विकासको नमुना अभ्यास, बगर बन्यो कपिलधाम – Nepal Press

विकासको नमुना अभ्यास, बगर बन्यो कपिलधाम

रुपन्देही । एक दशकअघि खोलाको बगर रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ७ र ८ को करिब १ सय बिगाह जग्गा अहिले देशकै नमुना पर्यटकीय क्षेत्र बनेको छ । कपिल महर्षिको नाममा यहाँको बगर तथा नदी उकासको जग्गा संरक्षण गरेर नमुना पर्यटकीय क्षेत्र कपिलधाम बनाइएको हो ।

कोइली नदी र चौवा खोलाको बीचमा रहेको यो जग्गा एक दशकअघि सम्म खोलाले कटान गर्ने र प्रयोगविहीन अवस्थामा थियो । अहिले अध्ययन गर्ने, योग गर्ने, बालबच्चा भुलाउने, साहित्यिक प्यास मेटाउने केन्द्र बनेको छ ।

२०६६ सालमा स्थानीय शंकरप्रसाद आचार्य, आत्मराम आचार्य, कुलराज पौडेल, पोमनारायण पौडेल, कृष्णमुरारी ज्ञवाली, भवानीशंकर पौडेल, हरिराज घिमिरेसहितको टोली भारतमा स्वामी रामदेवसँग योग सिक्न गएपछि यो ठाउँलाई संरक्षण गरेर अगाडि बढाउने योजना बनेको हो ।

कपिलधाम व्यवस्थापन समितिका अध्यक्ष शंकरप्रसाद आचार्य नदी उकास क्षेत्रमा यो योजना सुरु नगरेको भए सुकुम्बासीको नाममा अतिक्रमण भइसक्ने बताउँछन् ।

‘सुरुमा हामीले यो विषय रामदेव गुरुकहाँ योग सिक्न गएका वेला सोचेका हौं, यहाँ आएपछि स्थानीयलाई बुझाउन धेरै समय लाग्यो, कानुनी प्रक्रिया मिलाउन पनि लामो समय लाग्यो, अहिले नेपालकै नमुना धार्मिक, सांस्कृतिक, साहित्यिक केन्द्र बनेको छ । सबैबाट सहयोग हुन थालेको छ’, उनले भने, ‘पहिले त अतिक्रमित क्षेत्र जोगाउन् थियो । महर्षि कपिलले तपस्या गरेको विषय धेरै पहिले चर्चा चलेको थियो । स्थानीय थारु अगुवाहरुले पनि यसलाई सुनाएका थिए । त्यसकारणले यसलाई कपिलधामकै रुपमा अगाडि बढाउन सफल भयौं ।’

उनका अनुसार जिल्ला वनले धार्मिक वन भनेर ७२ विगाह भोगचलनलाई स्वीकृति दिएको छ । बाँकी वरिपरिको नदी उकास क्षेत्र संरक्षण गरिएको छ । महर्षि कपिल ऋषिले तपस्या गरेको विषयमा संस्कृतिविद् मोदनाथ पश्रित, डा.विष्णुराज आत्रेयलगायत धेरै जानकारसँग सुझाव लिएर नै अगाडि बढेको उनले बताए ।

‘२०६६ सालसम्म अनुसन्धान गरियो । आधारभूत प्रमाण भेटिएपछि जग्गा संरक्षणपछि मात्रै निर्माणको काम थालियो, यो अवधिसम्म यो क्षेत्रमा रहेका करिब साढे २ सय अस्थायी घरलाई स्थानीयको सहकार्यमा अन्त व्यवस्थापन गरेका छौं’, आचार्य भन्छन् ।

अहिले यहाँ कक्षा ६ सम्मको गुरुकुल शिक्षा अध्ययन केन्द्र, महर्षि ऋषिको आधारशीला, १०८ जना विशिष्ट व्यक्तिको सालिकसहित साहित्य तीर्थ केन्द्र बनेको छ । विभिन्न मन्दिर, प्रज्ञापुस्तक, बालोद्यान, बौद्ध गुम्बा, योगशाला, नेपाल वाङ्मय प्रतिष्ठान लुम्बिनीको केन्द्रीय कार्यालय स्थापना भएका छन् । लुम्बिनी प्रज्ञा प्रतिष्ठानलाई समेत यही ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले कपिलधामले यहाँको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । आफ्नो पहलमा यहाँको अन्य विकासका कामसमेत अगाडि बढेको र प्रदेश सरकारले कपिलवस्तुलाई सांस्कृतिक राजधानी बनाउने घोषणा गरेकाले यसलाई नमुना योजनाको रुपमा अगाडि बढाउने उनको भनाइ छ ।

साहित्य तीर्थको नमुना योजना

कपिलधामभित्र सांस्कृतिक तथा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिहरुको सालिक बनाएर ‘साहित्य तीर्थ’ बनाउन लागिएको छ । १०८ जना व्यक्तिको सालिक राख्ने योजनाअनुसार अहिलेसम्म २२ जनाको स्थापना भएको साहित्य तीर्थ व्यवस्थापन समितिका अध्यक्ष ऋषि आजाद बताउँछन् ।

उनका अनुसार सबैभन्दा पहिले आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको थियो । आचार्यको सालिक २०७० मा अनावरण गरिएको थियो । उनको सालिक साहित्यकार हरिराज शर्माको खर्चमा स्थापना गरिएको थियो ।

त्यसपछि कविशिरोमणि लेखनाथ पौडेलको सालिक बनाइएको छ  । उनको सालिक नेपाल प्रज्ञा प्रतिष्ठान र वाणगंगा साहित्य प्रतिष्ठानको लागतमा बनाइएको हो  । विभिन्न स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङ्मय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन् । दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा पं. दधिराम मरासिनी, भीमनिधि तिवारी साहित्य प्रतिष्ठानद्वारा भीमनिधि तिवारीको र धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा जनकविकेशरी धर्मराज थापाको प्रतिमा राखिएको छ  ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा, जयतु संस्कृतम् समितिद्वारा पूर्णप्रसाद ब्राह्मण र खिल शर्मा, राजीवलोचन जोशीद्वारा राजीवलोचन जोशीको प्रतिमा राखिएको छ  । रुद्रराज साहित्य सेवा समितिद्वारा सरदार रुद्रराज पाण्डे, विष्णुराज आत्रेयद्वारा रश्मिराज आत्रेय र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा मास्टर मित्रसेन थापाको प्रतिमा राखिएको छ  ।

त्यस्तै थारू अगुवा कृष्णबहादुर चौधरीद्वारा नेपालका त्रिभुवन, मदन र साझा पुरस्कार पाउने एकमात्र साहित्यकार भवानी भिक्षुको र रूपादेवी तथा अनन्त पन्थीद्वारा टीकाराम पन्थीको प्रतिमा राखिएको छ  । एकमात्र महिला कवयित्री लोकप्रिया देवीको प्रतिमा शशि रिमाल र शंकर रिमालले स्थापना गरेका हुन्  । उनी लक्ष्मीप्रसाद देवकोटाकी बहिनी हुन्  । वासु स्मृति प्रतिष्ठानद्वारा कवि वासु शशिको र समालोचक कुमारबहादुर जोशीको प्रतिमा राखिएको छ ।

केही समयअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बुवा मंगलप्रसाद नेपालको प्रतिमा यहाँ राखिएको छ । प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ  । प्रतिमा २ देखि ४ फुट अग्ला छन् । प्रतिमा ढुंगा, पित्तल र फलामका बनाइएका छन् । एउटा प्रतिमा राख्न डेढदेखि २ लाख खर्च हुन्छ  । लुम्बिनी वाङ्मय प्रतिष्ठानले संयोजन गरेर साहित्य तीर्थ बनाएको हो  । कपिल आरोग्य मन्दिर कपिलधाम धार्मिक वनको ३ बिघा जग्गामा प्रतिष्ठानले साहित्य तीर्थ बनाइरहेको हो  ।

यसैगरी साहित्यकार कृष्णप्रसाद कोइराला, रश्मिराज आत्रेय र भीमनिधि तिवारी, हर्षबहादुर बूढाको प्रतिमा राखिएको छ । प्रतिमा पूर्व–पश्चिम लामो लाइन बनाएर राखिएको छ  । ४ मिटर फराकिला दूरीमा छन्  । प्रतिमाको दक्षिणतिर फलामको द्वीपस्थल बनाइएको छ  । उनीहरूको जन्म जयन्तीलगायतका कार्यक्रम गर्दा द्वीप प्रज्ज्वलन गर्न द्वीपमाला बनाइएको हो  ।

राष्ट्रको गौरव बढाउने प्रतिभावान मूर्धन्य साधकको योगदानको उच्च मूल्यांकन गर्न यहाँ प्रतिमा राखिएको संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले बताए  । साहित्य पर्यटनको गन्तव्य बनाउन, साहित्यानुरागीको प्यास मेटाउन, साहित्य तीर्थका रूपमा विकास गर्न, एकै ठाउँमा मुलुकभरका अमूल्य निधिको अध्ययन अवलोकन गर्ने केन्द्रको रूपमा विकास गर्न, नेपाली साहित्यको आद्योपान्त थाहा पाउन धेरै ठाउँ जान नपर्ने बनाउन यसको थालनी गरिएको प्रतिष्ठानका अध्यक्ष आजाद बताउँछन् ।

उनका अनुसार कपिलधाम कपिलमुनिको तपस्थली र यहीबाट नै सांख्य दर्शनको प्रवर्तन गरेर सांख्य दर्शन विश्वभर फैलिएकाले यो क्षेत्रको संरक्षणमा लागिएको हो । दर्शनको क्षेत्रमा पूर्वीय उपलब्धिको रुपमा उनको नाम सगर्व लिने गरिन्छ । कपिल प्राचीन युगका एक महत्वपूर्ण मुनि थिए । उनलाई प्राचीन ऋषि मानिन्छ ।

अध्यक्ष आजादका अनुसार कपिलमुनि ईसापूर्व छैठौं, सातौंै शताब्दीका हुन् भन्ने अनुमान छ । किनकि गौतम बुद्धको दर्शनमा यिनको गहिरो प्रभाव परेको छ । सांख्य दर्शनमा कारण कार्य श्रृङ्खलाको चर्चा छ । बुद्ध दर्शनले पनि कारण कार्य श्रृङ्खला भनेको छ । भागवत गीतामा पनि कारण कार्य शृङ्खलाको चर्चा छ ।

अठारौंं शताब्दीका हेगेलले पनि कारण कार्य शृङ्खलाको व्याख्या गरेका छन् । माक्र्सवाद त कारण कार्य श्रृङ्खलाको व्यवस्थित दर्शन हो । पश्चिमी दर्शनहरुमा कपिल दर्शनको गहिरो प्रभाव छ ।

साहित्य तीर्थको स्वप्नकार स्वर्गीय प्रा.डा.विष्णुराज आत्रेय हुन् । उनका भाइ हरिराज शर्माले सुरु गरेको यो धाममा पछिल्लोपटक लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका स्वर्गीय हिमलाल ज्ञवाली जोडिएका थिए । कपिलधामस्थित कपिल आरोग्य मन्दिरको समिति पनि यसको सल्लाहकार तथा संरक्षक रहेको छ । अहिले यो लुम्बिनी प्रदेशको आकर्षक पर्यटकीय क्षेत्र भएको छ ।

यस परियोजनाको लागि व्यवस्थापन समितिको अध्यक्षमा ऋषि आजाद, उपाध्यक्षमा शंकर आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, कोषाध्यक्षमा मनकला गिरी, सदस्यहरुमा विष्णुप्रसाद भण्डारी, ध्रुव बेल्बासे, विष्णु गिरी, इन्द्रप्रसाद कोइराला र सोना चौधरी रहेका छन् ।

यही व्यवस्थापन समितिले मापदण्ड निर्माण समिति बनाएको छ । यसमा राजेन्द्रकुमार आचार्य, ऋषिकेशव भारद्वाज, ऋषिराम भुसाल कृष्णप्रसाद कोइराला र ऋषि आजाद रहेका छन् । त्यस समितिले मापदण्ड तयार गरेको छ । व्यवस्थापन समितिलाई काम गर्न सहज होस् र विवाद नआओस् भनी प्रतिमूर्ति स्थापना गर्न सल्लाह तथा सिफारिस समिति बनाइएको छ । जुन समितिमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी ऋषिकेशव भारद्वाज, ऋषिराम भुसाल, हरि तिमिल्सिना, पुरुषोत्तम खनाल, हरिराज शर्मा, उन्नति बोहोरा शीला, पशुपतिमणि त्रिपाठी, छविलाल कोपिला, राजेन्द्रकुमार आचार्य, बालकृष्ण चापागाईं, दीन पन्थी छन् ।

धामको व्यवस्थित विकासको लागि मापदण्ड निर्माण समिति पनि बनाइएको छ । निर्माण समितिको अध्यक्षमा शंकरप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सदस्यमा मनकला गिरी, सोना चौधरी र ऋषि आजाद रहेका छन् ।

प्रदेश प्रज्ञा प्रतिष्ठान बनाउने योजना

धाम व्यवस्थापन समितिले यसलाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने सोच बनाएको छ । धार्मिक तथा साहित्यिक क्षेत्रमा रुचि राख्नेहरुमात्रै नभई बालोद्यान र योग सिक्ने क्षेत्रको व्यवस्थापन तथा अन्य आराम गर्ने सेडहरुको व्यवस्थापनले गर्दा धाम पर्यटकीयस्थल बनेको छ । अहिलेसम्म जनस्तरबाटै यसको व्यवस्थापन भइरहेको छ । पछिल्लो समय स्थानीय र प्रदेश सरकारले समेत चासो र सहयोग गर्न थालेका छन् ।

गुरुकुल शिक्षा कक्षा ६ सम्म स्वीकृत भए पनि यसको खर्च यहीको स्रोतबाट गरिएको व्यवस्थापन समितिले जनाएको छ । धामको व्यवस्थापन गर्न समितिले सरकारलाई आग्रह गरेको छ । वरिपरिको नदी किनारमा थप तटबन्ध, थप पर्यटकीय आकर्षकका योजना निर्माण तथा प्रदेश प्रज्ञा प्रतिष्ठानलाई व्यवस्थापन गरी यसलाई स्थायी बनाउने अबको योजना रहेको अध्यक्ष आचार्य बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *