कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन व्यवस्थित गर्न संसदीय समितिको निर्देशन (भिडिओ) – Nepal Press

कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन व्यवस्थित गर्न संसदीय समितिको निर्देशन (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन भइरहेको रेल सेवालाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले ३५ किलोमिटरको उक्त रेल सेवा सञ्चालका लागि प्रर्याप्त ध्यान नपुर्याउँदा अनेकन समस्या देखिएको भन्दै रेल सेवालाई व्यवस्थीत गर्न सरकारलाई निर्देशन दिएको हो । रेल सेवालाई सुधारका लागि आवश्यक जनशक्ति, ममर्त गर्ने वर्कशप, फ्युल सेन्टर स्थापना लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार निर्माण गर्न निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै, विद्युतीय रेल सञ्चालनलाई प्राथमिकता दिने गरी रेलमार्गमा आवश्यक विद्युतीय संरचनाहरू निर्माणको कार्य तत्काल सुरु गर्न पनि निर्देशन दिइएको उनले बताइन् ।

त्यस्तै बैठकले नेपालको सबै भन्दा पुरानो र राष्ट्रिय महत्वको पूर्वपश्चिम राजमार्गको स्तरोन्नतिका क्रममा पूर्व तयारीका काम सकेर मात्र ठेक्का प्रक्रिया अघि बढाउन र नारायणगढ–बुटवल सडक निर्माणमा देखिएका कमीकमजोरी उक्त सडक खण्डमा नदोहोरिनेगरी काम अघि बढाउन निर्देशन दिएको छ भने पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरिँदा विभिन्न सडक खण्डमा पर्ने वन, वातावरण तथा वन्यजन्तु संरक्षणलाई ध्यान दिन सरकारलाई निर्देशन दिइएको सभापति खड्काले बताइन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले लामो समय रेल सञ्चालन नहुदा कर्मचारी हटाइएको र अहिले कर्मचारी भर्ना गर्न विधि र प्रक्रिया लामो रहेकाले समस्या देखिएको बताए । उनले समयमा नै गुणस्तरीय काम नगर्नेको ठेक्का रद्द गर्न कुनै समस्या नरहेको स्पष्ट पारे ।

त्यस्तै सांसदहरुले राष्ट्रिय महत्वको आयोजनाहरु निर्माणमा अस्वभाविक ढिलाई भइरहेको भन्दै गम्भीर बन्न सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *