बालेनले थर्काएपछि अल्फाबिटाका घरधनीको प्रश्न- मेयर हो कि डन ? (भिडिओ)
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेस पुगेर घरधनीको झाँको झारेका छन् । मापदण्डविपरीत भवनको बेसमेन्टलाई व्यवसायिक प्रयोजनका लागि भाडामा लगाइएको भन्दै उनी आक्रोशित तवरले पेस भए ।
आज बानेश्वरका विभिन्न स्थानमा रहेका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट खाली गराउने क्रममा मेयर साह अल्फाबिटा पुगेका हुन् । त्यसक्रममा अल्फाबिटाका मालिक द्विराज शिवाकोटीसँग उनको बाझाबाझ भएको थियो ।
बालेनले बेसमेन्ट खाली गर्न आदेश दिएपछि शिवाकोटीले प्रतिवाद गरेका थिए । आफूहरुले पार्किङका लागि अलग्गै स्थान छुट्याएकाले बेसमेन्टलाई व्यवसायिक प्रयोजनमा लगाएको उनको भनाइ थियो । तर, बालेनले उनको जवाफमा चित्त बुझाएनन् । बेसमेन्टलाई भाडामा लगाउनै नपाइने मापदण्ड उनले सम्झाए ।
‘तपाईंको विल्डिङको पार्किङ कहाँ छ ?’ बालेन प्रश्न गरे ।
‘काठमाडौंका सबै विल्डिङमा पार्किङ छ त हजुर ?’ शिवाकोटीले प्रतिपश्न गरे ।
बालेनले कमर्सीयल विल्डिङमा पार्किङ हुनैपर्ने जवाफ दिए ।
‘हामी काठमाडौंभरिका कमर्सियल विल्डिङको पार्किङ एरिया खालि गरिरहेका छौं,’ उनले भने ।
शिवाकोटीले भने आफ्नो भवनको बेसमेन्टमा सवारीसाधन छिराउन सकिने बाटो नै नभएको बताए । उनले सरकारसँग अनुमति लिएर व्यवसाय सञ्चालन गरेको दाबी गरे ।
बालेनले सोधे, ‘तपाईंले हस्पिटल खोल्ने, ल्याब खोल्ने भनेर एप्रूभल लिनुभएको छ ?’
‘मैले व्यवसाय गर्ने भनेर लिएको छु,’ शिवाकोटीले जवाफ दिए ।
त्यसपछि बालेन एकाएक जंगिए ।
‘तपाईंको घरको नक्शा मसित हुनुपर्छ ?’ उनले उँचो स्वरमा भने ।
‘अनि नगरपालिकासँग हुनु पर्दैन ? तपाईंको अफिसमा होला नि,’ घरधनीले जवाफ दिए ।
त्यसपछि बालेन पत्रिका देखाउँदै चिच्याए, ‘यत्रो नोटिस दिएको छ, के हो यो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस देको छैन ? तपाईंको घरको नक्शा तपाईंसँग हुने कि मसित हुने ?’
पछाडिबाट एक व्यक्तिले भने, ‘ए बालेन सर । तपार्इं धेरै आवेशमा नआउनुस् । तपाईं हाम्रो प्रतिनिधि होइन ?’
शिवाकोटीले थपे, ‘मेयर हुँ भन्दैमा व्यवसायीलाई थर्काउन मिल्छ ? हाम्रो चाहिँ सम्मान हुँदैन ? तपाईं डन हो कि मेयर हो ?’
त्यसपछि महानगरका एक कर्मचारीले नक्शा लिएर अफिस आउन सुझाव दिए । शिवाकोटीले एउटा चिठी दिन आग्रह गरे । तर, बालेनले चिठी दिन नसक्ने बताए ।
‘साढे दुई लाख घरमा चिठी दिन सकिँदैन, पत्रिकामा छाप्ने हो,’ उनले भने ।
बालेनले विल्डिङको बेसमेन्टमा सटर लगाइदिन आदेश दिए । शिवाकोटीले वकिलसहित नक्शा लिएर आउने बताए । बालेन हिँडे ।
बालेनसहितो समूह हिँडिसकेपछि शिवाकोटीले मिडियासामु आक्रोश पोखे ।
‘हामी वर्षेनी करोडौं ट्याक्स दिन्छौं । हामीसँग नक्शा छ, तर मैले गोजीमा बोकेर हिँडेको हुँदैन नि । स्टन्ट गरेर हुन्छ ? मेयर हो कि डन हो ? हामी पनि यो देशको नागरिक हौं ? यसरी अपमान गर्न पाइन्छ । नोटिस नदिइकन मिडियासहित आएर दादागिरी देखाउने हो ?’ उनले भने । उनले मापदण्डविपरीत भएमा कानूनी प्रक्रियाबाट कारवाही गर्न चुनौती दिए ।
अल्फाबिटाअघि बालेनले बानेश्वरका अन्य विजनेस कम्प्लेक्समा पुगेर बेसमेन्ट खाली गर्न आदेश दिएका थिए ।
Mayer Balen Sir Ko Kura Ek Dam Sahi ho. 35 Din Sama Na Tere Ko ho. lalpurja6ina Bhan6 Saram Lagnu parnell ho. Afnu Man Marji Garne. Lab Hataounu par6.
Mayor hoina stunt garera hero huna khojne tyo Alfa Bita KO ….. Chain gunda nai ho!