभाको सदस्यमा उम्मेदवार बनाउने कि नबनाउने भन्नेबारे पनि एमालेले राय मागेको छ । राष्ट्रियसभाका बहालवाला सांसदलाई उम्मेदवार नबनाउन पार्टीमा दबाब छ ।

अर्को प्रश्न भनेको हालैको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनाउने कि नबनाउने भन्ने सन्दर्भमा पनि एमालेले राय मागेको छ । प्रदेशसभा सांसदलाई मेयर उम्मेदवार बनाउँदा पाँचजनामध्ये ४ जना पराजित भएको भन्दै स्थानीय तहमा उम्मेदवार बनेर हारेका वा जितेकालाई लगत्तै संसदीय चुनावमा उम्मेदवार नबनाउन दबाब छ ।

एमालेले ६ वटामध्ये तीनवटा महानगरमा प्रदेशसभा सदस्यलाई राजीनामा गराएर मेयरको उम्मेदवार बनाएको थियो । उनीहरू तीनैजना पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर