हर्क साम्पाङसँग रुख रोप्दै प्रचण्डले कार्यकर्तालाई भने- हर्कबाट प्रेरणा लिनुस् (भिडिओ) – Nepal Press

हर्क साम्पाङसँग रुख रोप्दै प्रचण्डले कार्यकर्तालाई भने- हर्कबाट प्रेरणा लिनुस् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोपेका छन् ।

धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उनले मेयर साम्पाङलाई साथ दिए । मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले श्रमदानका लागि धरान आउन प्रचण्डलाई भेटेरै निम्तो दिएका थिए ।

जेवी टुहुरेको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्डले बिरुवा रोप्नुका साथै पानी हाले ।

प्रचण्डले हर्क साम्पाङको श्रमलाई खुलेर प्रशंसा गरे । उनले हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन माओवादी पार्टीका कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । धरानका लागि साम्पाङ अवसर भएको प्रचण्डको भनाइ थियो ।

‘सिंगो देशको उहाँको कामलाई गम्भिरतापूर्वक हेरेको छ । खासगरी हामी कम्युनिष्ट अझ माओवादीले गरिराख्नपर्ने काम उहाँले गरिराख्नुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजिवी जनतालाई पनि हर्कको व्यवहार र आचरणबाट प्रेरणा लिन अनुरोध गर्दछु’, प्रचण्डले भने, ‘उहाँ निरन्तर यसमा डटिरहन कति सक्नुहुन्छ शुभकामना छ । जनतासँग जोडिराख्नुस् जनताको साथ पाइराख्नुस् । मेरो र हाम्रो साथीहरूको साथ छँदैछ । उपमेयर हाम्रो पार्टीबाटै हुनुन्छ । उहाँहरूको जोडी मिलेको छ । अनुहार पनि मिलेको छ, काम पनि मिलेको छ । धरान उपमहानगरका लागि अवसर हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर