अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा
'नाति पुस्ता नेतृत्व हाँक्न तयार र सक्षम छन्, मेरो जिम्मेवारी एमालेका उम्मेदवारलाई विजयी गराउने हुनेछ'
हेटौँडा । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् ।
अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न नमिल्ने पौडेलले बताएका छन् ।
सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ‘अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा (एमाले) लाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेका छन् । यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरूलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ ।’
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आगामी निर्वाचनका सम्भावित उमेदवारहरूका बारेमा चर्चा परिचर्चा सुरू भएको अवस्थामा आफ्नो नाम जोडिएकोमा उनले राजनीति लहड, रहर र दबाब मात्रैले नचली आवश्यकताको वस्तुपरक मूल्यांकनले निर्धारण गरेका कडिहरूका आधारमा उमेद्वार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्ने बताएका छन् ।
‘मेरो ५० औं वर्षको राजनीतिक अनुभवले बताउँछ । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैन । त्यसैले आगामी निर्वाचनमा मेरो उमेद्वारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु । यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ । दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा (एमाले) को उम्मेदवारहरूलाई विजयी गराउने हुनेछ ।’
यसअघि पौडेले मकवानपुरको क्षेत्र नंबर १ को ‘क’ बाट वागमती प्रदेशसभा सदस्यमा विजयी भएका थिए । उनले २०७४ साल माघ २९ गते वागमती प्रदेशको मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।