मधेसका मुख्यमन्त्रीदेखि सांसदसम्मको बढाइयो पारिश्रमिक र सुविधा, कति पुग्यो ? – Nepal Press

मधेसका मुख्यमन्त्रीदेखि सांसदसम्मको बढाइयो पारिश्रमिक र सुविधा, कति पुग्यो ?

अब मुख्यमन्त्रीले गाडीपिच्छे ३ सय लिटर र मन्त्रीहरुले गाडीपिच्छे २५० लिटर इन्धन पाउने

जनकपुरधाम । मधेसका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा बढेको छ । मधेसका मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक बढेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक प्रति महिना २ हजार रुपैयाँ बढेको छ । राजपत्रमा प्रकाशित भएको सूचना मधेसका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको वेवसाइटमा प्रकाशित गरिएको छ ।

मन्त्रिपरिषद्ले असार २३ गते नै पारिश्रमिक बढाउने निर्णय गरेपनि राजपत्रमा प्रकाशित सूचना डेढ महिनापछि भदौं ५ मा कानून, न्याय तथा प्रदशसभा मामिला मन्त्रालयको वेवसाइटमा अपडेट गरेको पाइएको छ । उक्त सूचनामा राज्यमन्त्री शब्द भन्ने उल्लेख छैन ।

मन्त्रिपरिषद्को निर्णयबमोजिम अब मुख्यमन्त्री र मन्त्रीहरुले गाडी चढ्न पर्याप्त इन्धन पाउने छन् । मुख्यमन्त्रीले प्रतिमहिना ३ सय लिटर र मन्त्रीहरुले प्रति महिना २५० लिटर इन्धन पाउँदै आएका थिए ।

इन्धनको इकाई दरमा ‘लिटर’ शब्दपछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउन प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय भएको सूचनामा उल्लेख छ । अब मुख्यमन्त्रीले गाडीपिच्छे तीन सय लिटर र मन्त्रीहरुले गाडीपिच्छे २५० लिटर इन्धन सुविधा पाउने छन् ।

पारिश्रमिक वृद्धिपछि अब मुख्यमन्त्री लालबाबु राउतको तलब मासिक ६२ हजार ९७० रुपैयाँ पुगेको छ । यसबाहेक उनले आवास सुविधा र अतिथि सत्कार खर्च तीन हजार पनि पाउँदै आएका छन् ।

यस्तै मन्त्रीहरुले अब मासिक ५९ हजार ७८० रुपैयाँ तलब पाउने छन् । राजपत्रमा प्रकाशित सूचनामा राज्यमन्त्रीको पारिश्रमिकबारे केहि उल्लेख गरिएको छैन । राज्यमन्त्री मासिक ५६ हजार ४९० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् ।

यस्तै सभामुखको पारिश्रमिक प्रति महिना ६० हजार पुगेको छ भने उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेशसभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५८ हजार ४९० पुगेको छ । यस्तै प्रदेश सांसदको मासिक तलब ५७ हजार पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर