ठेक्का अलपत्र पार्ने शैलुङ कन्सट्रक्सनलाई तीन वर्षे प्रतिबन्ध, दुई चिनियाँ कम्पनी पनि कालोसूचीमा
काठमाडौं । सरकारले समयमा काम नसक्ने, निर्माण लागत बढाएर अलपत्र छाड्ने १० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज सार्वजनिक सूचना जारी गरी दुई चिनियाँसहित निर्माण कम्पनीलाई नयाँ कुनै खरिद प्रक्रियामा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको जानकारी गराएको हो ।
उक्त सूचीमा शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनी पनि रहेको छ । सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर-नगरकोट-सिपाघाट र बालाजु, त्रिशूलीरछहरे-विदुर सडक ठेक्का अलपत्र पारेपछि एआईपीएलसँग जेभीमा रहेको शैलुङलाई तीन वर्ष प्रतिबन्ध लगाइएको हो ।
अधिकारी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का खुमलटारस्थित घरबेटी हुन् । पहुँचका भरमा थुप्रै विकास आयोजनाहरू अलपत्र पारेको ठेकेदारको घरमा आश्रय लिएको भनेर विगतदेखि प्रचण्डको आलोचना हुने गरेको छ । अहिले यो कम्पनी शारदाका छोरा अनुप अधिकारीका नाममा छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले बालाजु-त्रिशूली सडक खण्डको (मुङखु-तीनपिप्ले) साढे ५ किलोमिटर सडक तत्काल अघि बढाउन बोलपत्र आव्हान गरी फास्ट ट्रयाकमा काम गर्नेगरी सैद्धान्तिक सहमति दिइसकेको छ ।
बर्दघाटको २२० केभी प्रसारण लाइन आयोजना समयमा नसक्ने चोङदिङ इन्टरनेशनल र विद्युतकै अर्को एक आयोजनामा चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुपलाई पनि ३ वर्षे प्रतिबन्ध लगाइएको छ ।