निर्वाचन र राजनीतिभित्रको धर्मनिरपेक्षता – Nepal Press

निर्वाचन र राजनीतिभित्रको धर्मनिरपेक्षता

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तय गरसँगै चुनावी सरगर्मी सुरु भएको छ । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरु चुनावी एजेण्डासहितको घोषणापत्रको तयारीमा जुटेका छन् । घोषणापत्रमा गरिएका घोषणाले दलहरुले भविष्यमा लिनसक्ने मार्गलाई पनि तय गर्ने गर्दछ । तर, कतिपय घोषणा नेताहरुले मौखिक रुपमा नै दिने गर्छन् । नेताले जनताका सामु जनाएका प्रतिबद्धताहरु घोषणापत्रमा उतारिन्छन् । तर, बाँकी बाचाहरु पाण्डोरा बक्समा कैद हुन्छन् र केही समयपछि मात्रै खुल्छन् । यस्ता बाचाहरु दूरगामी असर पार्ने हुन्छन् । जसले चर्चा पनि त्यति पाउँछ भने संशय पनि उत्पन्न गराउँछ । यस्तो नियति नेपाल र नेपालीले विगतदेखि वर्तमानसम्म झेल्दै आएका छन् ।

हो, त्यस्तै चर्चा अहिले पुन: सुरु भएको छ । त्यो हो संविधानमार्फत नेपाल धर्मनिरपेक्ष राष्ट्र कायम हुनु र त्यसमा संशोधन नहुनु । अर्थात कहिलेसम्म राजनीतिक नेतृत्व र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको साथ सहयोग प्राप्त रहिरहला रु भन्नुको अर्थ यसलाई आन्तरिक राजनीतिले मात्रै थेगिरहन सक्ला कि बाह्य प्रभाव र दबाब प्रधान बन्ला ! यस्तो संशय किन भन्ने प्रश्न गर्नु स्वाभाविक छ । तर, के फ्रन्टलाइनमा देखिएका नेताहरु संविधान जारी हुँदाको अडानमा जस्तै यो मुद्दामा अडिक रहिरहन सक्लान् ? पछिल्लो समय उनीहरुको सीमा वारपारका गतिविधि हेर्दा !

निर्वाचनमा राजनीतिक मुद्दा र एजेण्डाभन्दा संसदीय अंक गणीत मुख्य विषय बनिरहँदा लेखिएका बाचाभन्दा मौखिक बाचाहरु बलिया हुन् कि ? यस अर्थमा पनि प्रश्न स्वाभाविक बन्छ ।

संविधान जारी भएयता बाग्मतीमा धेरै पानी त बग्यो । तर, सधैँ फोहोर मिसिएको । अनि नेपाली राजनीति पनि बाग्मतीभन्दा कहाँ स्वच्छ रह्यो र ! हिन्दू होस् या गैरहिन्दू बाग्मतीको कुरा गर्दैगर्दा आराध्यदेव भगवान शिवलाई कसरी अलग गरेर हेर्न सकिएला । बोलबमका लागि सबैभन्दा पवित्र तीर्थस्थल यो धर्तीमा कहीं छ भने त्यो नेपालमा कि भारतमा नै छ । त्यो पनि नेपालमा बाग्मती र भारतमा गंगाको छेउ किनारा । भारतको गंगासागर पछिल्ला वर्षहरुमा स्वच्छ र निर्मल भएको छ । सायद त्यति भारतको राजनीति नहोला । यो तर्क र विश्लेषण भारतीय विश्लेषक, राजनीतिकर्मी र सञ्चारकर्मीहरुको नै हो, अन्यथा नबुझ्ने हो भने । तर, अहिलेको समयमा बाग्मती र गंगाको समानता धार्मिकबाहेक अरु रुपमा किन नगर्ने ? फेरि पनि प्रश्न स्वाभाविक बन्छ । भनिन्छ नि ‘धर्ममा राजनीति कि राजनीतिमा धर्म’ कुन चाहिं बढी विशालु ? यो यसको सेवन र सेवा गर्नेहरु नै धेरै जान्दछन् ।

प्रधानमन्त्री देउवा परिवारलाई लाग्दै आएको पश्चिमाकरणको आरोप एकाएक ३६० डिग्रीबाट घुमेर कट्टर हिन्दूत्वको हातमा राखीको रुपमा कसरी गाँठो पर्दैछ ?

भगवान शिवको विशेष महिना साउनको तेस्रो सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ मन्दिर परिसरमा गंगा आरतीमा सहभागी भए । त्यसो त साउन महिनाको पहिलो दिन दिल्लीको तीन दिन भ्रमण टुङ्ग्याएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केका थिए । निर्वाचनको मिति घोषणा हुन पूर्वसन्ध्यामा प्रचण्डको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा लिइयो र लिने गरिएको छ । विषय र प्रसंगले अन्यथा नलागे उपचारका लागि दिल्लीमा रहेकी नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री पत्नी अर्थात फस्ट लेडी डा. आरजु राणा देउवासँग दिल्लीमै भएको प्रचण्डको भेटलाई पनि अर्थपूर्ण रुपमै हेरियो र लेखियो । यी दुवै पात्र आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने ध्याउन्नामा देखिन्छन् । पात्र र प्रवृत्तिले अनर्थ नलागे किनकि दिल्लीमा कुन चाहिं चाबीले लगाइएको ताला खोल्नसक्छ भन्ने परख चलिरहेको छ, जानकारहरुको शब्दलाई सापट लिएर भन्ने हो भने ।

एमाले अध्यक्ष ओली धार्मिक कार्यक्रममा सहभागी भएको साउन तेस्रो सोमबार नौलो परिघटना भने होइन । ओली प्रधानमन्त्री हुँदा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारमा विशेष पूजापाठसहित चितवनको अयोध्यापुरीमा स्थापनाका लागि पठाए । ओलीले चितवनको अयोध्या नै रामको खास जन्मभूमि भएको दाबीसमेत गरे । प्रधानमन्त्री जस्तो राष्ट्रको कार्यकारी पदमा आसिन व्यक्तिले नेपाल(भारत कूटनीतिक सम्बन्धमा ध्यान नदिएको, सांस्कृतिक सम्बन्धलाई अप्ठ्यारोमा पुर्‍याउन खोजेको, अयोध्यापुरी भारतमा नभई नेपालमा नै भएको भनेर ओलीले टस गर्न खोजे जुन उनलाई भारी पर्‍या । ओलीका यस्ता गतिविधि अयोध्यामा राम मन्दिरको शिलान्यास गरेको सत्तारुढ बीजेपीलाई ग्राह्य हुनु स्वाभाविक थिएन ।

ओली यथेष्ट प्रमाणविना नै बोलेको भन्दै देशभित्रै आलोचना भयो । यसको एउटैमात्र कारण थियो, भारतलाई बिजाउने र रिजाउने प्रपञ्चको नेपाली परम्परागत राजनीति र कूटनीतिक खेलो फड्को । ओली पनि भारतलाई बिजाउने खेल खेल्न त पक्कै चाहँदैन थिए । तर, उनको दाबी र गतिविधिले रिजाउनेभन्दा बिजाउने काम बढी गर्‍यो । अब यो उनको राजनीतिक स्टण्ड थियो या कूटनीति, उनैले जानून् ।

आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चक्रमा पजल मिलाउन उद्दत सत्ता घटकका दुई प्रमुख पात्रले गरेको दिल्ली तीर्थाटन नेपाली राजनीतिमा नयाँ रहेन । दिल्लीबाट फर्केपछि प्रचण्डले एक पटक मुलुकको नेतृत्व गरेर तिलस्मी काम गर्ने रहर सुनाइसकेका छन् । यस्तो तिलस्मी काम गर्ने रहर प्रधानमन्त्री पत्नी राणालाई नहोला भन्ने कसरी ? इतिहासमा नाम लेखाउने इच्छा पूरा गराउन उनका श्रीमान काफी छन् । यो मनगढन्ते कुरा होइन । कांग्रेसजनकै कुरा हो । भलै सिक्वेन्स मिल्ने नमिल्ने पछिको कुरा ।

प्रधानमन्त्री पत्नी देउवाले पश्चिमाको खाटोमा हिन्दूत्वको चन्दन रुपी राजनीतिक लेप लगाउने प्रयास गरेकी छन् । बुढानिलकण्ठले सतरञ्जको चाल चलिरहेको विश्लेषण हुने गरेको छ ।

गत वर्ष बालुवाटारबाटै सुरु भएको राखी यात्रा आज पर्यन्त जारी छ । प्रधानमन्त्री देउवा परिवारलाई लाग्दै आएको पश्चिमाकरणको आरोप एकाएक ३६० डिग्रीबाट घुमेर कट्टर हिन्दूत्वको हातमा राखीको रुपमा कसरी गाँठो पर्दैछ ? यो परिघटनाले धेरैलाई चकितमात्रै होइन आश्चर्यचकित पारेको छ । यस्तो आश्चर्य कांग्रेसभित्र र कांग्रेस बाहिर पनि उत्तिकै छ । यसले केहीलाई तर्साएको छ भने केहीलाई फकाएको छ र केहीलाई फसाएको पनि । प्रधानमन्त्री पत्नी देउवाले पश्चिमाको खाटोमा हिन्दूत्वको चन्दन रुपी राजनीतिक लेप लगाउने प्रयास गरेकी छन् । बुढानिलकण्ठले सतरञ्जको चाल चलिरहेको विश्लेषण हुने गरेको छ । विगतका वर्षहरुमा सामान्य उपचारका लागि सिंगापुर नभए युरोप अमेरिका पुग्ने राणाले अहिले दिल्लीलाई कसरी विश्वास गरिन् । विश्वासलाई विश्वस्त बनाउने उपचारको नयाँ विधि हुनसक्ने पनि भनिँदैछ ।

देउवा पत्नीले भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई बाँधेको डोरोले प्रधानमन्त्री देउवालाई भारत भ्रमणका बेला बीजेपी मुख्यालयसम्म डोर्‍याउन सफल भयो । जुन प्रधानमन्त्रीको प्रोटोकलविपरीत थियो । बीजेपी मुख्यालय पुग्ने डोरो समाउन माओवादी अध्यक्ष प्रचण्ड किन छोड्थे र उनी पनि पुगिछोडे ।

केही नेताहरु बर्को ओडेर शुद्ध हुन सिपालु छन् भनिन्छ । भारतसँग अब नेपाली नेताहरुको शुद्धाशुद्धी विशेष हुनैपर्ने जानकारहरु बताउँछन् । यस्तो शुद्धाशुद्धी गेरुवा बस्त्र नओढे पनि फेरोसम्म समात्नसक्ने हुनुपर्छ । अन्यथा पञ्चामृत पाउन गाह्रै छ ।

सुनिन्छ, नेपाली नेताहरुको भारत भ्रमणको क्रममा भारतीय सत्तारुढ नेताहरुले नेपालमा हिन्दू राष्ट्रको विषयलाई थोरबहुत उठाउने गरेका छन् । यो पनि भनिन्छ, कतिपयले यसमा प्रतिबद्धता पनि जनाउने गरेका छन् । कतिपयले केही समय पर्खन आग्रह गर्ने गर्छन् । संविधान जारी गर्दाकै समय हो सायद, भारतीय जनता पार्टीकी तत्कालीन नेतृ हाल दिवंगत सुष्मा स्वराजले राज्यसभामा दिएको अभिव्यक्तिले पनि प्रस्ट पार्छ । उनले भनेकी थिइन्, ‘नेपाली नेताहरुले आफूहरुसँग जे प्रतिबद्धता जनाएका थिए त्यसो नगर्दा नाकाबन्दी लगाउनु परेको हो ।’ बालुवाटारले दिएका पछिल्ला केही नियुक्तिले यी तर्कहरुलाई अझ बल पुर्‍याएको विभिन्न सञ्चारमाध्यममा आएका समाचार टिप्पणीबाट पनि आभाष हुन्छ ।

योगी सरकारका केही मन्त्रीहरुले नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने विषयमा दिएका उत्तेजक अभिव्यक्तिका विषयमा पनि बाखिप छौं । यी व्यक्तिहरु भारतको वर्तमान सत्ता सञ्चालनका निकै प्रिय पात्रका रुपमा रहने गरेका छन् ।

माथि शुद्धाशुद्धीको प्रसंग उप्काएको विषयलाई भारतको पछिल्लो राजनीतिक गर्मागर्मीसँग जोडेर व्याख्या नगरे अपूरो हुन्छ । भनिँदैछ, भारतमा बीजेपी नेतृत्वको सरकारले आगामी लोकसभा निर्वाचनमा हिन्दूत्वको विषयलाई चुनावी मुद्दा बनाउँदैछ । यी विषयहरुको पुष्टि तपाईं हामीले भारतीय सञ्चारमाध्यमलाई सरसर्ती फ्लो गर्‍य‌ौं भने सहजै बुझ्न सक्छौं । भारतमा हिन्दूत्वको विषयलाई केन्द्रीय सरकारले भन्दा बढी प्रयोग र अभ्यास नेपालसँग साँधसीमा जोडिएको भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा हुने गरेको छ । स्मरण रहोस्, उत्तर प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकाल पनि योगी आदित्यनाथले सञ्चालन गरिरहेका छन् । उनको पहिलो कार्यकाल र त्यसअघि उनले नेपालका विषयमा दिएका अभिव्यक्तिहरुका बारेमा धेरै भनिरहनु परोइन ।

दोस्रो कार्यकाल सुरु भएको केही समयमै नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पठाएको निमन्त्रणाको भाषा र उनलाई दिइएको महत्वका विषयमा तपाईं हामीले समाचार पढिसकेका छौं । योगी सरकारका केही मन्त्रीहरुले नेपाललाई हिन्दू राज्य घोषणा गर्नुपर्ने विषयमा दिएका उत्तेजक अभिव्यक्तिका विषयमा पनि बाखिप छौं । यी व्यक्तिहरु भारतको वर्तमान सत्ता सञ्चालनका निकै प्रिय पात्रका रुपमा रहने गरेका छन् ।

भन्न त यहाँसम्म पनि भनिएको छ कि भारतको नयाँ प्रधानमन्त्रीमा बीजेपीको मातृसंस्था अर्थात कट्टर हिन्दूवादी संस्था राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस)ले योगी आदित्यनाथलाई नै प्रोजेक्ट गर्नेछ । यसो गर्नुको मुख्य कारण लोकसभाका ५४३ सीटमध्ये उत्तर प्रदेशमा मात्रै ८० रहेको छ । दोस्रोमा महाराष्ट्र छ । जहाँ ४८ जना लोकसभाका लागि निर्वाचित हुन्छन् । दोस्रो बढी संख्या भएको महाराष्ट्रभन्दा उत्तर प्रदेशको करिब दोब्बर बढी सीट छ । यस मानेमा भारतको केन्द्रीय सत्तामा उत्तर प्रदेशको भूमिका र प्रभाव कति र कस्तो छ, सहजै आँकलन गर्न सकिन्छ । भारतीय राजनीतिज्ञ र वरिष्ठ सञ्चारकर्मीहरुका विश्लेषण सुन्ने, हेर्ने र पढ्ने हो भने बीजेपीले यति महत्वपूर्ण राज्यमा गोरखनाथ मन्दिर (पीठ) मा हुर्के बढेका र सेवा गरेका योगी आदित्यनाथलाई दोस्रो पटक पनि उत्तर प्रदेशको मुख्यमन्त्री सामान्य राजनीतिक घटनाक्रमकै सेरोफेरोमा त पक्कै बनाएन होला ।

सन् २०१९ को लोकसभा निर्वाचनताका विश्व चर्चित म्यागेजिन टाइम्सले बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘किङ् अफ डिभाइडर’ भनेर कभर स्टोरी नै छाप्यो । मोदीलाई डिभाइडर देख्ने पश्चिमाहरुले मुडुलो कपालसहितको गेरुवा वस्त्रधारी, कानमा कुण्डल लगाएका योगीलाई दुनियाँकै ठूलो लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीको रुपमा पाउँदा के गर्ला र के भन्ला ? धेरैको चासो त छँदैछ । त्यसको प्रभाव, दबाब र रवाफ नेपालमा कस्तो पर्ला आफैं अनुमान लगाउनुस् ।

नेपालको राजनीतिक वृत्तमा एउटा भनाइ चर्चित छ, ‘दिल्लीमा पानी परे नेपालमा छाता ओड्ने’ यस्तो राजनीतिक र रणनीतिक संस्कारबाट अहिलेको नेतृत्व पुस्ता पनि ग्रसित छ । भलै नयाँ संविधान जारी गर्दा केही हदसम्म त्यस्तो छाता नओढ्ने प्रयास भयो ।

चर्चित भारतीय अनलाइन पोर्टल ‘द वायर’ लाई केही समयअघि दिइएको अन्तर्वार्तामा संसारकै बौद्धिक चिन्तकका रुपका लिइने भारतीय कंग्रेसका नेता एवं पूर्वकेन्द्रीय मन्त्री शशि थरुरले भनेका छन्, ‘बीजेपीले सन् २०२४ मा हुने लोकसभा निर्वाचनमा हिन्दूत्वको मुद्दालाई जोडतोडले उठाउनेमात्रै छैन कि भारतीय लोकतन्त्रको चिरहरणसमेत गर्नेछ ।’ उनी अगाडि थप्छन्, ‘बीजेपीले भारतमा लोकतान्त्रिक व्यवस्थाको अन्त्य गर्दै राष्ट्रपतीय शासन व्यवस्थासम्म ल्याउनेछ ।’

उनी यतिमै रोकिएका छैनन् । भन्छन्, ‘हिन्दूत्वको नाममा भारतमा नरसंहारसमेत हुनसक्छ र भारतको पहिचान समभाव, समानता र विभिन्न धार्मिक सम्प्रदायबीचको दशकौंदेखिको भ्रातृत्वसमेत छिन्नभिन्न हुनसक्छ ।’

यस्ता शंका उपशंकाहरु बीजेपीइतरको विचारसँग सहमत हुनेहरुको रहने गरेको छ । तर, बीजेपीको आफ्नै तर्क छ । उनीहरु भन्छन्, ‘भारत राष्ट्रमात्रै होइन । भारत सभ्यता हो । भारत संस्कार र भारत जीवन पद्धति हो ।’ भारतको आधुनिकीकरण सँगसँगैको प्रगति र विशाल सांस्कृतिक वैभवलाई विश्व अर्थतन्त्र र खुफियातन्त्र छिन्नभिन्न पार्न लागिपरेको छ । यसलाई रोक्ने तागत वर्तमान समयमा बीजेपीसँग मात्रै छ । त्यसका लागि बीजेपीका करिब १८ करोड पार्टी सदस्यहरुले हरसम्भव प्रयास देशभित्र समुदायस्तरमा गर्नेछन् । भारतको हित नचाहनेहरु कुप्रचार गरिरहेका छन् । भारतीय र बीजेपी भारतलाई भारतीयको रुपमा विश्व जगतमा चिनाउन र पहिचान दिन चाहन्छन् । उनीहरु भारतको मौलिकता र पौराणिकताको विरासतलाई अक्षुण्ण राख्न हरसम्भव प्रयास गर्नेछन् । धार्मिक विषयलाई उछालेर बीजेपीलाई बदनाम बनाउन सक्रिय तत्वबाट भारतवासी सजक हुनुपर्ने तर्क बीजेपीवालाहरुको छ ।

अन्त्यमा, नेपालको राजनीतिक वृत्तमा एउटा भनाइ चर्चित छ, ‘दिल्लीमा पानी परे नेपालमा छाता ओड्ने’ यस्तो राजनीतिक र रणनीतिक संस्कारबाट अहिलेको नेतृत्व पुस्ता पनि ग्रसित छ । भलै नयाँ संविधान जारी गर्दा केही हदसम्म त्यस्तो छाता नओढ्ने प्रयास भयो । तर, पछिल्लो आन्तरिक राजनीतिक दाउपेचले छाताको डण्डी पुन: दिल्लीकै हातमा पुगेको भनी विश्लेषण हुने गरेको छ । अब छातामा ओत लाग्न उसले ज-जसलाई निम्तो दिन्छ, उनीहरुमात्रै ओभाना हुने, बाँकी निथ्रुक्कै । उसले ओत लाउन चाहनेहरुका लागि केही सर्तहरु राख्ने अड्कलबाजी चल्ने गरेको छ । त्यस्ता सर्तको पहिलो नम्बरमा हिन्दू राष्ट्र हुनसक्छ । यसमा हामी के गर्छौं ? के डोरो र फेरो समाउन खोज्नेहरु उसका लागि बलिया पात्र हुन् । के डोरो समाउँदै बीजेपी मुख्यालयमा फेरो लगाएकाहरुमा त्यो तागत बाँकी छ ? कि उसको रोजाइमा नपरेका तर डोरो बाँध्ने नाडी तयार गर्दै गरेकाहरु सर्त मान्न तयार होलान् ? यी र यस्ता परिघटनाहरुलाई नेतृत्वले ठण्डा दिमागले मनन नगर्ने हो भने नेपाल बफर जोन हुँदै कुरुक्षेत्रमा परिणत हुन धेरै समय कुर्नु नपर्ला ! निर्वाचनको सम्मुखमा नलेखिएका एजेण्डाहरु भोलिका लागि जटिल नबनून् । राजनीति वर्तमानलाई होइन भविष्यलाई गरौं ।

(लेखक जोशी एपी वान टेलिभिजनमा कार्यरत छन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *