गठबन्धनमा कांग्रेसले दाबी गर्‍यो १०० सिट, अरुले कति मागे ? – Nepal Press

गठबन्धनमा कांग्रेसले दाबी गर्‍यो १०० सिट, अरुले कति मागे ?

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक्लै १०० सिटमा दाबी गरेको छ ।

आज बसेको गठबन्धन बैठकमा दलहरुबाट औपचारिक दावेदारी प्रस्तुत भएको हो । बैठकपछि बोल्दै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार कांग्रेसपछि माओवादीले ६०, नेकपा एसले ४० सिट दाबी गरेका छन् । यस्तै जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट मागेको उनले जानकारी दिए ।

हालै माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा वैठकले कुनै निष्कर्ष निकालेको छैन ।

‘उहाँहरु अहिले गठबन्धनमा हुनुहुन्छ, त्यसैले उहाँहरुको विषयमा कुनै छलफल भएन,’ पुरीले भने । सिट बाँडफाँटलाई निष्कर्षमा पुर्‍याउन भोलि फेरि ४ बजे बैठक बस्ने भएको छ ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विषयमा पनि छलफल भएको थियो । राष्ट्रपतिले पूर्वप्रधानसेनापति लगायतसँग गरेको भेटघाट क्षेत्राधिकारभन्दा बाहिरको भएको नेताहरुले बताएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा १६५ वटै निर्वाचन क्षेत्रको गम्भीर समिक्षा भएको बताए । सिट बाँडफाँटमा निस्कर्षनजिक पुगिएको उनले दाबी गरे । भोलि प्रदेशहरुको बारेमा विमर्श गरेर त्यसपछि प्रतिवेदन बनाइने कार्कीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर