कल सेन्टर ठगी प्रकरण : चिनियाँ गिरोहमाथिको अनुसन्धान संगठित अपराधमा ‘स्वीच’
काठमाडौं । कल सेन्टरको आडमा ठगी गरेको आरोपमा विभिन्न स्थानबाट पक्राउ परेको चिनियाँ नेतृत्वको गिरोहलाई काठमाडौं जिल्ला प्रहरी कार्यालयले संगठित अपराधमा अनुसन्धान सुरु गरेको छ ।
यसअघि महानगरीय वृत्त गौशाला र सोह्रखुट्टेमा अभद्र व्यवहार कसुरमा हिरासतमा राखिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झिकाएर संगठित अपराधमा अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
प्रहरीका अनुसार ५ चिनियाँ, दुई भारतीय र केही नेपालीमाथि संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ ।
उनीहरुमाथि राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को कसुर र संगठित अपराधमा प्रमाण जुटाउने काम भइरहेको प्रहरीले जनाएको छ । मासिक करोडौँ रुपैयाँ ठगी गर्ने गरेको आरोप लागेको चिनियाँ गिरोहलाई अभद्र व्यवहारमा अनुसन्धान गरेर उन्मुक्ति दिन खोजिएको आरोप लागेपछि प्रहरीले कसुरबमोजिम सम्बन्धित कानुन टेकिएको दाबी गरेको छ ।
’हामीले सकेसम्म कडा सजाय माग गर्ने किसिमले अनुसन्धान गरिरहेका छौँ’, काठमाडौं प्रहरी परिसरका ती अधिकृतले भने । काठमाडौंको गैरीगाउँस्थित कल सेन्टरबाट मात्र करिब ११ सयको संख्यामा ल्यापटप र डेस्कटप बरामद भएको थियो ।
यो गिरोहले शक्ति केन्द्रको संरक्षण पाउने गरेको पनि आरोप लाग्ने गरेको छ । गत वर्षमात्र यस्तै गतिविधि गरेको आरोपमा पक्राउ परेका एक सय २० भन्दा बढी चिनियाँ नागरिकलाई चीन सरकारले प्लेन चार्टर्ड गरेर स्वदेश फर्काएको थिए ।
राष्ट्र बैक ऐन २०५८ को दफा ९५ मा भनिएको छ– कसैले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनविपरीत हुने गरी निक्षेप लिएमा वा दिएमा वा डिबेन्चर वा अन्य वित्तीय उपकरण जारी गरेमा वा बैंकले निर्धारण गरेको नीति विपरीत ब्याज लिनु वा दिनु गरेमा वा विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा वा प्रचलित कानुन बमोजिम बैंकबाट इजाजत पत्र लिनु पर्नेमा नलिई त्यस्तो कारोबार गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिने छ ।’
उक्त कसुर गर्नेलाई विगो जफत गरि विगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।