एमाले बैठकमा एकस्वर- समानुपातिकलाई सोही कोटामा नदोहोर्‍याउँ, राष्ट्रियसभाकालाई तल नझारौं – Nepal Press

एमाले बैठकमा एकस्वर- समानुपातिकलाई सोही कोटामा नदोहोर्‍याउँ, राष्ट्रियसभाकालाई तल नझारौं

काठमाडौं । नेकपा एमालेमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सांसद रहेकाहरूलाई सोही पदमा दोहोर्‍याउन नहुने मत बलियो बनेको छ । पोलिटब्युरोको बिहीबार सम्पन्न बैठकमा अधिकांश सदस्यले समानुपातिकको अवसर एकपटकभन्दा बढी दिन नहुने राय प्रकट गरेका हुन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दिइने उम्मेदवारको मापदण्डाबारे छलफलमा भाग लिएका नेताहरूले समानुपातिकलाई सोही कोटामा दोहोर्‍याउन नहुने भन्दै प्रत्यक्षमा उम्मेदवार बन्न खुला रहेको बताए ।

त्यस्तै स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाउन नहुने मत प्रकट भएको पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपाल प्रेसलाई बताए । स्थानीय निर्वाचनमा अन्य दलबाट उम्मेदवार बनेर पराजित भएका र अहिले एमालेमा प्रवेश गरेकालाई समेत टिकट दिनेबारेमा पार्टीले मापदण्ड बनाउनुपर्ने बैठकमा उठेको छ ।

राष्ट्रियसभा सदस्यलाई राजीनामा गरेर प्रतिनिधिसभा वा प्रदेशसभा चुनावमा उम्मेदवार बनाउने कुरामा समेत एमालेभित्र असहमति देखिएको छ । स्थानीय चुनावमा कम संख्या जितेका कारण राष्ट्रियसभामा गठबन्धनसँग लडेर जित्ने सम्भावना कम भएकाले अहिले भएका सांसदलाई त्यहिँ राख्नुपर्ने कुरा उठेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीको नीति सिद्धान्तमा प्रतिबद्धता रहेको, आन्दोलनमा योगदान दिएको, लोकप्रिय र विजय सुनिश्चित भएको लगायतका मापदण्डहरू राखिएको बताए । बाँकी छलफल भएका मापदण्डबारे केन्द्रीय कमिटीले टुंगो लगाउने उनले बताए ।

पोलिटब्युरोले शुक्रबारबाट सुरू हुने केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेण्डा पारित गरेको छ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दस्तावेज पेस गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर