पार्टी फुटाउनुपर्नाको कारणबारे नेपालले भने- ओलीले मदन भण्डारी फाउण्डेसन बनाएदेखि एमालेमा समस्या भयो (भिडिओ) – Nepal Press

पार्टी फुटाउनुपर्नाको कारणबारे नेपालले भने- ओलीले मदन भण्डारी फाउण्डेसन बनाएदेखि एमालेमा समस्या भयो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा देखिएको समस्या समयमै सचेत हुन नसक्दा आफूहरू बाहिरिनुपरेको बताएका छन् ।

पार्टी गठनको वार्षिकोत्सवमा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीति गरेको विषयमा आफू समयमै सचेत नभएकैले समस्या भएको बताएका हुन् ।

‘ओली गुट यो तहमा कसरी आयो ? के २०७७ पुस ५ गतेपछिको मात्र विश्लेषण गरेर पुग्छ ? के २०७५ जेठ ३ गते भएको नेकपा एमाले र मओवादी एकताको सन्दर्भबाट सुरू गरेर पुग्छ ? २०७१ एमालेको नवौं महाधिवेशन भएदेखिको सन्दर्भले पुग्छ,’ उनले भने, ‘यसका निम्ति नेपालको राजनीतिमा खासगरि हाम्रो आन्दोलनमा केपीले कहिलेदेखि गुटबन्दीको सुरूवात गरे । त्यो गुटबन्दीका विरुद्धमा हामीले जुध्ने काम गर्‍ंयौ की गरेनौं ? भन्नेसम्म पुग्नुपर्छ ।

ओलीले मदन भण्डारी फाउण्डेसन बनाएर पार्टीभित्र गुटको राजनीतिलाई प्रश्रय दिएको अध्यक्ष नेपालले बताए । ‘ मदन भण्डारी फाउण्डेसन बनाएर उनले समस्या खडा गर्दाखेरी त्यसविरुद्ध जुध्नुपर्ने काम गर्‍यौं कि गरेनौं ? ती सबैको आत्मालोचना र विश्लेषण गर्नुपर्छ,’ उनले भने ।

त्यतिबेलै सचेत नहुँदा पार्टीबाट आफूहरू बाहिरिनुपरेको उनले बताए । ‘वास्तवमा त्यो गलत प्रवृत्तिका विरुद्धमा समयमै हामी सचेत हुन सकेनौं । पाटीभित्र गुटबन्दी गर्न थाले, असन्तुष्टिको प्रयोग गर्न थाले,’ उनले भने,‘र असन्तुष्टलाई प्रयोग गरे पार्टीभित्र अलग-अलग समूह बनाउने स्थिति नै पार्टीको विभाजनको कारण बन्दो रहेछ ।’

गुटबन्दीको ‘महारोग’ केपी ओलीले खासमा झापा आन्दोलनमा पनि भित्र्याएको नेपालको टिप्पणी थियो । उनले भने, ‘झापा संघर्षकालमा त्यतिखेरका कमरेडले जुध्नुभएको थियो । को केकालमा जुध्ने काम भएको थियो, नेकपा मालेकालमा पनि जुध्नुपरेको थियो ।’

जति जुध्नुपर्ने हो त्यति जुध्न नसक्दा ओली गुट बिस्तारै बलियो हुँदै गएर पार्टी बिग्रँदै गएको उनको आरोप छ । ‘उनले भ्रम फैलाउँदै गए विभिन्नलाई आफ्नो वरिपरी गोलबन्द गर्दै गए र त्यसपछि नवौं महाधिवेशनमा पार्टीको मूल शक्ति उनले हासिल गरे,’ उनले भने, ‘अध्यक्ष बनेपछि उनको वास्तविक चरित्र देखिनथाल्यो । पार्टीमा समस्या देखिनथाल्यो, सामूहिकता गुम्दै गयो कमिटि काम नलाग्ने भए, छलफललाई वास्ता गर्न छाडिए ।’

त्यसपछि भएको पार्टी एकता र दुईतिहाइ उपलब्धी हासिल हुँदा सबै खुसी भएको उनले बताए । तर, त्यसलाई पनि ओलीले आफ्नो नीजि पेवा ठानेको उनको आरोप छ ।

‘आफ्नो मात्रै भूमिकाले भयो भने अहंकार भयो, कमिटीलाई र अरुलाई अवमूल्यन हुनथाल्यो, त्यसपछि गम्भिर रूप लिन थाल्यो । त्यसैका कारण यस्तो अवस्था आएको हो,’ उनले भने ।


प्रतिक्रिया

One thought on “पार्टी फुटाउनुपर्नाको कारणबारे नेपालले भने- ओलीले मदन भण्डारी फाउण्डेसन बनाएदेखि एमालेमा समस्या भयो (भिडिओ)

  1. मोदिका आदेशपालकहरूले पैसा खाएर पार्टी फुटाएका हुन्। माधव जस्तो डाडे कोहि रैछ। यस्तो निच सोच भएको पनि नेता?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर