परमादेशबाट हट्नु परेकाले जनताको समर्थनबाट एमालेले जित्नैपर्छ: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धनलगायत अन्य दलले जतिसुकै घेराबन्दी गरे पनि एमालेले चुनाव जित्नैपर्ने दाबी गरेका छन् ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले परमादेशबाट हट्नु परेकाले जनताको समर्थनबाट एमालेले जित्नैपर्ने दाबी गरेका हुन् ।
उनले भने, ‘जनताको शक्ति सशक्त ढंगले अघि बढेको छ । जनताको समर्थनबाट जित्नैपर्छ । एमालेले चुनाव हार्न मिल्दैन ।’
अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको यात्रा सफल बनाउन आवश्यक रहेको भन्दै जतिसुकै घेराबन्दी भए पनि एमालेले चुनाव जित्नैपर्ने जिकिर गरे ।
भोलिसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा निर्देशनसमेत दिएका छन् ।
केन्द्रीय कमिटीको बैठकमा ११ वटा एजेन्डा प्रस्तुत गरिएको छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने बैठकका एजेन्डा रहेका छन् ।